Sharad Nirola – Hamile Bhagawan Shrikrishna Bhayera Janu Parchha

शरद निरोला – हामीले भगवान श्रीकृष्ण भएर जानुपर्छ

अस्वीकृत मान्यताहरुको मापदण्डमा खारिएर
अविवेकी अवमूल्यनमा पछारिएका
श्रस्टा र संरचनाको चक्रब्यूहमा फँसेर
भीष्म-पीतामहको जनै भिरेका
हाम्रा यी नेताहरुले
मेरो देश बेपत्ता पार्न लागिसके
विवशता र केही गर्नै नसकिने बाध्यताको वशीभूत
केवल रगतको घुट्का पिउनु बाहेक
अन्य कुनै विकल्प छैन |

विदेशमा छु, विदेशको अन्न-बजारमा
अन्न-मूल किन्न जान्छु
चामलको राजा बास्मतीमा
उसीना चामलको स्वाद पाउँछु
लटरम्म हरिया धनियाँका पातहरुमा
“ओर्गानिक ” लेखेको देख्दा
कान्तिपुरको ज्यापूलाई सम्झन्छु
कहाँ गयो त्यो काठमान्डौको कल्कलाउँदो काउली भनी
क्यालिफोर्नियाले निकासी गरेको
हाड जस्तो काउलीलाई टोक्तछु
हरे मेरो देश !
म ता खानै नपाएर मर्न लागें भनी
निस्सासिएर कल्पिन्छु
मनै भरङ्ग भएर
चौन्सुर र पालुंग सम्झिन्छु
जब सम्म विदेशमा हुन्छु
हृदयको अन्तरकुन्तरमा
मेरो देशको झझल्को देख्छु |

अनि ता के गर्नु ठाकुरे !
जय बम भोले भनी
बिरक्तिरुपी चिलिमबाट
फोक्सो सम्मै पुग्ने गरी
स्वाट्ट एक सर्को तान्दछु
एक सर्को तन्काए पछि
यो गिदीले ठोक्नुसम्म फाडदोल ठोक्छ
झल्याँस्स पशुपतिको बाबाजीलाई सम्झन्छु
हे मारे सट्टा भागे भूत
बोक्सी-दैनीका आँखा फूट
बम बम लगाओ दम
कभी नहीं होगा कम भन्दै
धुवाँको संसारमा रुमलिन्छु

तर अपसोच !
आफ्नो देशलाई सम्झनु पनि अब ता बेकारै लाग्छ
अतिरन्जित स्वर्थीपनाले ग्वाम्लांग छोपेका
नेताहरुले
पदलोलुपताको मखमली सिरक ओढेर
देशको चीरहरण गरिरहँदा पनि
के महाभारतका विवश पांडूहरुले झैँ
हामीले क्वारक्वार्ती हेरिरहने?

हामीले स्वदेश फर्कने बन्दोबस्त
कुनै हालतमा मिलाउनै पर्छ
यताका सबै काम छाडेर
देशतिर कुलेलम ठोक्नै पर्छ
हाम्री आमाको चीर-हरण हुनबाट बचाउन
हामीले
भगवान श्रीकृष्ण भएर
भोलिनै जानु पर्छ

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1547

Sharad Nirola – Sagarmatha Hansi Rahechha

शरद निरोला - सगरमाथा हाँसिरहेछ

बीस बर्ष अघिको नेपाल सम्झेर
त्यति नै बर्ष अघिको काठमाडौंलाई गुनेर
आज त्यही नेपाललाई अनिमेष हेर्दा
त्यही काठमाडौंलाई नियालेर हेर्दा
सगरमाथा किन हो
मरिमरी हाँसिरहेछ

घिनलाग्दो राजनीति र पराकाष्ठाको पदलोलुपता
सहमतिको नाममा मोलमोलाइको महाभारत
पार्टीगत स्वार्थले चिराचिरा भएको एकता
कोही दक्षिण, कोही उत्तर
कोही राष्ट्रियताइतर
देशको माया कसैलाई छैन
नेपाली भनाउन कसैलाई मन छैन
यो हरिबिजोगलाई
उनन्तीस हजार फीट माथिबाट हेर्दै
सगरमाथा किन हो
औधि हाँसिरहेछ

