Suwas Khanal – Sambodhan

सुवास खनाल – सम्बोधन

यो सम्बोधन
तिम्रै निम्ति हो
ए मान्छेहरू
जो बोल्नै निम्ति
ओठ खोलेर ठीक परिरहेका छन्
यो सम्बोधन
तिम्रै निम्ति हो
ए रहरहरू
जो हावाको मसिनो झोक्काजस्तो
मनको कुनाहरूमा बयेली खेल्छ
यो सम्बोधन हिसाबकिताब नभएका
अथाह सपनाहरूलाई पनि
जुन क्षितिजमा उदाउँछ
एउटा हैसियतवाल सूर्य

सम्बोधनै सम्बोधन
यो मौनजस्तो समयलाई
जसमाथि उफ्रिरहेछ
एउटा लठैत वर्तमान

पैह्रो खसिरहेको पहाड
बहिरहेको आँधिको एक लप्को
फक्रिँदै गरेको फूलको सुगन्ध
पँखेटा फडफडाउँदै उडिरहेको पुतलीको लयमग्न नृत्य
हजार गुणा सम्बोधन
साराका सारा प्रकृतिवत चञ्चलतालाई

यो मान्छेहरूको सहरमा
म दोभासे कविता पढ्न आएको होइन

म मल्हमजस्तो
घाउहरूमा लेपिन चाहन्छु
म सुख वा दुखजस्तो
मान्छेहरूसँगै डुल्न चाहन्छु
बोली नहुनेहरूलाई
मौनताको अन्तिम अर्थहरू बुझाउन चाहन्छु
दृष्टि नहुनेहरूलाई
मनको दियालो बालिरहन भन्छु
मेरो सम्बोधन
युगयुग हिँडिरहनेहरूलाई पनि हो
मेरो सम्बोधन
युगयुग कुरिरहनेहरूलाई पनि हो
मेरो सम्बोधन
काँडाहरूलाई पनि हो
मेरो सम्बोधन
फूलहरूलाई पनि हो
मेरो सम्बोधन
जीवन गीतका गाउन बाँकी
हजारौँ हजार लय र धुनहरूलाई नै हो
मेरो सम्बोधन
सम्बोधित हुन योग्य
साराका सारा सम्बोधनहरूलाई नै हो

हे सम्बोधित सम्बोधनहरू
लेखिदिऊँ न एउटा समयको शाश्वत कथा
जसको बाटैबाटो
हिँडिरहोस् अनन्तसम्म यो युग
र यो युगका सारथीहरू ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1648

Suwas Khanal – Dummy Haru

सुवास खनाल – डम्मीहरू

कुनै म्याराथुन धावकजस्तो
मानव अस्तित्वको पछिपछि
हो उसैलाई भेट्टाउन
शायद् म दगुर्दै थिएँ
को थियो ऊ ?
थाहा भएन

इतिहासका पानाहरूमा
प्रशस्त बर्जित ऊ
कुनै अराजक समय लखेट्दै आइपुग्नेछ
एक दिन तिम्रो छेऊ

आकासमा कोरेको
कुनै अनाम भुगोलको अनन्त नक्सा
हो ,उसले देखाउनेछ

तिमीले सक्छौ भने स्वीकार गर्नू
ऊ तिम्रै नामहरूको
सजीव सपना हो

दिगमिग लागेर
डम्मी मान्छेहरूसँगको
कृतिम सम्बन्ध
हो, ऊ
आवाजहरूको कुनै देश पुग्यो शायद्

लेख्दै होला
स्वतन्त्रताका झन्डाहरूमा
आफ्नै पसिनाको साहसी गान

डम्मीहरू
मान्छेजस्तै,
तर मान्छेहरू होइन रहेछन्
डम्मीहरू
मुक् हुँदारहेछन्
खतराहरू वा बेखतराहरू सबैसँग
डम्मीहरू
चुपचाप चुपचाप
उभिँदारहेछन्
खुसीहरूमा वा बेखुसीहरूमा

