Purna Biram – Yaam Kai Kura

पूर्ण विराम – यामकै कुरा
(मधुपर्क साउन, २०६७)

तिम्रा अँगालामा रहेका बारुला र अरिङ्गालले मह बनाउने कुरा
कुन आधार समातेर विश्वासको रुमालमा जतन गरेर बांध्न सकिन्छ
गोडा नभएको मानिसलाई कृत्रिम गोडा जडान गरिदिएर
दौडाउँदा त्यो आफ्नै गोडाले दौडेको कहाँ देखिन्छ ?
खिइएका हाडहरू र कुहिएका मासुका थुप्रा बोकेको टापुले
सिगरेटको धूवाँ फुकेर कहाँ देख्न सक्छ
हजारौं वर्ग किलोमिटर टाढा रहेको क्रोडमा उम्रेको घाउलाई ?
करेलाको सर्वतको बोतलमा गुलियो छ भन्ने आवरण टाँस्दैमा
त्यो गुलियोमा परिवर्तन हुने होइन
एउटाले झण्डालाई पट्याएर गोजीमा हाल्दैमा
महान् झण्डाको दाहसंस्कार हुने होइन ।
चपाउँदै लाखामरी नाताशा मरिन् भन्ने हल्ला नगर
दही जमिनमा उमि्रदैन
जमिनमा दही पोखेर दही उम्रेको कुरा नगर
कहिल्यै नदेखिएको याम उदाएको छ
दुर्गन्धित शरीर उभ्याएर
आफ्नो शरीरको छायाँमा मेरो छायाँ समावेश नगर ।
कोकाकोलाको घुट्कोमा मरियमको पीडा कसैले बुझ्न सक्दैन
परेवाहरूले चाल्दैमा पखेटाहरू र छर्दैैमा हावा
बुद्ध उभिदैन रगत रोक्न नसकेको लाचार याममा
वख्ते नस्रको भारदारी प्रस्ताव
रवर्ट गि्रन पढ्नेहरूले इन्कार गर्छन्
सुसज्जित पोसाकका साथमा भोलि ढल्ने धरहरा चढ्नुभन्दा
राता मुगा एकत्रित गर्नु नै महान् कार्य हुनेछ
यो कहिल्यै नदेखिएको यामका निम्ति
मनले गरेको कठोर प्रतिरोध हुनेछ ।
पहिले सुनिन्थ्यो भित्ताका पनि कानहरू हुन्छन्
र यो याममा भन्न हिचकिचाउनु हुन्न-
भित्तामा रहेका केही पाका ईंटहरूसँग जिब्रा जडान भएका छन्
र ईंटहरू चिच्याइरहेछन्-
विपरीत धु्रवहरू एकले अर्कालाई मालिस गरिरहेका छन्
हुरीमा टापु छोपिदो रहेनछ अलवान ओढाएर
कपडा नै लज्जित हुँदो रहेछ
छोप्न नसकेर नग्नताका सन्दर्भहरूलाई ।
कहिल्यै नदेखिएको याममा
ताराहरूलाई छुर्पी ठानेर चपाउँदै
सर्कसको खेलाडी भएर
अँगालामा बारुला र अरिङ्गालहरू राखेर
बीसौं कुर्सीको अग्लाइ बनाएर
अग्लो भएको भजन गाउन लगाएर
भजन मण्डलीको माझमा भजन सुनेर बस
प्रकृतमा सगरमाथाको टुप्पोमा
बसिरहँदा एडमण्ड हिलारी पनि
देखिएन लेनिनभन्दा अग्लो
रोमन सम्राट टिटसले दैनिक दाह्री खौरिँदा पनि
त्यो कहाँ देखियो दाह्री पालेको कार्लमाक्सभन्दा सुन्दर ?

-३३ काठमाडौं

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:4004

Purna Biram – Khorsani Baari Ma

पूर्ण विराम – खोर्सानी बारीमा
(मधुपर्क माघ, २०६७)

