निस्तेज – वर्तमान परिप्रेक्षमा -२
वर्तमान परिप्रेक्षमा
अभियुक्त बनेर
कठघरामा
समय उभिएको छ
र फरियादी बनेर
इजलनसमा हाम्रा खुशीहरु
प्रतीक्षामा
निष्पक्ष निसाफको
तराजु हातमा लिएर
निसाफ गर्नेछन्
ढुङ्गाका मूर्तिहरु
र प्रफुल्ल मुद्रामा
घर फिर्नेछन् हाम्रा खुशीहरु
म सशङ्कित छु आज पनि
यस कुरामा ।
हूल बाँधेर
सडकमा असहमतिहरु
हिंड्ने छन् वा छैनन्
रात उषामा सहिद भएपछि
चराहरु खुसियालीमा
गाउनेछन् या छैनन्
नयाँ होइन
इतिहासको घोडा चढेर
विजय जुलुसमा
विजेताहरूले निस्किनु
र एकथरिहरूले
झन्डा बोक्दै
पछि पछि लाग्नु
कनक-कनक को अन्तर
प्रष्ट्याउने छन्
यी फिलुङ्गाहरू
को निस्किन्छ
तपेर झन् प्रभासित हुँदै
र को हुनेछ खरानी
फिलुङ्गाहरू खोल्ने नै छन् पोल ।
हिमपातले
लुटिएका रुखहरू
पातको प्रतिक्षामा
वसन्त कुर्नेछन फेरी फेरी
र मुस्कुराउने छन
फेरी नयाँ खुसीहरू
यामले प्रत्येक हानिको
गर्नेछ क्षतिपूर्ति
र मलाई सिकाउनेछ
पराजय बिर्सेर फेरी जिउने कला
तर अफसोस
मलाई थाहा छ
वसन्तका उपहार अवश्य हुनसक्छन
नयाँ पालुवाहरू
तर हिमपातले लुटेका
ती पातहरू कदापी हुन् सक्दैनन्
यामको क्षतिपूर्ति।
र वर्तमान परिप्रेक्षमा
जलेरुहरू जाल बुन्दैछन
स्थिर तलाउ बाहिर
र तलाउ भित्र
ठुलो षड्यन्त्रबाट बेखबर
माछाहरूको वस्तीमा उत्सव चलेका बखत
बल्छीहरू तिखारिंदैछन्
र तिखारिंदैछन् भालाहरू
रातारात उमारिंदैछन
झुट्ठा साक्षीहरू
खेलाची बन्नेछन इजलासहरू
तर नियम सङ्गत नै हुनेछ
प्रत्येक कुरा
र वर्तमान परिप्रेक्षमा
मैले सिकेको छैन
नियम हरु भङ्ग गर्ने कला
र माछाहरूले सिकेका छैनन्
जालहरु काट्ने विज्ञान ।
म कायर हुन सक्छु
या लो लाचार
र तोड्न सक्दिन नियमहरू !
या म प्रभावित छु
कुनै तथाकथित शाश्वत ज्ञानबाट
जुन लेखिएको हुनसक्छ
बाक्ला- बाक्ला किताबहरूमा
र कसरी असत्य हुन् सक्लान
किताबहरूका नियम सङ्गत कुराहरू ?
मेरो मस्तिष्क
डसेको छ
किताबहरूको भूतले
मलाइ विश्वास छैन
रत्तिभर पनि आफुमा
म किताब हरूको दासताले
आज पूर्णरुपेण निकम्मा भएको छु
र किताबहरू लेखिएका छन्
सफल पर्न अभूतपूर्व षड्यन्त्रहरू ।
सपनाहरूको हाटमा
सजाइएका झुठा सपनाहरू
हरेक सपनाको यौटा ब्राण्ड छ
र त्यस ब्राण्ड को यौटा विज्ञापन
कर्पोरेट सपनाहरू
ओझेलमा पार्छन
हाम्रा अक्षुण्ण काँचा र अप्रशोधित सपनाहरू
यी किताबहरू
विभेद उत्पन्न गराउँदैछन्
सपनाहरूमा
म हेर्दैछु
हातका रेखाहरूमा
मेरा सपनाहरू
हाटमा पनि छैनन्
र हातमा पनि छैनन् ।
वर्तमान परिप्रेक्षमा
बजारमा
चोकहरूमा
साईबर क्याफेहरूमा
अखबारका पानाहरूमा
भेउ खोज्दै
नाली बेली सोध्दै
शब्दहरू निस्केकाछन्
नयाँ अर्थको खोजीमा
नयाँ परिभाषाहरूको खोजीमा
अर्थहीन / परिभाषाहीन
कति बस्न सक्छन शब्दहरू
र म महसुस गर्दैछु
वर्तमान परिप्रेक्षमा
मेरो चेतना जागृत भएझैं छ
मलाई आभाष हुँदैछ नयाँ अर्थको खोजीमा
नयाँ परिभाषाहरूको खोजीमा
अर्थहीन / परिभाषाहीन
कति बस्न सक्छन शब्दहरू
र म महसुस गर्दैछु
वर्तमान परिप्रेक्षमा
मेरो चेतना जागृत भएझैं छ
र मलाइ आभास हुँदैछ
बक्ला-बक्ला किताबहरूमा
लिपिबद्ध यी सत्यहरू
यी कथित सत्यहरू
कुनै औधी चकचके बलकले
पिसाप फेर्दै
भित्तामा बनाएका
अश्लील आकृति झैं
मेरो भाषामा
पहिलो पल्ट हराएको छ
शीष्टताको आवरण
र म निरावृत छु
र म महसुस गर्दैछु आफुलाई
अभूतपूर्व शक्तिशाली
र सत्य
र निरावृत
वर्तमान परिप्रेक्षमा।
बैतडी,हाल: धनगढी
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.