सहमतिका नाममा अतिरन्जित भागबन्डा
यो नभए त्यो, त्यो नभए ‘म’ को कुश्ताकुस्ती
समयको सीमांकन खरानीको थुप्रो
जिन्दगीभर अन्तरिम संबिधान काँधमा बोक्ने
पूर्ण संबिधानको वास्तै नगर्ने
अन्तर्राष्ट्रिय जगतमा भैरहेको देशको बेइज्जति
देखेको नदेखै गर्ने, आँखा भएर पनि अन्धा
यस्ता मतिभ्रष्ट हुतिहाराहरुले
देशलाई च्याँखे थापेको देखेर
साँच्ची नै सगरमाथा
खित्का छोडेर हाँसिरहेछ
कस्तो देशमा स्थायी बसोबास गरिएछ भन्दै
अट्टहास गरी गरी
वायुमंडल थर्काइरहेछ

यस्ताका लागि म किन हुनु राष्ट्रियताको प्रतीक
सोच्छ सगरमाथा–
मैले सदा देखिआएको भातृत्वको भावना
चार जात छत्तीस वर्णको सुमधुर सहअस्तीत्व
अभिवाजित एउटा सिंगै सबल मुलुक
आज टुक्राटुक्रा हुने खतरा
बढ्दो छ, उर्लंदो छ

यस्तै सोचाइले आक्रान्त छ सगरमाथा
नेपाल छोडी बरु तिब्बततिरै घस्किने कि ?
उग्रपन्थी सोचाइमा पर्छ सगरमाथा
यो अर्काले नउचालेसम्म स्वविवेकले नजुर्मुराउने जनता अंगालेर
निरर्थक कति दिन बस्ने
सोचमा परेको छ सगरमाथा
तर टुलुटुलु हेर्ने बाहेक
अरु कुनै विकल्प नदेख्दा
आँखाभरि आँसु लिएर
आहत हाँसो हाँस्न
बाध्य छ सगरमाथा

अमेरिका

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1547

Sharad Nirola – Bhanera Faida Chhaina

शरद निरोला – भनेर फाइदा छैन

भन्न थाल्यो भने किन भनिस भनेर भन्छन
बोल्न खोज्यो भने किन बोलिस भनेर रोक्छन
नभनुँ त मुख चिलाएर चौपट्ट छ भन्दा
बढ्ता हुन्छस तँ ? भनेर ठोक्छन

देशमा कस्ता कस्ता कुरा भा’का छन् कसले भन्ने?
कति करोड रुपियाँ कता गा’का छन् कसले गन्ने?
बाग्मती र टुकुचामा मात्र होइन मनहरामा पनि
शहरको ढल बगेको कसले देख्ने?

सागपात भनेपछि हुरुक्कै हुने काठमाडौंबासीले
चौंसुर-पालुंग खान छोडेको कसले देख्ने ?
रायोको सागका मूठाका मूठा
गुहे पानीमा धोएको कसले देख्ने?

सडकमा गाडीको जाम छँदाछँदै
मोटर साइकलको बिगबिगी कसले रोक्ने ?
पेटीमा दुई पांग्रे गुड्छन त सडकमा दुई खुट्टे हिडछन्
यो अचम्मको कैफियत कसले बुझ्ने?

न शान्ति छ न सुरक्षा छ
ज्यान संगको खेलबाड कसले हेर्ने
पार्टीपार्टीका बीच महासंग्राम छ
जनताको भलो कसले गर्ने ?

संबिधान नभए देश चल्दैन
त्यसको खाका कसले कोर्ने
जुनसुकै मूला आए पनि
घटीमा छ महिना माग्नै पर्ने !

देशभरि ठूल्ठूला नदी र नाला छन्
तिनका पानी कता फाल्ने
धाराका टुटी जोडले खोल्दा
स्वाँ-स्वाँ आवाज कसले सुन्ने?

जुन बेला बत्ती दरकार छैन
त्यही बेला बत्ती आइ दिने
रात भरि टुकी बाल्नु पर्दा
जनताको मर्का कसले बुझ्ने?

आफुलाई भन्छन जनताको नेता
जनता चाहिं सधैं यता न उता
यो हरिबिजोगको अन्त्य कतै छैन
यो समस्या कसले बुझ्ने?

विश्वमै दुर्लभ यी जन्तुलाई
नेपाली भनी कसरी भन्ने
देश त यिनले मासेकै छन्
दु:ख-पुकारा कोसित गर्ने ?

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1547