Rajendra Shalav – Malai Samau Ra Rang Bhara

राजेन्द्र शलभ – मलाई समाउ र रंग भर

थाहा छैन
तिम्रा आँखाको सम्मोहनले
सम्मोहित छु म
या ओठको मुस्कानले ।

पहिले – पहिले त
तिमीलाई देख्दा मात्र
म सम्मोहित हुन्थेँ
आकर्षित हुन्थेँ
तर , अचेल त
तिमी नहुँदा पनि
तिम्रो सम्मोहनले
सम्मोहित बनाउँछ
तिम्रो आकर्षणले
आकर्षित बनाउँछ ।
मलाई त ,
यो पनि थाहा छैन
यो सम्मोहन
यो आकर्षण
माया हो वा स्नेह हो
मलाई त यत्ति मात्र थाहा छ
तिम्रा हातमा कुची
र छेउमा रंगहरू मलाई मन पर्छन्
तिमीले बनाएका
पेन्टिंगहरू मलाई मन पर्छन् ।

अनुहारभरि निराशा ओडेर
जब तिमी भन्छौ –
अब के पेन्टिग गर्नु र ?
त्यो चाहिँ मलाई पटक्कै मन पर्दैन
तिम्रो मनभरि
अहिले उदासी छ भने
तिमी त्यही निराशा र उदासीको
चित्र बनाऊ !

मेरो आग्रहमा कुनै स्वार्थ छैन
मेरो चाहना कतैबाट पनि विषाक्त छैन
कसैले लेखेको
कसैलाई मन पर्नसक्छ
कसैले बोलेको
कसैलाई मन पर्नसक्छ
त्यस्तै , तिम्रा हातहरूले
ब्रस चलाएका हेर्न
मलाई मन पर्छ ।

उमेरसँगै
धेरै जिम्मेवारी बढे होलान्
म तिमीलाई
ती जिम्मेवारीहरूबाट भाग
भनिरहेको छैन
समयसँगै
धेरै घाउहरू लागे
र खाटा परे होलान्
म तिनीहरूलाई
उप्काउन पनि भनिरहेको छैन
एकान्तमा आउने
अतीत र वर्तमानका
अनेकौँ सम्झनाहरू होलान्
बस् ! ती सम्झनाहरूलाई
केवल ती आनन्दी –पीडाहरूलाई
कुचीले क्यानभासमा कोर्ने गर
आफ्ना जिम्मेवारीहरूबाट
अलिकति समय उबारेर
भावनालाई रंगभर्ने गर ।

धेरै पछि ,
जब तिमी बूढो भइसक्ने छौ
तिम्रा हातहरूले राम्ररी
ब्रस पनि समाउन सक्ने छैनन्
त्यतिबेला
हो , त्यति बेला
तिमीलाई मेरा यी शब्दहरू
याद आउने छन् ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2114

Rajendra Shalav – Timi Nahunda

राजेन्द्र शलभ – तिमी नहुँदा

सूर्य
आफ्नै रापले डढेर
कतै खोलामा झर्यो ।

खोला
बग्न छोडेर
त्यहीँ बालुवामै
सुक्न थाल्यो ।

चराहरूलाई
गुँड बनाउन मन लागेन
र , थुपारेका सिन्काहरू
मेरै छेउमा छोडेर
कतै उडी गए ।

हावा
बहन छोडेर
पीपलको हाँगामा
थकाइ मार्न बस्यो ।

ह्दयगति
हत्केलाका रेखाहरूमा
छट्पटाइरह्यो ।

आँखाहरू
अनिँदा रहे
सपनाहरू आउनै मानेनन् ।
ओठका मुस्कानहरू
औपचारिकताको मुग्लान पसे ।

उमेर
घामसँग
आँखा जुधाउन नसकेर
बेतोड कुद्न थाल्यो ।

मेरा कविताका
अक्षरहरू
सबैसबै हराए ।

भन तिमी कहाँ थियौ ?

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2114

Rajendra Shalav – Bhadrapur

राजेन्द्र शलभ – भद्रपुर

भद्रपुरमा
अलिकति कारिन्दाहरू छन्
त्यो भन्दा बढ्रता हाकिमहरू छन्
अलिकता उद्योगधन्दाहरू छन्
त्योभन्दा बढी नेताहरू छन्
केही स्कूल र कलेजहरू छन्
त्योभन्दा बढी भट्टी पसलहरू छन्
कमबेसीको कुरा बेग्लै हो
तर , मेरो भद्रपुरसँग सबै थोक छ
छैन भने – जाबो प्रगति छैन ।

मेरो भद्रपुरमा
बाह्रै महिना राजनीतिको खेती हुन्छ
मेची पुल सेलाए
हुलाकी राजमार्ग तात्छ
हुलाकी राजमार्ग सेलाए
मेची पूल तात्छ
खोयाबिर्केहरूको एउटा जमात छ
जो हरेक साँझ नेता बन्छन्
अर्काथरी
कोठे नेताहरू छन्
जो बिना काम नै
बाह्रै महिना चर्चामा हुन्छन् ।
के छैन मेरो भद्रपुरसँग
क्याम्पस छ , अस्पताल छ
जिल्लास्तरीय कार्यालयहरू छन्
यो अर्कै कुरा हो
हामी सौदादेखि चन्दासम्म लिन
धुलाबारी जान्छौँ
दुईदुईवटा दैनिक अखबार छन्
तर यो अर्कै कुरा हो
हामी पनि गोरखापत्र र कान्तिपुर मात्रै पढ्छौँ ।

भद्रपुरका छोराहरू राजधानीमा छन्
भद्रपुर उनीहरूका लागि साँगुरो छ
दशैँतिहारमा घर आँउछन्
बाआमाहरूसँग चिनजान गर्छन्
र , माया बस्न नपाउँदै राजधानी फर्किन्छन्
राजधानी आखिर राजधानी हो
उनीहरूबिना शून्य राख्नु पनि त भएन ।

जे होस् , भद्रपुरसँग
अलिकति सम्वेदनाहरू छन्
केही नाता – गोताहरू छन्
त्यसबाहेक ,
जमिन्दारी हराएको जमिन्दारजस्तै भद्रपुर
आफ्नो अस्मिता जोगाउन
पुराना सामानहरू लिलाम गर्दैछ ।