यहीँनिर–
कुनै ड्रगिस्ट समयले छुरी हानेको हुनुपर्छ– ईश्वरलाई !
यो मन्दिरको अशक्तताछेउ
दिनभरि उफ्रेका पपगीतहरूले
कुल्चिगएको हुनुपर्छ–
केही गम्भीर गजल, भजन र मालश्री धुनहरू
यो बुद्धजस्तो साँझलाई
वेदका केही वृद्ध ऋचाहरूले तरबार बनाएको हुनुपर्छ
र यो काटिएको अल्लाह– आकाशको आँखाभरि
बाइबलको केही रोमान्टिक पदहरूले
आफ्नो पिरो स्वप्न खोजिरहेको हुनुपर्छ
यहीँबाट–
खर्पनमा मृतसूर्य बोकेर गएको नित्सेजस्तो ब्रेकफेल ट्रक
फर्केको हुनुपर्छ–
दर्जनौँ एब्स्ट्रयाक्ट तराईबासीहरू लिएर
यहीँनिर–
कुनै ड्रगिस्ट समयले छुरी हानेको हुनुपर्छ– ईश्वरलाई !
यहीँबाट–
निक्खर सेतो परेवा मङ्गोलियन शिशुको आँखा खाएर
सगरतर्फ उडेको हुनुपर्छ
उसको नाबालिक आमाको सांस्कृतीय वक्षबाट
बहिरहेछ– आधुनिकता
चुरोटको आर्टिस्टिक धुवाँसँगै
रेस्टुराँका गुप्त क्याबिनहरूमा फैलिरहेछ– शास्त्रीय सङ्गीत
–पाखे ईश्वर…! पाखे ईश्वर…!!
यहीँबाट फर्कन्छन् रात्रिबसहरू सुदूर गावोँन्मुख भएर
टोपीमा साङ्लो लिएरै आइपुग्छन् ओशोहरू–
ईश्वर बन्ने सपनासित दुर्घटित हुन
यहीँनिर–
कुनै ड्रगिस्ट समयले छुरी हानेको हुनुपर्छ– ईश्वरलाई !
यहाँका यी हास्यमुदित सहरहरू
कहँदैनन्– ईश्वरत्व
चिहानभित्र फेरि बौरेको थाहा पाएर फर्काइएका जस्ता–
डिप्रेसिस्ट दर्जनौँ राष्ट्रवादी कविहरू
लेख्ने आँटै गर्दैनन्– ईश्वरका कविता
यहीँ फुल्छ स्टिफन हकिङलाई सुहाउने गुलाफ
तर चेपिन्छ– त्यो
हस्तरेखाको पोस्तक
र छात्राहरूका टिनएज् अटोग्राफहरूमा
थाहा छैन– यहाँका भद्र कलाकारहरूलाई
थिएटरजस्तो अखबारका प्रभातीय पृष्ठहरूमा
कस्तरी चिच्याउँछ– ईश्वर ?
दासत्वका विदेशी ब्रह्म–भैँसीहरू धपाउँदै धपाउँदै
यहीँबाट फर्कन्छन्– गाउँवादी नेताहरू
यहीँनिर–
कुनै ड्रगिस्ट समयले छुरी हानेको हुनुपर्छ– ईश्वरलाई !
यहीँबाट–
जसै आइरहेछ– गृहलक्ष्मीहरूका नारीवादी खित्काहरू
लोकल दादाजस्तो जून चुइँकिरहेछ– बाहिर
झ्यालबाट फुत्त उफ्रिन्छ– बिरालो
फुटाइजान्छ केही टिपिकल गमलाहरू
छेवैको अर्धनिद्रित छिँडीबाट
सुप चपाउँदै निस्कन्छन्– केही उपबुज्रुकहरू
–इराकमाथिको कारबाही…
–देवेगौडाको फेन्टास्टिक् मुस्कान…
–महाकाली सन्धि…
–मिस नेपाल/ग्रेटर नेपाल…
–उग्र राष्ट्रवाद/दैविक राष्ट्रवाद…
यहीँनिर–
कुनै ड्रगिस्ट समयले छुरी हानेको हुनुपर्छ– ईश्वरलाई !
यो पेन्टी, ब्रा र मगमगाइरहेको वीर्यको सुगन्ध
–ईश्वर स्त्री हुनुपर्छ
यो गुन्द्रुक, किनेमा
–ईश्वर गाम्ले हुनुपर्छ
यो कार, क्यासिना
–ईश्वर सहरिया हुनुपर्छ
यी त खातेहरू हुन्
अर्को पागल
अर्की सस्तो वेश्या
अरू अरूहरू हुन्
यसरी हेरिरहँदा टाढा देखिने अस्पष्टता
ईश्वरको निर्दोषिता हुन सक्छ
यी भोका पर्खालहरूबाट पखालिँदै गएका नाराहरूसित
ईश्वरको केही अंश हुनुपर्छ
यी नाङ्गा भित्ताहरूबाट च्यातिँदै गउका पम्पलेटहरूसित
ईश्वरको केही अवशेष हुनुपर्छ
भर्खरै रेलिङ तोडेर गएको जुलुसभित्र ईश्वर थिए–थिएनन् ?
यस्तरी सडक भत्केको छ
यस्तरी मन्दिर र गुम्बाहरू भत्केका छन्
लतारिएको छ– बिजुलीको तार
यहीँनिर–
कुनै ड्रगिस्ट समयले छुरी हानेको हुनुपर्छ– ईश्वरलाई !
यहीँनिर–
कुनै आदिम मान्छेको हृदयसित
दु्र्घटित भएको हुनुपर्छ– ईश्वरको बौद्धिकता ।
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.
Number of Views for this Poem:1539