बाबरका मनहरू लिएका जस्ता गरेर खोर्सानी बारीमा
जेन्टाइलहरू पो देखिएका रहेछन्
बारीलाई अन्दिजान जस्तै सुन्दर बनाउँछौ भनेर
जलेका छन् कविताका शीर्षकहरू र तिनका हरफहरू
केही समय बलिका बोका बने मानिसहरू
र चढे अन्त्यमा उही पुरानो आर्तिमिसकै मन्दिरमा
अहिले देखिएका भेँडाहरूलाई
कुन तान्त्रिकले तन्त्र गर्दै कुन कथित देउताको नाममा
महा-बलिको आयोजना गर्ने हो ?
कुन सुचिकारले जेन्टाइलका आदेशहरू पालना गर्दै
सिउने हो तेरानलाई तेरान नदेखिने बस्त्र
र फेरि उत्पात्ले यहाँ शिखरतर्फ आरोहण गर्ने हो ?
बाबरका मनहरू लिएकाजस्ता जेन्टाइलहरू देखिएका खोर्सानी
बारीमा एकपछि अर्को गर्दै
धूवाँ मात्र उत्पादन गर्ने कारखानाको विस्तार भइरहेछ
एउटा गमलामा धान रोपेर
सबैको निम्ति चामल ओइरिने कुरा भइरहेछ
यो वर्ष कहाँ मारिए र हिंस्रक जन्तुहरू
सिंह नै पनि चाँहिदोरहेनछ मानिसहरूलाई मार्न
धूवाँभित्र जेन्टाइलका माझमा भोलि नदेखेर
आत्महत्याको शरणमा परेका छन् मानिसहरू
जलेका छन् कविताका शीर्षकहरू र तिनका हरफहरू ।
धूवाँ फैलाउँदै धूवाँ भित्र पहारिलो घाम तापिरहेका छन् जेन्टाइलहरू
भर्खरै पलाएको मुसोलोनीको नङले च्यातिदिएको छ महान् पर्दालाई ?
च्यातिएको महान् पर्दालाई सम्मानित धागोले सिउन
अब कति वर्ष लाग्ने हो ?
जलेका छन् कविताका शीर्षकहरू र तिनका हरफहरू
व्यभिचार खप्दै र पालामा थाप्दै अपमानका थोपाहरू
अब महान् कविताहरू लेखेर शीर्षकहरू राख्न
कति हिउँद छातीमा गुटमुटाउनु पर्ने हो ?
तुहिइसकेको छ खोर्सानी बारीमा नयाँ शासकको प्रतिष्ठा
चढे तापनि नयाँ शासकले नयाँ बग्गी
त्यसले बग्गीबाट ओर्लेर सम्मान् गर्दै जाडोमा कामिरहेकोलाई
आफ्नो बख्खु फुकालेर दिने योजना बनाएको छैन
त्यस्तो योजना नयाँ शासकले बनाएको भए
धूवाँ महासागर बन्थ्यो र महासागरलाई पिउने
अगस्ति खोज्न युगले लामो कसला भोग्नु पथ्र्यो
सिद्धान्तले लोप्पा खाएको छ खोर्सानी बारीमा
जलेका छन् कविताका शीर्षकहरू र तिनका हरफहरू ।
बोल्न सिकेको कुनै सुगालेझैँ कण्ठ गरेर मुमुक्षाकास्तोत्रहरू
बन्दुक बोकेर छल्न आएका रहेछन्
कप्तानी भेषमा खोर्सानी बारीमा
आफूले सुसज्जित पोसाक लगाएर
आफ्नो निम्ति मात्र तान चलाउन जेन्टाइली अनुहारहरू
आगो भनेर मजाले आफूले चाटेको रहेछु धूवाँलाई
दसौं कुम्भकर्ण लिएर म नै पो सुतेको रहेछु
निद्रामै पनि लेखिँदोरहेछ कविताका शीर्षकहरू र हरफहरू
धूवाँमा कसरी देखेँ मैले
शीतलाले भरिएको अनुहारमा क्लियोपेट्राको मुहार
जलेका छन् कविताका शीर्षकहरू र तिनका हरफहरू ।
धन्य म उभिएको जमिन भासिएको छैन
र आँधीले जेन्टाइलहरूलाई बेलुन बनाएर
खोर्सानी बारीमा कहिल्यै उडाउन सक्दिन भनेको छैन
बेलुन भएर कुनै न कुनै दिन उड्ने छन्
जेन्टाइलहरू खोर्सानी बारीमा
र कोही न कोही बाबरकै मन लिएर
आउने छ खोर्सानी बारीमा
र उसले आफ्ना चाकरका सट्टामा
कविताका शीर्षकहरूलाई सम्मान गर्दै
कविताका हरफहरूलाई सम्मानित गर्ने छ ।

- ३३ काठमाडौँ

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:4004

Purna Biram – Ek Jana Aaundaichha

पूर्ण विराम – एकजना आउँदैछ

एकजनालाई न्रि्रा दिन
रात आउँदैछ शहरमा
एउटा मुर्दालाई जलाउन
आगो हिँडेर आउँदैछ शहरमा
तिम्रा गीतलाई संगीत दिन
एउटा विशाल हूल आउँदैछ
पर्खिबस केही क्षण मात्र
कुनै युद्धले खसालिदिएको
तिम्रा कपालको लालीगुराँसलाई
फेरि टिपेर तिम्रो कपालमा
घुर्सार्न एउटा असल मानिस पनि आउँदैछ शहरमा ।

