सरोज धिताल – विजय
होला त भनी
मैले तिम्रो कुरा सुनें
मेरो हिरो !
मिल्काएं आफ्ना आग्रहहरू
र तिमीले दिएको झोला भिरें
झोलामा एउटा कलम थियो
र थियो
एउटा बन्दुक ।
तिमीले भन्यौ–
‘कलमलाई हतियार बनाऊ
र संहार गर
गन्हाएको, कुहिएको पुरानो संसारको ।’
तिमीले फेरि भन्यौ–
‘लेख नौलो सुनौलो संसारको कविता
बन्दुकले ।’
अल्मलिएका मेरा औंलाहरूलाई
अल्मलिने समय थिएन
जिल्लिएको मस्तिष्कलाई मेरो
निमेष मार्ने फुर्सद थिएन
केही खोज्दै थिए आंखाहरू
तिनलाई डुल्ने आकाश थिएन
मेरा आंखाहरू, औंलाहरू
मनभित्र अटाउने सबै चीजहरू
बन्दुक खेलाई रहे
कलम चलाई रहे
आखिर त्यो चीर प्रतिक्षित पल आयो
प्रलय नादझैं केही गड्गडायो
र
घोषणा गर्यौ
तिमीले
विजयको
‘खै त विजय ?’
–मैले सोधें ।
तिमीले सायद केही देखाउन खोज्यौ
पछ्याइरहे“ म तिम्रा औ“लाहरूलाई
जो हावामा अल्मलिएर एकछिन
चुपचाप लुत्रुक्क झुन्डिए ।
मेरो हिरो !
सोध्दैछु म अझै
खै, कहां छ त्यो विजय ?
तिमी भने
अझै टोलाइरहेका छौ
केही देख्दैछौ तिमी ?
परपरसम्म पनि
म त एउटै परेवा देखिरहेको छैन
धुवां अझै उडिरहेको छ
पोलिएको मासुको गन्ध बोकेर
मान्छेको अर्को कुनै आकृति भेटिएको छैन
कतै नजिकबाट आइरहेछ
कसैको आर्तनाद
जो तिम्रै पीडाजस्तो लाग्छ
कतै टाढाबाट आइरहेछ
कसैको चित्कार
जो मेरै सपना रोए जस्तो लाग्छ
फगत् तिमी र म
उभिइरहेका छौं
धरतीको डढेको ढाडमाथि
भन त !
द्वापर युगमा पनि
के तिमी र म यसै गरी
टोलाएका थिएनौं
महाभारत पछि ?
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.