नरनाथ लुइँटेल – पिण्ड पायौ त ?
पढ्दै गएँ माक्र्सवादी साहित्यका कुरा
उन्कै भोगाइले काटे अध्यात्मका जरा
तिनै जरा समातेर तर्क गर्थें कैले
उनी हार्थिन् मजैसँग जितिदिन्थेँ मैले !
“पढेका छौ, बुझेका छौ, हामीभन्दा धेर
संस्कार र रीतिथिति तिमी आफैँ फेर
ज्ञान सिकी जीवनमा लागु गर्नुपर्छ”
भन्थिन् उनी “उम्रिन ता केही छर्नुपर्छ !
विचारका नयाँ बिउ तिमी छर छोरा
ठिँगुरिँदै जान्छन् पक्कै संस्कारका जरा
नझुक है कैल्यै तिमी आफ्नो आस्थासँग
जबरजस्ती नगरिद्यौ मेरो आस्था भङ्ग !”
उन्को यस्तो सोचाइ नै मेरो दर्शन बन्यो
सहिष्णुता सदाचारको मूलबाटो खन्यो
ठूलीभित्र बग्थ्यो सँधै संस्कारको खून
म चैँ फेरि कस्सिएथेँ रुढीबूढी धून !
कैल्यै ठेस लगाइनन् मेरो आस्थामाथि
मैले दोष लगाइन उनको आस्थामाथि
ठूली गर्थिन् पूजा वर्त सामान जुटाइदिन्थेँ
तीर्थ धाम जान्थिन् उनी खर्च पठाइदिन्थेँ !
मृत्यूसंस्कार बारे पनि कुरा गथ्र्यौं हामी
भ्रम हो भन्थेँ म ता तर आस्था मान्थ्यौ तिमी
“छोरा तिम्रो आस्था पनि बलियो छ भने
क्रिया–काज नगर भो, पिण्ड–पानी दिने !”
खोजिपस पाइन्न है भेट्न सितिमिति
कुन आमाले दिन्छन् होला यस्तो अनुमति
मलाई लाग्छ हारेँ मैले, भयो उन्कै जीत
उदार र महान्ताको गाउँछु उन्कै गीत !
धर्तीका ए आमा कुट्ने नालायक छोरा
बाँच्दासम्म राख्छौ जसले खानै नदिएर
धिक्कार छ, ढोँग तिम्रो कपाल खौरी हिन्छौ
मरेपछि पाउँदिनन् किन पिण्ड दिन्छौ ?
बाँचुञ्जेल आदर र माया स्याँहारेर
मन खुशी केमा हुन्छ सबै विचारेर
जीवन्दाता आमा नै हुन् सँधै सेवा गरौँ
ढोँग रची श्राद्ध हैन श्रद्धा गर्ने गरौँ !
आमा तिमी दुवै थियौ मेरा घाम जून
हृदयमा जतनसँग राखिदिन्छु गुन
गुन बैगुन अमरता, मान्छे अमर हैन
देखी स्वर्ग कोही पनि फर्किएको छैन !
यता दान गर्दा न त उता पुग्छ कुनै
विज्ञानले न त पुष्टि गरेको छ कुनै
चढाएथेँ फूल मैले के शिरमा लायौ ?
दाजुभाइले पिण्ड दिए के तिमीले पायौ ?
छानीछानी राम्रा–राम्रा चोला अनि सारी
लाउने भए पठाइदिन्थेँ गुण्टा कसी भारी
उठ्छन् मेरो कल्पनामा पानीका यी फोका
खानेभए बटुल्थेँ म फलफूलका डोका !
मलाई थाहा थियो तिमी के मान्दथ्यौ मिठो
पठाइदिन्थेँ बोरा बोरा मकै च्याँख्ला पिठो
पाउने भए यो धर्तीका चिज दिन्थेँ सबै
आफैँलाई नाङ्गो पारी सुम्पिदिन्थेँ सबै !
व्यर्थ अब तिमीलाई केही चाहिँदैन
यता जति थुप्रे पनि त्यता पाइँदैन
फेर्न सकेनछु मैले मेरै घर आज
गरिरेछन् कर्मकाण्ड भन्दै लोकलाज !
डो¥याउँदै छौ त तिमी वैतर्नीको गाई ?
बिरामी थ्यौ घाँस काट्न भन्यौ कसलाई ?
यी त सबै भन्ने मात्र संस्कारका बोट
उग्राएर बसेको छ गाई यहीँ, गोठ !
तिमीलाई अर्पेको त्यो पिण्ड, खलानमा
सुनाइरेछन् गरुडको पुराण दलानमा
खरानी नै बगिसक्यो अब कता झार्ने ?
मरिसक्यो मानिस जो अब कता तार्ने ?
मान्छे आफैँ इश्वर हो, खोज्छौ अन्ततिर
विज्ञानले नभेटेको कुन बस्तु छ र ?
मर्ने मान्छे कहाँ जान्छ भेटिँदैन किन ?
प्राण यतै घुम्छ भने देखिँदैन किन ?
मानिसले टेकिसक्यो ग्रह अनि तारा
चेतनाको भुङ्ग्रो छोप्ने अन्ध–परम्परा
शताब्दीका थोत्रा थाङ्ना लगाएर आगो
त्यसैमाथि खरानीमा खेल्न मन लाग्यो !
मृत्यूपछि जानुपर्ने छैन कुनै ठाउँ
म मर्दा चैँ कर्मकाण्ड विनै मर्न पाउँ
ज्यूँदो छँदै माया खोज्छ मेरो जिन्दगानी
चाहिँदैन मरेपछि मलाई पिण्ड–पानी !
३ भदौ २०६६
(आमाको स्मृत्तिमा रचना गरिएको शोककाव्य ‘ठूली’ बाट एक अंश)
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.
Number of Views for this Poem:3360