यो
बर्सिरहेको
विरही झरी

आँखाहरूमा मूल फुटेको ओस
यो
हूरीले उडाउँदै ल्याएको समय

ढल्दै गरेको आशाहरूको कुन्यूँ
— ऊ नआइपुग्नुका परिणतिहरू हुन्

जीवन
बिस्कुनहरूमा फिँजाएर
पारिलो घाममा निर्धक्क सुतेको
कुनै रक्सीले मातेको
मान्छेजस्तो देशमा
तिमीले
कुन कोमल सपनाको कुरा ग¥यौ ?
तिमीले आमाको
कुन फाटेको चोलीको कुरा निकाल्यौ ?
कुन अयोग्य घोषित
रहर र आशाहरू सम्झियौ ?
यहाँ
यी सबैसबै वर्जित छन्

कुनै एउटा सस्तो कथाको
फिल्मजस्तो अखबार पढेर
रातभर बेचैन रहने
नियमितताहरू
चोकचोकमा बिक्री भइरहेछ

दिनभर सुतेर फेरि
सुत्नै एकछिन जागा भएको
असली कुम्भकर्णजस्तो
वर्तमान
बजाइरहेछ आफ्नै डम्फू

मन्दिरहरूमा बजिरहेछ
एकोहोरो शङ्ख

यसक्षण,
कसरी म निदाउन सक्छु निर्धक्क ?

तर हेर
डम्मीहरू निदाइरहेछन्
बेपर्वाह !
निर्धक्क !

छतिवन ८,पावस, मकवानपुर, हाल: भरतपुर, चितवन

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1648

Suwas Khanal – Antim Geet

सुवास खनाल – अन्तिम गीत

आफ्नो उचाइ नछुँदै फुटेको
एउटा हाइड्रोजन बेलुनझैँ
समयको कुनै आकृति
कहिलेदेखि यो भितामा झुन्डियो ?

कुनै रोबर्टजस्ता मान्छेहरू
ग्यालरीमा यही तस्वीर हेर्न
आइरहेछन्

बेपता छ
ध्यानमग्न ,शान्त र स्निग्ध बुद्धको आकृति

चौथो विश्वबाट झिकाइएजस्ता
लिलिपुट मान्छेहरू
शासन गरिरहेछन् समयमाथि

घण्टाघर
समय ढिलो नापिरहेछ
समय उल्टो नापिरहेछ

तेस्रा
लिलिपुटहरूको
एउटा विरोधजुलुस
कुनै विन्दुमा पुगेर
अकास्मात परिवर्तन हुन्छ
विजयजुलुसमा
यहाँ हार्नेहरू हामी छौँ

नयाँ छानो हाल्ने
गुलाबी सपना बुन्दाबुन्दै आएको
हूरीपछिको छानोविहीन घरको कथा हो समय
कुनै नयाँ मार्गको परिकल्पनामा
पहिरो गएको इतिहास हो समय
मानौँ
कहीँ कतै नभएको
एब्सेन्ट समय हो –यो समय

प्रारम्भकालीन पाठशालामा
कुनै अबोध बालकले लेख्ने
किरिङमिरिङ अक्षरजस्ता
सुकोमल र सुषुप्त
अनुहारहरू मान्छेका
खै कहाँ हराए ?
र,
उपस्थित छन्
स्क्यान नभएको
कम्प्युटर फाइलजस्तो दिमाग
बोकेका मानिसहरू

हो,
मलाई
परिभाषाका अन्तिम पृष्ठहरू सम्म पनि
मान्छेको परिभाषा मनपर्ने साँचो हो
र,
मान्छेकै अजीव सम्मोहनले
आजसम्म बाँचिरहेछु

आवाजहरूको
गाउँ ,सहर वा कुनै राजधानी हुँदो हो त
सायद म यतिखेर त्यहीँ हुने थिएँ
कुनै बर्बाद इतिहासको
सुल्टो कथा सुनाउादै
र,
गाउँदै हुने थिएँ
परिवर्तनको अन्तिम गीत ।

छतिवन –८,पावस,मकवानपुर; हाल: भरतपुर,चितवन