Pratima KC – Aghoshit Yuddha

प्रतिमा के.सी. – अघोषित युद्ध

एउटा अघोषित युद्ध
चलिरहेछ
निरन्तर चलिरहेछ
शताब्दियौं देखि आजसम्म
हो त्यो अघोषित युद्धमा
बमहरु निस्क्रिय छन
बन्दुकहरु सुतेका छन
बारुदको धुवाँ अल्मलिएको छ
अरु बमहरु साथी बमको प्रतिक्षामा
टोलाइरहेका छन
तर पनि
घनघोर युद्ध चलिरहे कै छ /

यस युद्धमा हजारौं मरेका छन
तर कसैलाई शहिद घोषणा गरिएको छैन
लाखौंको आँसु बगेको छ
तर आँसु रित्तिएको छैन
यस युद्धका मागपत्रहरु
धर्म र सामाजिक संस्कारका अदालतमा
पेश गरिएका छन
मानवीय न्यायको कठघरामा उभ्याईएको छ
बिना निश्कर्ष
अनिणयको बन्दीमा यी मानवहरुलाई
त्यसैले
यो युद्ध लगातार चलिरहेको छ /

यो युद्धले तपसिलका कामहरु
हडताल चक्काजाम ढुंगामुढा अपहरण
फिरौदी जेल नेल सजाँय केहि गरेको छैन
हाम्रो राज्य सत्तामा दर्ज नभएको
यस युद्धले
धर्म संकारका मेसिनगनसंग
निसस्त्र जुधेको छ
सामन्ती संस्कारका अस्त्रहरुले
क्षत बिक्षत पारिएको छ
मानवीय विभेदको हथकडी लगाईएको छ
यो युद्धका सिपाहीहरुलाई /

हो यो युद्धका जनताको
स्वतन्त्रताको हनन गरिएको छ
स्वविवेकमा प्रतिबन्ध लगाईएको छ
बिचार, भावना र चेतनालाई दमित गरिएको छ
बिक्रीमा राखेको वस्तु सरह
किनबेच गरिएको छ
जसले जे चाह्यो त्यहिँ हुने
निर्विकल्प नीरिह प्राणीको रुपमा
उपभोग गरिने यीनिहरुको
सदियौं देखिको युद्ध
मौन मौन छ /

हो यसरी नै,
मानवीय प्राणीको पहिचान स्वरूप
परिवर्तनशिल सभ्यताको क्षितिजमा पुग्न
निरन्तर समयको पर्खाइमा
एउटा मौन र अघोषित युद्धको
बिगुल बजिरहेको छ
अन्तर मनको सन्नाटाभित्र
हो त्यो युद्ध चलिरहेको छ
अघोषित युद्ध
ती युद्धका निसस्त्र लडाकु हुन
हाम्री आमा दिदी बहिनी
समस्त नेपाली महिला /

रुपन्देही
हाल: बेलायत
२७ फेब्रुअरी २०११

(Sent to Sanjaal Corps Via Email)

Number of Views for this Poem:1814

Pratima KC – Naari Diwas Ma Baini Lai Chithi

प्रतिमा के.सी. – नारी दिवसमा बैनीलाई चिठी

प्रिय बैनी,
आज नारी दिवस हो रे
संसारभरिका श्रमिक महिलाहरु
आफ्नो हक र अधिकारको लागि संगठित भएको दिन
जर्मनी महिला क्लाराजेटकिनको पहलमा
शुरुवात गरिएको हो रे
यो दिन १९११ बाट
एक शताब्दिपछि
पूर्वीय र पाश्चात्य मुलुकहरुमा
महिलाहरुले धेरै फड्को मारेका छन रे
हाम्रो देशमा हामी अझै दोस्रो दर्जामा उभिन बाध्य छौं

बैनी,
आजको यस घडीमा
खुसि ब्यक्त गरुं भने तिमीसंग
बसन्ती बागका फुल झैँ मन फुलेको छैन
दुख ब्यक्त गरुं भने म हार खाएर रोएकि पनि छैन
म अधिकारको लागि बोलेकी छु
परिवर्तनको लागि समय कुरेकी छु
आशा अनि बिश्वाश छ
अवश्य आउने छ त्यो दिन /

