Pravin Rai Jumeli – Ama Mero Website Ko Homepage

प्रवीण राई जुमेली – आमा मेरो वेबसाइटको होमपेज

मेरो र म जस्तैहरुको यो डायास्पोरामा भिज्नअघि
कुनै एल्डोराडोको सपना बोकिएको थिएन आँखामा
साँपले काँचुली छाडे जस्तै
पास हुनेहरुले स्कुल छाडे जस्तै
त्यस्सै छाडियो गाँउ
त्यस्सै छाडियो गाँउ
गाँउसित ‘गाँउ’ शब्दको टियारा मात्र थिएन
एकान्त र अभावको स्यास पनि थियो
आमाका गोधुली आँखाहरु थिए
थिए गोरेटोहरुमा उसले हुर्काएकी नानीको डोब र गन्ध पनि
विज्ञान र बजारको ड्रग्स बाँट्दै हिंडेको भर्चुअल विश्वले
हेर्दोहेर्दै हामीलाई सिंगो एउटा गाँउको डडेलोभित्र लपेटिसक्यो
जसको ब्ल्योकहोलभित्र डोडो बन्दै गइरहेको
मेरो नानो गाँउ र मेरी चौबन्दी आमालाई कसैले पनि
मिस्यानथ्रोपिस्ट हुनबाट बचाउन सकेन
सफलता र आकांक्षाका टेरोकार्डहरु
मनको उमङ्गलाई क्याथार्सिस नहुँदो रहेछ
देख्छु अचेलभरि नै मौरीका झैं सयौं मेगापिक्सेल आँखाबाट
साल्साका टेक्सटोनिम्समा सम्प्रेषित बन्दै गइरहने
फुल्न नसकेका निकोल किडम्यानहरु बाटो किनारामा
देख्छु अभिभावक भुलेर आकाश खोज्न हिंडेका
नदुख्नसक्ने टर्मिनेटर छातीहरु
परिवेश नै दुर्गन्धको बर्डफ्लूले समातिँदै गएकोले होला
मेरो पनि दुर्गन्ध साथी नै लाग्छ हिंड्ने नाकहरुलाई
कहिले त हरेक दिनका दिमागी खेलहरुको संसदीय शून्यकालमा
सपना विभागको मन्त्रीलाई एउटा प्रश्न गर्न मनलाग्छ
कि त्यो कस्तो पेनकिलर हो
जसले हाम्रो मनका ‘दुख्नु’ क्रियालाई मारिदियो
कसरी नभनूँ कि मादलको मित्रसेनले गाएको अभाव र
बास गिटारको साकिराले उगेलेको पूर्णतामा भिन्नता छ
नभनूँ कसरी कि आफ्नो नाङ्गोपन छोप्न मैले आर्जन गरेको यो लुक्स नै
डान्से मेकाब्रेको सानो प्रतीक मात्र हो
नभनूँ कसरी कि तिमी त त्यहाँ नै छैनौ
छाडिराखेको थिएँ जुन बाँसुरीमा मैले
स्मृतिको प्रज्ञामा नमरुँ म गाउँ र आमा
त्यसैका मिथिम्स सङ्गाली यसैले
मनको सिलिकन भ्यालीमा कपेको छु ‘गाँउ डट कम’
र तिम्रो काखको न्यानोपन छाम्दै छाम्दै
आमा, बनाएको छु तिमीलाई मेरो वेबसाइटको होमपेज
बाँचिरहोस मभित्र सम्वेदनाको सर्वर
दिमागको गूगल सर्चमा मात्र तिम्रो इतिवृत्ति नभेटूँ
प्लुटोक्रेसीको पगरी गुँथ्न होड चलेको भीडमा
राजधानीको रेड टेपिज्म जस्तै आवहवा नबनूँ म।।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3010

Pravin Rai Jumeli – Gaunomics

प्रवीण राई जुमेली – गाँउनोमिक्स

अभाव आँशु र परिश्रमहरु गाँउमा फुल्छन्
यसैले हाम्रा आमा-बाबुहरु पनि गाँउमै बस्छन्
सुख त शहरको फँडानीभित्र पर्छ ‘रे
गाँउमा उनीहरु यसैले त भुक्तभोगी छन्

जुन हिँउदमा महकिन्छ फलेदोको फूल
त्यसबेला अदुवा, सुन्तला र साग-सब्जीहरु लिई
जुन बर्खा असरल्ल हुन्छ ढिस्कनाहरु भत्केर बाटो
त्यसै समय त अनिकालको सतबिउ बटुली
हाटहरु धाएर बिहान-बेलुकी हात-मुख जोड्ने कथाका
गाँउले पात्रहरु अथाह नमुनाहरु हुन् व्यथाका

भुटुन् नभएर पनि तिहुनको स्वाद हराउँदैन गाँउमा
तर चराहरु नगाउने र पानीधाराहरु नबज्ने स्वर्गहरुमा
सुखको जोह गर्नजाँदैन गाँउ
हाम्रा बाबु-आमाको बजारे सूचीमा कर्नफ्लेक्स र ससेजहरु चड्दैनन्
कहिले-काहीं सौदा गरिसकेर उब्रिहाले केही रुपियाँ
नातीहरुको लागि बोएज चकलेट किनिदिने रहर जाग्दो हो
कठै शहरको कुनै अङ्ग्रेजी स्कूलमा पड्छन् उनका नातीहरु
अब कसले भनिदिने कि अचेल
क्याड्बरिजहरुले बोएज चकलेटहरुलाई चिन्दैनन्
डायबिटिजमाथि पसिनाको जीत हुन्छ गाँउमा
राँटोको थकाइअघि स्लिपिङ् ट्याबलेटहरु हार्छ गाँउमा
दशैं र सङ्क्रान्तिहरुसितै बगेर आउने
मसिना खुशीका तिर्सनाहरु नै कति मीठो
ठूलो के कल्पिनु छ र
सानाहरुकै रगरगी छ गाँउमा

