Yatiraj Ajanabee – Kasari Timilai Swagat Garaun?

यतिराज अजनबी – कसरी तिमीलाई स्वागत गरौं?

हे नव वर्ष!
तिम्री दीदीले मेरो प्यारो दाईको
प्यारो फक्रदै गरेको जीवन
यही आगनमा चुढेकी थि
र मैले एउटा कलमले
श्रद्धाञ्जली लेखेको थिए उसलाई
आज पनि म त्यही आगनमा छु
अर्को कलम पनि
किन्न सकेको छैन
त्यही आगनम उभिएर
त्यही कलमले तिम्लाई
खै कस्तो शुभकामना लेखुँ म ?

पोहोर लागेका घाउहरू
पुरिएर बिसेक भए पनि
डायरिका पानाहरू
पीपले पहेंलै छन अझै
यसो नियालेर हेर्दा
आलै देख्छु ती चोटहरू
जता जता बतास बग्छ
उतै उढ्ने त्यो तिम्रो चुनरी
मेरा यी डायरीका घाउहरूलाई
पट्टी बन्ला भन्ने
पत्यार पटक्कै लाग्दैन
अनि तिमीबाट राहत
मलाई केही मिल्दैन भने
मेरो पीरले तिम्लाई चिल्दैन भने
केको आशले
तिम्लाई निमन्त्रणा गरु म ?

पल्लो गाउँमा शङ्ख बजिरहेछ
मलामीहरू डाकेर
तिमी भने हातभरि चुरा र
पाउमा पाउजु छन्छनाउदै आउछ्यौ
मेरा छिमेकीहरूले
बर्खान्त बोकेको बेला
बेहुली सिंघारिएर आउछ्यौ
वरिपरि भैंचालो छ
मूल ढोकानेर अवशेषहरू ओछ्याएर
कसरी तिमीलाई स्वगात गरौं ?

- २५ चैत्र २०६०

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1099

Yatiraj Ajanabee – Bidaai Nawa Barsha Lai

यतिराज अजनबी – बिदाइ नववर्षलाई

जुवाका सोइला भाँचेर
हल गोरुहरु उन्मत्त भई
छाडा साँढे भएको बेला
तिनले तिम्रो कुमारित्वसँग
सिँघौरी खेल्न के बेर
त्यसैले ए नववर्ष !
धेरै सिंगारिएर नआऊ
अझ दुई चार वर्ष पर जाऊ
नत्र कलङ्कित हुन सक्छ
तिम्रो सुन्दर नाऊॅँ
दुईटै हात भाँचिएको बेला
पूर्णीमा होस् वा अमावश्य
म ठेलो ,जस्केलो पोत्न सक्तिन
भाँचिएको हलोको टुढोले
म तिम्रो गर्भ जोत्न सक्तिन
त्यसैले बाँझै रहोस्
त्यो ब्याड यस पालि
धोका होला
धेरै ठूलो धोको लिएर नआऊ
कोखो दुख्ला सधैंभरि
भोको भएर नआऊ
शुभकामना र कोसेली खोज्दै
रित्तो ढोको बोकेर नआऊ
भरिएको गाग्रो घोप्ट्याएर
भर्ने निहूँमा पंधेरीमा नआऊ
रल्लिएर रक्सी र मदिरामा नआऊ
पात्रो र कात्त्रोमा हैन
हिम्मत भए छाप्रोमा आऊ
आउँछ्यौ नै भने घडीमा मात्रै हैन
प्रत्येक् मानव नाडीमा आऊ
यहाँ तिम्रो आगमनको
अर्थ उल्टो लाग्न सक्छ
तिम्रो केशको गुजुल्टो पनि
सजिलो चुल्ठो लाग्न सक्छ
तिम्लाई स्वागत गर्ने बहानामा
दियो पनि पुल्ठो बन्न सक्छ
आँधिहुरी चलेको बेला
झिल्को पनि
अगुल्टो बन्न सक्छ
नत्र हेर म पनि
उल्टै गरिरहेछु
तिम्लाई स्वागत गर्ने अवसरमा
बिदाई दिइरहेछु

२५ माघ २०६० ,विराटनगर

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1099

Yatiraj Ajanabee – Mastishka Ma Chihan

यतिराज अजनबी – मस्तिष्कमा चिहान

मान्छे मसानघाट
सुन्दा मात्रै पनि डरराउॅछ,
चिहानसंग झस्कन्छ
तर मैले
मस्तिष्कमा त्यही मान्छेको,
मान्छेको चिहान भेटें |

एउटा मित्र मलाई भन्छ,
“म साह्रै बिरामी भएँ|”
मित्रतावलम्बी भएकोले
उत्सुकतापूर्वक म सोध्छु,
“यो उमेरमा कस्तो बिसन्चो?”
“हिजो आज किन हो
ज्यादै दिमाग दुख्छ
धेरै चिकित्सकहरूलाई
परिक्षण गराईसकें
तर कारण पत्ता लागेन|”
मैले उसको टाउकोको
क्ष-किरण गरेर हेरें,
रोग देखिए पो देख्नु
बिचरा ती डाक्टरहरूले,
मैले उसको दिमागमा
आला लासहरू भेटें
उसलाई ती मुर्दाहरू
त्यो चिहानबाट झिक्न भनें,
सङ्ख बजाउन अह्राएँ,
मलामी डाक्न लगाएँ
र ती शवहरूलाई लगेर
आर्यघाटमा दाहसंस्कार गर्न
सल्लाह दिएँ|

“कति कठोर गिदी
रहेछ तेरो टाउकोभित्र,
त्यति गहीरो
खाल्टो खन्दा त्यसमा,
तँलाई पीडा बोध भएन?”
मैले प्रश्न गरें
तर उ अवाक रह्यो |

अन्त्यमा उसलाई
स्मरण गराएँ
कमरेड, तँ मान्छे होस,
मान्छेको मस्तिष्कमा मुर्दा
सधैं अडिन सक्छ
कहिल्यै सडिन सक्दैन,
मस्तिष्कमा त्यस्तो
रसायन, पदार्थ छैन
जुन माटोमा
हड्डी गाल्नलाई हुन्छ
यो माटोको
प्रकृतिप्रदत्त गुण हो,
मान्छेलाई त्यस्तो विशेषता
क्षमता वा विलक्षणता
प्रकृतिले दिएको छैन

७ फाल्गुन २०६०, विराटनगर