Pralhad Pokhrel – Naya Barsha

प्रल्हाद पोख्रेल – नयाँ वर्ष
(मधुपर्क बैशाख, २०६७)

नयाँ भावनाको बिहानी उघारी
हिजोका समस्या सबै चूर्ण पारी
नयाँ वर्ष आओस्, नयाँ हर्ष छाओस्
सबैतर्फ आशा, भरोसा पलाओस् ।

नहोस् दुष्ट बोली र माया बिरानो
नयाँ जोश जागोस्, नहोस् चित्त सानो
बनोस् भव्य नेपाल जीवन्त रानो
नहोस् व्यर्थमा ज्यान हाम्रो अचानो ।

नयाँ सिर्जना होस्, दिगो शान्ति छाओस्
सुखी जिन्दगीको नदी कल्कलाओस्
खुलोस् याम नौलो लिई घामपानी
सधैँ धप्पपाओस् सुनौलो जवानी ।

कतै क्रूर आतङ्क हिंसा नआओस्
नयाँ रोशनीसाथ आभा उदाओस्
सबैतर्फ सद्भाव सम्पूर्ण छाओस्
युवाशक्ति ऊर्जा बनी जुर्मुराओस्

जराजीर्ण बासी उदासी विचार
नयाँ वर्ष आएर टाढा लघारोस्
बनून् ऊध्र्वगामी सबै होसियार
कसैले कुनै युद्ध हार्दै नहारोस् ।

नयाँ वर्ष दुर्धर्ष सङ्घर्ष छोडी
नयाँ हर्ष उत्कर्षमा जुर्मुराओस्
दुराशा निराशा जरैबाट तोडी
नयाँ वर्ष आनन्दले मुस्कुराओस् ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3625

Pralhad Pokhrel – Akshar

प्रल्हाद पोख्रेल – अक्षर
(मधुपर्क २०६६ जेठ)

देखौँ अक्षरका ताँती लेखौँ अक्षरकै कुरा
मातौँ अक्षर खाएर पिएझैँ लठ्ठ भै सुरा
पढौँ अक्षरका भाषा भोगौँ अक्षर-जीवनी
पाई अक्षरकै साथ रमाओस् लेखनी पनि ।

दर्कोस् अक्षरको वषर्ा चलोस् अक्षरकै भल
उर्लोस् अक्षरकै बाढी बगाई चित्तको मल
भन्छन् अक्षर हुन् ब्रहृम, परमात्मा र ईश्वर
गरे अक्षरकै ध्यान पाइन्छन् जगदिश्वर ।

ज्ञानगोष्ठी चलून् धेरै गरी अक्षर-आरती
धानी अक्षरकै धन्दा लेखियून् कविताकृति
हिडौँ अक्षर टेकेर उडौँ अक्षर-यानमा
लागौँ अक्षरकै खेती सपार्ने अभियानमा ।

सुघौँ अक्षरको मीठो बासना मग्मगाउने
बालौँ अक्षरको बत्ती ज्योत्स्नाझैँ जग्मगाउने
फुकौँ अक्षरको आगो दन्दनी हुर्हुराउने
पिऔँ अक्षरकै पानी जवानी जुर्मुराउने ।

हिँडे अक्षरको बाटो रोकिन्न कहिल्यै गति
रोजे अक्षरको क्षेत्र निरन्तर छ उन्नति
शङ्का अक्षरमा छैन त्रास-चिन्ता-व्यथा-खति
लङ्का मात्रै कहाँ हो र! जितिन्छ अमरावती ।

हाँके अक्षरका सेना हारिन्न कहिल्यै रण
तानी अक्षरकै ताँदो जितौँ सङ्ग्राम भीषण
बोकी अक्षरका झण्डा क्रान्तिमा होमिऔँ सब
चढी अक्षरकै डुङ्गा ज्ञानगङ्गा तरौँ अब ।

चुहिँदैन कतै तप्प अविनाशी छ अक्षर
गतिमान ऊध्र्वगामी छ अग्रगामी निरन्तर
हिडौँ अक्षरकै बाटो चिन्तामुक्त सरासर
जराजीर्ण हुँदै हुन्न अजरामर अक्षर ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3625

Pralhad Pokhrel – Swabhimanko Goreto

प्रल्हाद पोख्रेल – स्वाभिमानको गोरेटो

लम्क-
क्रान्तदर्शी पुरुषहरु ! लम्क
वीराङ्गना नारीहरु ! लम्क
क्षितिजमा उज्यालो आउँदैछ, कलिला बालकहरु !
जीवनको बिहानैदेखि
आव्हान गरेर सम्प्राप्तिको देदीप्यमान सुर्यलाई
लम्क-
स्वाभिमानको उज्यालो गोरेटोतर्फलम्क ।
शान्तिले यतै कठाङग्रिन नपरोस्
मृतशान्तिको चीसो सिरेटोमा
सिर्जनाले कतै जम्न नपरोस्
गतिहीनताको निस्प्राण पोखरीमा;
शान्ति सेलाएर अनायास
सिर्जनाको गतिशीलता हराउँदैछ अचेल
बुद्धका ज्योतिर्मय आँखाहरु !
घन्क-
अर्धमुदित नयनहरु
अब शान्तिका ज्वालाहरु दन्क ।
विस्फोट ब्यूँझन्छ उत्पीडनमा
ज्वालामुखी लप्लपाउँछ त्राटनमा
घन्क-
संसारभरका स्वतन्त्रता र शान्तिकामी आवाजहरु !
उज्यालो छेकिंदैन हत्केलाको छेकाइले
घन्क-
साहसको महासागरमा
स्वाभिमानका ज्वारभाटा चलाएर घन्क ।
राष्ट्रियता-
आफ्नो महान् मुटुमा राख,
देश-
आफ्नो विशाल मस्तिष्कमा राख,
सिङ्गै सगरमाथा अट्न सक्छ तिम्रो छातीभित्र
एउटा काँधमा अन्नपूर्ण राख,
अर्को काँधमा धवलागिरी राख ।
समेटेर सम्पूर्ण देशलाई
आत्मशक्तिका अजस्र स्रोतहरुमा
चम्क-
शौर्यशाली युवाहरु ! चम्क
स्वाभिमानी सपूतहरु चम्क !
बालेर अस्तित्वको झर्झाउँदो अग्निशिखालाई
आफ्नै यज्ञशालामा
तिमी स्वदेशको पूजा गर
चढाएर इमान्दारीको सुन्दरतम पुष्प गुच्छालाई
आफ्नै मातृधर्तीमा
तिमी शहीदको बन्दना गर ।
लम्क-
क्रान्तदर्शी युवाहरु ! लम्क
वीराङ्गाना नारीहरु ! लम्क