Sudeep Pakhrin – Amoeba Bichar

सुदीप पाख्रिन – अमिबा बिचार

निराशाहरुको
थिलियम* पिएर बाँचिरहेका — हामी
प्रायश:
संवेदनाहरुको गुरुत्वाकर्षणभित्रै घस्रिरहेका हुन्छौं
र, खियाइरहेका हुन्छौं पानाहरुमा घोट्दै घोट्दै
जीवन्त मस्तिष्कहरुलाई ।
मस्तिष्कहरु
र पानाहरुको घर्षणको प्रतिफल
उत्पन्न भइरहन्छन् — नीला तापहरु
जो लैजान्छौं
थिलियम पिएर बाँचिरहेका — हामी
उनीहरु समक्षमा ।
उनीहरु
हरेक मौसमलाई
जाडोको मौसम ठानी
गड्यौंला भैंm मस्त शीत–निंद्रामा हुन्छन्
हामी
नीलो तापभित्रका मूक आवाजहरु
नीलो तापभित्रका मौन हरफहरु
चूपचाप दोहोराइरहन्छौं
इलेक्ट्रोनिक मस्तिष्क बोकेकाहरु सामु ।
कुनै प्रतिकृयाहरु जन्मदैनन्
— रोबोट अनुहारहरुमा
मात्रै मुस्कुराइरहन्छन् — प्रायोजित मुस्कान
र, भट्याउँछन् — कृतिम ‘रेकर्डेड’ शब्दहरु
हामीहरु
संवेदनाहरुको हिउँ पग्लिन्छ कि खोज्दैं
— लौह मानवहरुका आँखाहरुमा
चकित हेरिरहेछौं
अमिबा%–बिचारहरुका आकृतिहरु
जो
प्रतिपल
आफ्ना आकारहरु बदल्दै
इतिहासको कालो गुफामा निश्चिन्त प्रवेश गरिरहेका छन् !
इतिहासको अंधकार गुफातिर निर्लज्ज दगुरिरहेका छन् !!
ओ !
अमिबा बिचारहरुका
तथाकथित स्वामीहरु !!
नीला तापहरुको तापक्रममा
किन पग्लदैनन् — तिम्रा इलेक्ट्रोनिक मस्तिष्कहरु ?
किन तरल बन्दैनन् — तिम्रा लौह मानसिकताहरु ??
☼☼☼

*मन्द बिष
%साह्रै सानो जीव जसलाई माइक्रोस्कोपले मात्र हेर्न सकिन्छ र जसको निश्चित कुनै आकार हुदैन अर्थात आफ्नो आकार बद्लिइ रहन्छ ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:4454

Sudeep Pakhrin – Bhanchera Adim Maunata

सुदीप पाख्रिन – भाँचेर आदिम मौनता

च्यातिएर
क्षत–विक्षत भएका
ओजोन–दुलोबाट
क्वारक्वारती चियाइरहेछ— पृथ्वी
ब्रम्हाण्डको ‘ब्ल्याक–होल’ लाई
वायुमण्डलमा
निर्धक्क उडिरहेका छन्— प्रदुषित कणहरु
बरमुडा–त्रिकोणमा
एकतमास गुन्जिरहेका छन्— रहस्यात्मक लोककथाहरु
तर यसबेला— म
यी सबै भुलेर
तिमीलाई नै सोचिरहेको छु
………………..

इतिहासका
काला क्रुर घोडाहरु
इतिहासका पानाहरुबाट जीवन्त हुँदै
निस्किएर अतिक्रमण गर्दैछन्— बगैंचाको स्वाधिनतामा !
फूलहरुको स्वतन्त्रतामा !!
र, निर्लज्ज दगुरिरहेछन्— बगैंचामा
कुल्चिंदै— नीला फूलहरु !
उखेल्दै— राता फूलहरु !!
मार्दै— सेता फूलहरु !!!
अद्यावधि
वर्तमानका
पीडित गोरेटाहरुमा
हिन्हिनाउँदै दगुरिरहेछन्
इतिहासका यी बेसोमति घोडाहरु
तरैपनि यसबेला— म
यी सबैबाट आँखा चिम्लिए झैं गरी
तिमीलाई नै चाहिरहेको छु
………………………

यतिका
समय बगिसक्दा पनि
अभैंm मेरी आमा !
कविताहरुमा बेस्कन रुन सक्छिन्
मेरा आफन्तहरु !!
मेरो मायामा अत्यन्तै दुख्न सक्छन्
मेरा मित्रहरु !!!
मेरा अनुभूतिहरुमा बिस्थापित हुन सक्छन्
मेरा शत्रु भनाउदाहरु !!!
मेरा संवेदनाहरुमा सामन्जस्यता खोज्न सक्छन्
तरैपनि
यसबेला— म
तिमीलाई नै खोजिरहेको छु
……………….