हो बैनी
नारी प्रेमको सागर हो
नारी आस्थाको शिखर पनि हो
धन दौलत विधाको लागि पुजा गरिने
महालक्ष्मी महासरस्वती पनि नारी हो
मैसाशुर राक्षसलाई बध गर्ने दुर्गा पनि नारी हो
नारी एक उपन्यासको पात्र पनि हो
चलचित्रकी नायिका पनि हो
यति मात्र पक्कै होइन
नारी पुरुष जस्तै
एउटा मन
मस्तिस्क
हृदय
बोकेको मानव पनि हो
तर
हाम्रो समाज र संस्कारमा मात्रै होइन
तिम्रो हाम्रो मनभित्र पनि
माथिका वास्तविकता
ओझेल परेका छन
साहित्यकारले उसको हरेक साहित्यिक रचनाबाट
नारी पात्र किन हटाउन सक्दैन
के महिला कथा, उपन्यास गीत गजलका
सौन्दर्यताका पात्र मात्र हुन?
यदी होइन भने,
खै त समान अधिकार ?
यदि एकै महत्व छ भने
एक पत्नी हुँदा हुँदै पुरुष जातिले
अर्को विवाह गर्नै हुँदैन भनेर
किन लेख्दैन कानुनले ?

त्यसैले बैनी
चेतनशिल भनिनेहरुले नामाकरण गरेको
हाम्रो “श्रापीय” जीवनलाई
बरदान ठहर गर्न
अन्धविश्वास र कुसंकारहरु
सहजरुपमा मनले परिमार्जन गर्दै
जुगौं जुग देखि भोग्दै आएको
पीडाको आँसुलाई शक्तिमा बदल्दै
महिला हक र अधिकारको लागि
“बिचरा” को कठघरालाई नाघेर
अन्यायको प्रतिकार गर्दै
अब बौद्धिक लडाईं लड्नु पर्छ
हो त्यो समय आएको छ
यस्तो समयमा
तिमीले सौन्दर्यको बाजी मार्यौ भनेपनि
सौन्दर्य ताज लागाइदिनेहरुले नै
तिमीलाई भोलि
अंग प्रदर्शनको आरोप लगाउने छन
सौन्दर्य त केवल क्षणिक मात्र न हो
सुन्दरताको नाममा तिमीले
असजिला, छोंटा र पारदर्शी
लुगा लगाएकिछौ रे
त्यो फेसनले तिम्रो संरक्षण गर्दैन
पितृसतात्मक हाम्रो समाजमा
लाचार र अविवेकी भएर
तिमीले त प्रेमको नाममा
परपुरुष संग प्रेमिल भएर
तिमी जस्तै अर्की नारीको सुख चैन
हरण गर्न खोज्छेउ रे
यस्तो कुकृतिले नारी बिरांगनाको इतिहास
नामेट हुनेछ बैनी /

राम, कृष्ण र गौतमबुद्धलाई जन्माउने
आमा तिमी जस्तै नारी नै हुन
मदरटेरेसा, इन्दिरागान्धी, पारिजात
के यी महिला होइनन् र ?
नारीको अस्मिताको खातिर लड्ने अनुराधा
जीवन दर्शनको बोध गराउने आनिछोइंग
संघर्षशिल कठिन जीवनलाई
साहित्यमा उतार्ने झमक घिमिरे
जस्ता उदाहरणीय महिला
तिमी बन्न किन नसक्ने ?
तिमी बिना
न त देवताको उदय हुन्छ
न त दानवको अन्त नै हुन्छ
यस्ती महिमामयी नारी जाति तिमीले
आफ्नो इमान्दारिता सांक्षी राखी
अन्याय अत्याचार र कुसंकारको बिरुद्ध
नैतिक लडाईं लड
त्यो लडाईंमा
मेरो पूर्ण समर्थन हुनेछ /
सम्पूर्ण नारी जातिको समर्थन हुनेछ /

(अन्तरास्ट्रिय नारी दिवशको सन्दर्भमा रचित )
७ मार्च २०११
बेलायत

(Sent to Sanjaal Corps via Email)

Number of Views for this Poem:3578

Pratima KC – Chaubandi Fariya Maasdai Chhu (Nepali Gajal)

प्रतिमा के.सी. – चौबन्दी फरिया मास्दैछु (गजल)

अझै छ घाउ यो छातीभरी बिर्सनलाई हास्दैछु साथी
दुखेको देश राखेर भित्र यतै पो नाता गास्दैछु साथी

फेरियो भन्छन राष्ट्रिय पोशाक जे लाए पनि हुने रे
यहाँ त हेरी नसक्नु छ चौबन्दी फरिया मास्दैछु साथी

झगडा छ भागबन्डामा भित्र मिच्दै छन् छिमेकी सिमाना
हराउन सक्छ कुनै बेला देशको नक्सा टास्दैछु साथी

