देशमा धेरै कुराहरु
हराउँदै गए
एकपछि अर्कोगरी
गुम्दै गए
फैलिएको देश
खुम्चिने क्रममा
सीमास्तम्भहरु हराए
वैशाखी टेक्दै
सत्तासीन हुनेहरुले देखाउने
परिकल्पनाहरु हराए
हराउनुको आभाष छ
हराउनेहरुकै भीड छ
हराउनेको मौसममा
हराउनेहरुकै एकाधिकार छ ।
हराउँदा हराउँदै
र गुम्दा गुम्दै
पछिल्लो संस्करणमा
कुनै सूचना प्राप्त भएको छ
हराउनुको यस श्रृङ्खलाको
नवीन कडी बन्दै
आज कसैको मोजा हराएको
जानकारीमा आएको छ
हो इतिहासको कुनै हिस्सा बन्दै
आज मेरो
मोजा हराएको छ ।
देख्दा सानो देखिन्छ
तर मोजाको अर्थ
सोचेभन्दा विशिष्ट छ
विषयको महत्वमाथि
प्रश्न उठाउन सकिन्छ
तर त्यसको हस्तक्षेप
विशेषतासहित भेटिन्छ
पैतालामा जब
चिसोले सिर्का हान्छ
मस्तिष्करुपी स्पर्श
कठ्याँग्रिदै खस्छ
केही गरौं भन्दा पनि
गर्न सिकंदैन
केही सोच्न खोज्दा पनि
त्यसले सोच्न दिंदैन
मोजालाई हल्का रुपमा
लिन मिल्दैन
जीवनमा संभावनाहरुलाई
निर्देशित गर्दै
त्यसले आफ्नोपनको
आभाष गराउँछ
मोजाको मौनता
संवादहीनताको सूचक
हुनै सक्दैन
अविच्छिन्न यात्रालाई
सुरक्षा कवच ओढाउँदै
त्यसले वर्गीय विभेदको
दूरीसमेत मेटाउँछ ।
भन्छन् हराउनुको मजा नै
अरुभन्दा बेग्लै छ
प्राप्त हुँदा नपाएको चीज
गुमाउँदा प्राप्त हुन्छ
हुन त सन्दर्भसहित
आएको नग्नता
कहिलेकाहीं मीठो पनि सुनिन्छ
कलामय उज्यालोले
आनन्द उत्साहित पनि हुन्छ
साँच्चै नै अब हराउनुको
थप श्रृङ्खलामा
मोजाजस्तै
अरु कुराहरु पनि
हराउँदै गए भने के हुन्छ ?
प्रश्न छ
साँच्चै नै अब गुमाउनुको
निरन्तरता स्वरुप
मोजाजस्तै
अरु कुराहरु पनि
गुम्दै गए भने के हुन्छ ?
प्रश्न उठ्छ ।
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.