अझै पनि फुटेका ठेलाहरु त्यसै सुक्छन् गाँउमा
कुनै मलमको नाम छुटेकै छ उसको बजारे सूचीबाट
अझै पनि फरियाहरु चिथ्रिन्छन् त्यसरीनै गाँउमा
एउटा सिफोनको सारी कहिले जोडिएला त्यो सूचीमा॥

गाउँनोमिक्स =कविताको शीर्षक गाउँ + इकोनोमिक्स शब्दको सन्धिद्वारा उद्बोधित हो

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3010

Pravin Rai Jumeli – Gaunle Gajni

प्रवीण राई जुमेली – गाउँले गजनी

जुन दिन त्यसले मेरो टाउकोमा १७७९ अगिको फ्रान्स बजारेर गयो
त्यस दिनदेखि यता म एन्टेरोग्रेड अम्नेजियाले ग्रस्त छु
म भन्न सक्तिनँ कतिबेला मेरो स्मृति जान्छ र कतिबेला त्यो फर्किन्छ
भुलेकाहरुलाई सम्झिनैलाई जिउभरि झरी र बादलहरुको टाटू खोपिराखेको छु

विपनाको पत्करहरु टेक्दै जीवनको फारम भर्न
आउनेहरुलाई म सधैँ तयार राख्छु मेरो जवाफ
पहाड मेरो आमा माटो मेरो पत्नी र पसिना मेरो सन्तान
ब्लिडिङ टेक्नोलजीको बैसाखी टेक्दै खेलहरु बेचिहिंड्ने ब्रोकरहरु झैं
भ्रमको अविराम ‘कमेडी सो’मा थप्पडीहरु खोज्दै गाईजात्राहरु
मेरो जिउने कलाको खिल्ली उडाँउदै खूब ‘मिमिक्री’ रच्छन्
अहो म तिनीहरुको समृद्धि बढाउने गाउँले गजनी सत्ते होइन
मेरो मनको हार्ड-डिस्कबाट तिनीहरुकै घमण्ड र रीसले
सन्तोक र रसमयताका फाइलहरु चुन्दै डिलिट गरेको छ
अहिले-अहिले सुन्दैछु मैले भुलेको ती स्मृतिहरु सबै
विस्मृतिको मेमोरी-चिपमा हालेर कुन्नि
समयको कमोडमा फ्लस् गरिएका छन् अरे

म एउटा रुख यो भेकको वारिपारि फैलिन सक्छु
केही घामको प्रकाश र झरीका थोपाहरु यतातिर पनि छिरिदिए
म पनि हरियै भएर झ्याँगिन सक्छु
कसले छोप्यो हँ यो अकासलाई कसले छोप्यो
कसले चुँडायो नी मेरो गाउँले-स्मृति मबाटै हँ
कसले डण्ठ्यायो मेरो गाउँले-इच्छाहरुको टाउकोमै
भनिन्छ यस्तै स्मृतिहरु खाएर मात्रै नअगाउनेहरु त कति छन् कति
फेरि भागेर आफैलाई सन्तोकको एकान्तसित
बहाल गराउने त्यस्तो मुलुक पनि खै कहाँ पाइयो र
तबै त साधु-बाक्केहरु अवसरहरुको झोलाभरि बोकी
स्मृतिको व्यापार गर्न आउनेहरुदेखि लुकिहिंड्नै पनि कहाँ सकियो र

ठूलो केही नाप्दैनस् भने किन जन्मिस् नाथे
सोद्धथे मासुले निर्मित बाबु
खै जन्मिनु अगिको अनाम र अचेतनतामा
जीवनको रहर उम्रिसकेको थियो पनि कसरी भन्नसक्छु र
त्यसरी मेरो आउनु यो संसारमा पूर्वनियोजित नै कहाँ थियो नी
यसैले भनिदिन्छु म त औल्याउँदै अनाम समयको चित्रगुप्तलाई
अब यसलाई पनि तँ एउटा षडयन्त्रको रुपमा दर्ता गर् ए
अनि भनिदे कि यो म जस्तो भएर मेरो आउनु
कतै पच्य कुरा होइन स्वागतयोग्य विषय होइन
यसैले मलाई तँ सधैँ रिमान्डमा राखिबस्
र यो खप्परमा १९१७ अगिको रुस ठोक्दै सोधिबस् सोधिबस्
तेरो आत्मकथा के हो र चुनौतीहरु के-के हुन्
के हो तेरो उद्देश्य र के-के हुन् पहलहरु
स्वाभिमान तेरो के हो र तँ मर्ने पुर्पुरो कहाँ छ
अनि म देखाइदिऊँला त्यही समयको खोल्सातिर
जहाँ तिमीहरुको भागको समय पनि
मेरो स्मृतिको मेमोरी-चिप खोज्दा खोज्दै तुरिजानेछ।।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3010