फुलिरहेकै छन्— अझैं
सडकहरुमा— रगतका पूmलहरु !
गुन्जिरहेकै छन्— अझैं
गाउँ गाउँमा— विष्फोटक आदिम धूनहरु !!
रातका संगीतहरु
लहराइरहेकै छन्— अझैं पनि
तिमीले थाल्या‘ थियौं
— जुन दुखेका गीतहरु —
अभैंm पनि तरंगीत छन्
कहिल्यै शून्य हुन नसकेको मेरो कोठामा
साँच्चै !
न समय पग्लियो हाम्रा काखमा
न त हामी नै पग्लिन सक्यौं समयको काखमा
अहो !
तरैपनि
यसबेला— म
यी सबैलाई थाती राखेर एकातिर
अँध्यारोलाई छले जस्तो गरेर
एक धूनले प्रेम–पत्र लेखिरहेछु तिमीलाई
निरन्तर चाहिरहेछु तिमीलाई !!
यो—
आदिम–मौनता भाँचेर
भन्दैछु—
म माया गरिरहेछु तिमीलाई !
म माया गरिरहेछु तिमीलाई !!

धरान

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:4454

Sudeep Pakhrin – Pratikul Mausam

सुदीप पाख्रिन – प्रतिकूल मौसम

१. दिन/रात
आजभोलि
रातहरुका काँढाहरुले
हामीलाई बिझाउँदैछन्
— हाम्रा सपनाहरुले झैं
— हाम्रा रहरहरुले झैं
तरपनि
नदुख्नुको आडम्बर बाँचिरहेछौं
नघोच्नुको ढोंग गरिरहेछौं

विरोधाभाषपूर्ण बचाइको प्रतिक
— जिन्दगी —
— ढोइरहेछौं, ढोइरहेछौं,…………. ढोइरहेछौं

घामको छायाँ पारेर
अंधकारका राक्षसहरु हामी माथि
बर्बरतापूर्वक शासन गरिरहेका छन्
— उज्यालोलाई नै सयलमा पारेर
— उज्यालोलाई नै आझेलमा पारेर

२. गर्मी याम/जाडो याम
हर मौसमको
यो ठिहि¥याउने जाडोमा
हामी निर्विकल्प पीडाहरुको कम्बल ओढि हिंडिरहेछौं
— जिन्दगीका अपरिचित अँध्यारा गल्लीहरुमा
हामी रातलाई दुहेर
दुध जस्तै उज्यालो झर्ने अनुमानमा रम्छौं
हामी काँढाहरु बुनेर
बिश्वास जस्तै पूmल फुल्ने सोचाइमा खुशी हुन्छौं

भाच्चिएको बाटो जिन्दगीको
हिडिरहेछौं निरुदेश्य !
हिडिरहेछौं गन्तब्यहिन !!

३. दिनको एक कुनाबाट
शुरु भएर अन्धकार धुवाँ जस्तै
जिन्दगीको कोठाभरि जमिरहेछ
— प्रदुषण फैलाएर
— प्रदुषित भएर
हामी
नाकै नभएको नाक
नाकदानीले छोपेर
भोकको पलंगमाथि
मज्जासँग सुतिरहेछौं
दिन/दुनियाबाट बेखबर
हरेक खबर/अखबरबाट बेखबर

नसुतेका भान गर्नेहरु
शब्दहरुको जुलुस लिएर हिड्दछन्
उज्यालोको खोजिमा
दिउँसै सडकमा मैनबत्ती बालेर

प्रत्येक कुनाबाट ङिचिक्क……. मुस्कुराउँछ
— राक्षस अंधकार
४. बर्सातमै
बंजर भएका
मनहरुका फाँटहरु
गिद्धहरुका छायाँमुनि
काकाकुल झैं छट्पटाउँदैछन्
— पुरातन युगदेखि

हामी हेरिरहेछौं — शून्य आकाश
कर्याङकुरुङहरु
बिउ छर्ने सन्देश दिंदै
कहिल्यै उडेनन्
छेउको सुकेको रुखका हाँगाहरुमा बसेर
बसन्तको आगमनको खबर गाउँदै
कोइलीहरु कहिल्यै गाएनन्

५. हो !
यस प्रतिकूल मौसममा
हामी सबैले मज्जासँग सुत्नु पर्छ
हामी सबैले मज्जासँग निदाउनु पर्छ
चुँ……………..चुँ…………………चुँ……….
सुत्नु पर्छ !
साँच्चै नै !!
सुत्नै पर्छ !!!

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:4454