Lekhnath Paudyal – Kaal Mahima

भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो,
खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ।१।

राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो,
लाखौँ औषध अस्त्रशस्त्र महिमा देखेर र्डर्दैन त्यो,
व्याधातुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो ।२।

आँसुका दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो,
सुख्खा जर्जर अस्थिपञ्जर विना शैया बनाउन्न त्यो,
मैलो भष्मसिवाय अङ्गभरमा केही लगाउन्न त्यो,
हाहाकार सरी मिठो अरु कुनै संङ्गीत गाउन्न त्यो ।३।

जोजो मिल्छ सुलुक्क निल्छ मुखमा हाली चपाउन्न त्यो
थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो,
जत्ती मिल्छ उती उकेल्दछ पनि केही पचाउन्न त्यो,
यै चालासित कल्पकल्प कहिल्यै खाई अघाउन्न त्यो ।४।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:12092

Lekhnath Paudyal – Bibek Batikako Sanu Phool 2

लेखनाथ पौड्याल – विवेक-बाटिकाको सानू फूल (ख)

होच्याई अरूलाई क्यै किसिमले
आफू ठुलो भैकन
बस्ने खायस गर्छ धेर दुनियाँ,
जान्दैन सानू हुन ।

सानू भैकन विश्व-सेवन सदा
गर्ने महापूरुष ।
जन्मन्छन् बहुधा कमै, भुवनमा
चम्कन्छ जस्को यश ॥

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:12092

Lekhnath Paudyal – Poorba Smriti

लेखनाथ पौड्याल – पूर्वस्मृति

हे मेरो प्रिय बन्धु ! आज तिमिले जो लेखका खातिर
लेख्यौ सा–दर पत्र, त्यो सब पढें केही झुकाई शिर ।
ठेगानातिर हेरदा नयनमा देखा पर्यो ‘पोखरा’
जो देख्दा मनमा मिहीं स्मरणका लाखौं फुटे आँकुरा ।।

पैह्ला अङ्कुरमा हिमाल हँसिलो अग्लो अगाडी सर्यो-
साथै पर्वत-शृङ्खला विपुल त्यो चौतर्फि देखा पर्यो ।
लंबा संथर फाँट तालहरुको झल्क्यो ठुलो चक्चकी
फेरी त्यो गडुवा, विजेपुर खुदी, सेती बगेकी लुकी ।।

कोठे साँघु, बजारको झिलिमिली, काला उखू, सुन्तला
दोस्रो अङ्कुरमा खचाखच भये ज्यादै मिठा शीतला ।
पैसा ढाँक उखू यतातिर, उता कोरी बढी सुन्तला
त्यो संझी खुशिले रमाउँछ यहाँ यद्यापि मेरो गला ।।

तेस्रो अङ्कुरमा उपस्थित भयो अर्घौं तथा अर्चले
पुर्खाको जसमा थियो जस ठुलो प्रख्यात पाण्डित्यले ।
चौथोमा उभियो पवित्र खरको छानू भयेको घर
आमाको मृदु लालना सुख जहाँ लिन्थं म लोकोत्तर ।।

पाँचौंमा सुकुमार बाल्य वयका साथी सबै देखिये
साना पल्लव तुल्य त्यो बखतमा नाना थरी जो थिये ।
तिन्का साथ डुलेर काफल, तिँदू, ऐसेलु, चुत्रो ‘सब’
टिप्ता जो पुरुषार्थ- गर्व मनमा चढ्थ्यो, कहाँ त्यो अब ।।

छैटौं अङ्कुरमा मिल्यो असजिलो, पाटी धुलौटो, खरी
देखाएर कडा उकुस्मुकुसमा, जर्काउँथ्यो कन्सिरी ।
त्यो आपत्ति सही सुखाखर गरी साह्रा सबै अक्षर
भाषा-श्लोक फलाक्न घोक्न मनले कस्तै गयो कम्मर ।।

सातौं अङ्कुरभित्र अङ्कित भये गङ्गा-गणेश-स्तुति
चण्डी कोश र कौमुदीहरु ममा भर्दै निजी संस्कृति ।
त्यो देखेर भन्यो- कठै !! नवमले “जा राजधानीतिर
बेडा पार हुँदैन अध्ययनको खाली अँगाली घर” ।।

चर्को चक्र घुम्यो शनै: समयको, टाढा भयो अर्चले
प्यारा साथि पनि क्रमैसित सबै संसारदेखी – चले ।
देख्दा यो सब तारतम्य बिधिको धर्कन्छ छाती सब
त्यो जन्मस्थलमा कठै !! म कसरी कैले पुगूँला अब ?

वि.सं. २०२२ / वेणी