श्रीहरि फुयाँल – ओडार छोड्ने दिन
(मधुपर्क बैशाख, २०६७)
पैसाले पदले अपार मदले सारै घमण्डी बनी
ढाँचा-फुर्ति गरेर हिँड्छ मनुवा यस्तो र उस्तो भनी
सारै सुन्दर मूल्यवान बहुतै मैले बनाएँ घर
भन्दै फुल्दछ जो बडो म हुँ भनी सोच्दै नसोची तर ।
केही काम लिएर हिँड्छ मनुवा छोडेर आफ्नो घर
पानी झम्झम बर्सिदिन्छ पथमा पुग्दा-नपुग्दै पर
बाटोमा घर छैन त्यो यदि भने बस्नेछ ओडारमा
त्यो एकैछिनको बसाइ उसको पर्ने छ दोधारमा ।
के हो मानिसका निमित्त भनिने ओडार वा आलय ?
कस्को बास भएर मानिसहरू बन्छन् नि तेजोमय ?
सोही तत्त्व बुझाउने मन भई केही कुरा गर्दछु
साँचो तर्क छ यो बुझुन् सबजना विश्वासमा पर्दछु ।
लाहाको दरबार होस् कि, अथवा निर्माण होस् बज्रले
दुङ्गाले अनि मृत्तिका र खरले निर्माण होस् काठले
त्यो ओडार समान हो बुझिगए राम्रो बनोस् तापनि
पानी छल्न बसे समान सबले छोडेर जान्छन् अनि ।
लाक्षाको घर तर्जुमा गर भनी षड्यन्त्रको ताण्डव
ती दुर्योधन गर्दथे र घरका आत्मा थिए पाण्डव
आगो लाग्नु अगाडि नै सबजना सोचेर भाग्दै थिए
लाहाको घर दन्दनी बलिरहृयो बाँचेर आत्मा गए ।
लाक्षाको दरबार एकछिनको सोप्ना समानै भयो
पाँचै पाण्डव निस्किएपछि डढी सारा खरानी भयो
मान्छेको पनि त्यै छ हालत यहाँ ओडार नै हो घर
आत्माको घर ज्याँन हो मनुजको भत्कन्छ यो के छ र
जस्तै सुन्दर होस्, महामहल होस्, दर्बार होस्, तापनि
ओतैलाग्नु समान एकछिनको ओडार हो त्यो पनि
यस्तै तर्क-वितर्क गर्छु म सधैँ सम्झन्छु धेरै कुरा
यो सारा सपना रहेछ भ्रमको मौलाउने आँकुरा ।
आत्माको घर हुन्छ वस्त्र पहिलो दोस्रो त हो आलय
आत्माले जब छोड्छ यी सबकुरा हुन्छन् क्रमैले लय
यस्तै गूढ रहस्य बुझ्नु सबले मिथ्या छ संसार यो
यो मेरो घर-वस्त्र भन्नु कसरी ? चोला बदल्दै गयो ।
आत्माले घर भन्छ किन्तु उसको यो देह ओडार हो
मान्छेले घर भन्छ किन्तु यसको यो गेह ओडार हो
लागौँ ओत भनेर बस्नु छ यही ओडारमा क्यै छिन
मेरो खेल समाप्त हुन्छ अनि यो ओडार छोड्ने दिन ।
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.