Sarubhakta – Darun Nadi Ra Himal

साइवरपीडाः तारकयुद्ध सञ्जालहरु
जिन्दगीका मिथकयात्राभरि छन्
खोई कहाँ हराए हाम्रा स्वनामधन्य ख्रिचुङ
र आनिकहरु ?
अफिमखेतीः च्वेस्याङ र फाहियानहरु
श्रापित विरुपाक्ष भूमितिर
आजभोलि वाढीग्रस्त छन्
मितेरी साँधुहरु
ए ! के भईरहेछ प्लाजा डि टोरोसतिर ?
आजभोलि हामी हिँसाहरुको उपासनामा व्यस्त छौं
फरार मानवता – पतझडका वैसहरु बोकेर
वख्तरवन्द प्रजातिः खिया लागेका न्यूरोनहरु संरचना गर्छन्
मानव वंशवृक्षमा अद्यावधि जीवित छन्
महान कपिश्वरहरु
नेपोला निपार निपर नेपाल
भूपरिवेष्टित आँसुका सरोवरहरु
जहाँवाट बग्छन् दारुण नदीका
महापीडाहरु
साँग्रिला सम्वोधिः फालाफाल रुप्सेहरु
खोई कहाँ छन् साँढेम्यागुताका
आतङ्कहरु ?
शङ्कास्पद नेपालीहरु शङ्कास्पद नेपालीहरुको खोजीमा छन् …
कस्ले बुझ्नसक्छ, संसारको सवैभन्दा शक्तिशाली भूँडीवम
यहाँ उहिल्यैदेखि विस्फोटित छ !
उः ! हाम्रा हिमालहरु कति आग्ला छन्
हामी किन यति होंचा छौं !

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3185

Sarubhakta – Parajiwi Atanka Ra Desh

आप्तकामः जीवनका कार्निवलहरु
पदार्थहरुको सम्वेदनामा
घडीको सुई रोपिएर
उल्कापातका “ऋत” जन्मन्छन्
अन्धो इतिहास
धृतराष्ट्रहरु जन्माउँछ
कार्निभोर – वहुला मान्छेका डायरीहरुमा
श्रापित पदचिन्हः पातलो हावाका उच्चताहरु
हिमयुगीन गाथाहरुमा
यतीका खुट्टाहरु टेकिएकाछन्
कङ्कालहरुको उत्खनन्ः विगलित मनका पहराहरु
मानवयन्त्र यन्त्रणाहरुमा
कम्प्यूटर चिप्स भावनाका आइसोटप्स
जमेका छन्
यूटोपियामा हराएका मान्छेहरु
धारिला क्षितिजहरु ओर्लन्छन्
खोई हिमालमा हराएका म्यालोरीहरु
अद्यापि इदी अमिनका भूतहरु
जिउँदैछन्
लाभा घडी जिन्दगी
एकछिन खुलेको आकाशजस्तो
समयको कोर्रा लागेर अचेत छन्
कार्टुन प्रजातन्त्र
पोखरीका हिमालहरु हल्लिएका छन्
उप्m ! के म अझै कार्टुनहरुकै देशमा छु ?
साइलेसस्वप्न ः सिनेमाई प्रेमम्यानियाहरु
परजीवी आतङ्कग्रस्त छन्
युगहरु काँचुली फेर्छन् तर किन फेरिदैनन्
मनुष्यताका विषाक्त दाँतहरु ?
सम्सुद्दीनहरु, नेपाल लुट्न नआए हुन्छ
आजभोलि हामी आफै आफ्नो देश लुट्न काफी छौं
वैकुण्ठेहरु, जाऊँ लिगलिगकोटतिर
इन्द्रजात्राहरु मदहोस छन् –
‘नक्या व्यू छ्वेला वजी अँ !’
आह ! अभागी हुन्छ त्यो देश
जहाँ कसैलाई देश दुख्दैन !

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3185

Sarubhakta – Mahabharat

कुरुक्षेत्रमा कौरवहरू जम्मा हुन्छन्
कुरुक्षेत्रमा पाण्डवहरू जम्मा हुन्छन्
र, प्रत्येक दिन शङ्खका अहम्नादहरू गर्दै
धर्मका नाममा युद्ध गर्छन्
तर, धर्मको नाममा सुरु हुने
महाभारत युद्धहरू सधैँसधैँ
पापयुद्धहरूमा परिणत हुँदै जान्छन् ।
कुरुक्षेत्रमा जम्मा हुने कौरवहरू
अरू कोही हुँदैनन्/पाण्डवहरूका भाइ हुन्छन्
कुरुक्षेत्रमा जम्मा हुने पाण्डवहरू
अरू कोही हुँदैनन्
कौरवहरूका भाइ हुन्छन्
त्यहाँ दुवै पक्षका
बाबुबाजेहरू हुन्छन्
त्यहाँ दुवै पक्षका
गुरुहरू हुन्छन्
त्यहाँ दुवै पक्षका
बन्धुबान्धवहरू हुन्छन्
र, युद्ध सुरु हुनुभन्दा पहिले
महान्महान् धर्मका नाममा
महान्महान् घोषणाहरू गर्छन्
तर, जब युद्ध सुरु हुन्छ
धर्मका नाममा सुरु हुने
महाभारत युद्धहरू सधैँसधैँ
पापयुद्धहरूमा परिणत हुँदै जान्छन् ।
कुरुक्षेत्रमा जम्मा हुने कौरवहरू र पाण्डवहरूका साथ
देवताजस्ता मान्छेहरू पनि हुन्छन्
मान्छेजस्ता देवताहरू पनि हुन्छन्
कुरुक्षेत्रमा जम्मा हुने कौरवहरू र पाण्डवहरूका साथ
राक्षसजस्ता मान्छेहरू पनि हुन्छन्
मान्छेजस्ता राक्षसहरू पनि हुन्छन्
त्यहाँ कतिका महान्महान्
प्रतिज्ञाहरू हुन्छन्
त्यहाँ कतिका महान्महान्
विश्वासहरू हुन्छन्
तर, एकपल्ट युद्ध सुरु भएपछि
धर्मका नाममा सुरु हुने
महाभारत युद्धहरू
सधैँसधैँ पापयुद्धहरूमा परिणत हुँदै जान्छन्
सधैँसधैँ पापयुद्धहरूमा अन्त्य हुँदै जान्छन् ।