एकजना जमिन्दारको आँगनमा आउँदैछ
हरियो बाँस काटेर बोकेर आउँदैछ
एकजना खाल्डो खन्ने औजार
लिएर आउँदैछ गाउँमा
पटवारीको चिहान बनाउन
एकजना आउँदैछ
धेरै अगाडिदेखि हराएको
मानिस आउँदैछ गाउँमा
जसको छाती चट्टानले बनेको छ
चट्टानको छाती बोकेर
एकजना पनि आउँदैछ गाउँमा
गाउँका आँगनहरु बढारेर सफा पार्न
अमरिशाको मूठा बोकेर कोही आउँदैछ
असमानताको धर्सो मेटेर
समानताको धर्सो कोर्नका निम्ति
एउटा रातो सिसाकलम बोकेर
एकजना विद्यार्थी पनि आउँदैछ
कहिल्यै नदेखिएको हावा बोकेर
गाउँमा वातावरण पनि आउँदैछ
सम्पूर्ण साङ्लाहरु मर्छन् त्यस्तो हावामा
त्यस्तो हावा पनि आउँदैछ ।

पुरानो शहर भत्काएर
नयाँ शहर बनाउन
एकजना कालिगढ आउँदैछ
अराजकता फैलाइरहेका शालिकहरु जलाउन
एउटा नाम लिएर
अग्निदेव शहरमा आउँदैछ
एक हुल साथीहरु आउँदैछन्
पर्खिबस बादल लागेको शहरलाई हेरेर
एउटा दिवाकर ल्याउँदैछन्
आफूसँग भएका रगत दिएर
धेरै जनालाई तातो झिरले घोचे पनि
घोचेको आभास हुन नसक्ने
समय र्छन समय र्छर्ने
मानिस आउँदैछ
एकजना मानिस आउँदैछ
यो ठाउँमा आउँदैछ
यै ठाउँमा जन्मेको मानिस आउँदैछ
लामो रातलाई विश्लेषण गरेर उज्याला टुक्राहरुमा परिवर्तन गर्न
एकजना असल विश्लेषक
यो शहरमा आउँदैछ
वारहेड्स र क्षेप्यास्त्रलाई निस्क्रिय पारेर
संसारलाई युद्धबाट मुक्त गर्न
एकजना मुक्ति मोर्चाबाट
यो शहरमा आउँदैछ

फूल छ भने फूल टिपिराख
समस्या समाधान गर्न रातो ढक्की बोकेर कोही आउँदैछ
अँध्यारो छ तोपहरु तैनाथ छन्
सिपाही छन् पुलिसहरु छन्
बसन्तले यस बखत साना-साना
नानीहरु पनि आफ्नो काखमा राखेर
खेलाइरहेको शहरमा
एक जना जसरी आएको थियो
त्यसरी नै यहाँ पनि आउँदैछ
एकजना यो शहरमा पनि आउँदैछ ।

चट्टानको टुक्रालाई फाँसी दिने
समुद्रको ओठमा पट्टी कस्न
झुत्रो सुकुल च्यातेर
त्यसमाथि नयाँ तन्ना कस्न
एक जना आउँछ
चपरीमुनिबाट एक जना आउँदैछ ।
एक जना यो ठाउँमा आउँदैछ
हजारौँ हातहरु बोकेर
यही ठाउँका हातहरु बोकेर
एक जना आउँदैछ
तिमी छिँडीमा छौ भने पनि बसिराख
तिमी मटान या बार्दलीमा छौ भने पनि बसिराख
कौसीमा तिमी छैनौ
आउन लागेको आँखाको दृष्टिलाई थाहा छ
तिमी बिछौनामा छैनौ भने पनि बसिराख
तिम्रो आँखामा निद्रा छैन
आगन्तुकलाई थाहा छ
धेरै घरका कथाहरु यस्ता छन्
आउन लागेकोलाई थाहा छ

छाता छैन भने केही बेर
रुझेर नै बसिराख
एउटा छाता लिएर
एक जना मानिस आउँदैछ
आफ्नो भन्नु कुनै छाता
धेरै अगाडि कसैले खोसेको छ भने पनि
आफ्नो छाता बाहिर नै बसिराख
एक जना आउँदैछ

जंजीर लिएर यो ठाउँमा
एउटा अमीन पनि आउँदैछ
तिम्रा राष्ट्र छैन भने पनि उभिराख
एउटा राष्ट्र बनाउन
यो ठाउँमा एक जना आउँदैछ
हजारौँ तोपहरुले छुन नसक्ने
एउटा विशाल छाती साहस सहित
यो ठाउँमा आउँदैछ
छिडी बार्दलीमा जीवन रोप्न
मृत्युसँग लड्दै एकदमै निर्भिक
एकजना मानिस आउँदैछ ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:4004