बेचिदैछ मठमन्दिर अनि श्रद्धा र भक्तिभाव पनि
जोगाउँनलाइ सस्कृति धर्म कहिले उपास्दैछु साथी

अझै छ घाउ यो छातीभरी बिर्सनलाई हास्दैछु साथी
दुखेको देश राखेर भित्र यतै पो नाता गास्दैछु साथी

२२ फेब्रुअरी २०१२
रेडिंग, बेलायत

Number of Views for this Poem:651

Pratima KC – Maya Dekhen Maile (Nepali Gajal)

प्रतिमा के.सी. – माया देखें मैले (गजल)

उनको नजर भित्र किन माया देखें मैले
आँखाबाट जीवनलाई झार्नु रैछ ऐले

प्रित फुल्ने सारा संसार जीत आफ्नै लाग्थ्यो
उनको मेरो मन मुटु एकै भाथ्यो जैले

जीवनभरी साथ दिने वाचा हाम्रो भाथ्यो
आसा थियो आँसु पिउनु पर्ने छैन कैले

मायाप्रीत भन्ने चिज मलाई यस्तो लाग्यो
पाएपछि पित्तल सरी हिरा हुन्छ पैले

४ मार्च २०११
बेलायत

(Sent to Sanjaal Corps via email)

Number of Views for this Poem:3088

Pratima KC – Kasari Manaun Mothers Day

प्रतिमा के.सी. – कसरी मनाउँ ‘मदर्श डे’

बाल मानसपटलमा
चेतना अंकुराउने बिहानीदेखि
तिम्रो मातृत्वको छ्हारीबाट अपहरित भएर
अधुरा सपना र अपुरा भावनाको
छालहरुमा छचल्किँदै
आँसुको बन्दकीमा परेको
यो जिन्द गी ले यस क्षणमा
तिमीलाई श्रदा गर्ने
यो दिन
म कसो गरी मनाउँ ?
हाँसेर मनाउँ वा
रोएर मनाउँ ?

तिमीले दिएको उपहार
यस जीवनको तीन चौंथाई भाग
तिम्रो मातृत्व कै अभावमा छट्पटीएको छ
रिक्तताको आँधीले झकझकाई रहेको छ
तिमीले जिम्मा लाएका आफन्तहरु
निर्दयी स्वार्थी र पराई भैसकेका छन
नीरिह मानव प्राणीको रुपमा
असुरक्षित भएर बाँच्नु पर्दा
धैर्यताको बाँध फुटी
मनभित्रको सुनामीले
आतंक मच्चाएको छ
आमा शब्दबाट परिचित नहुनुको विवशताले
सिंगो जीवन काकाकुल भएको घडीमा
म कुन शब्द सौगातले
तिमीलाई श्रदा गरुं
बताऊ आमा !
यो दिन
कसरी ग्रहण गरुं ?

तिम्रो काखमा लुटुपुटु गर्ने
ईच्छाहरु उहिल्यै निमोठीएका थिए
समयले उमारेका कलिला भावनाहरु
भताभुङ्ग र लथालिंग भएका थिए
औंसीको कालो बादलले घेरेको
त्यो क्षण अति दुखिरहन्थ्यो
निरन्तर दुखिरहन्थ्यो
अहिले पनि त्यसरी नै दुखिरहेको छ
हरेक पाईलामा अभाव खड्किरहेको छ
कहिल्यै खाटा नबस्ने यो घाउ
जिन्दगीको अन्तेष्टिसम्म
बल्झिरहने छ चहराईरहने छ
यहीं दुखेको आत्मा र भिजेका परेलीबाट
तिमीलाई श्रदासुमन /

जे जसो भए पनि
तिमीले मानव जीवन दियौ
म मानव जीवनको संघर्षशिल मैदानमा
अनबरत रुपमा बेहिसाब पछारीए
सत्यको नजिक रहेर
जीवनको लडाईं लड्न सकुं
यत्ति नै मेरो माग छ तिमीसंग
मनको आन्दोलनलाई लुकाउन खोजेर पनि
‘मदर्श डे’ को चहलपहलले मनलाई
अलिकति उक्काईदियो दुखाईदियो
नचाहँदा नचाहँदै पनि म शब्दमा
पोखिन खोजें
रित्तिन खोजें
भनिदेउ आमा मलाई
यो दिन कसरी मनाउ ?
आँसुमय भएर मनाउ वा
अभावको पिङमा मच्चिदै
उधारो हाँसो हाँसेर मनाउ
भनिदेउ आमा मलाई
मदर्श डे
कसरी मनाउँ ?

२ अप्रिल २०११
बेलायत

Number of Views for this Poem:6812