मंजुल – त्यो केटो
ती प्रधानाध्यापक
(भैगो, प्रधानाध्यापकको बेइज्जती नगरुँ
प्रधानाध्यापकको गरिमा बोक्न सक्दैन त्यो मान्छे
प्रधानाध्यापक त ती पनि हुन् जसले मलाई
यो कविता लेख्न सक्षम बनाए ।)
त्यस मान्छेले त्यो बालकलाई
आफ्नो हातले समात्न चाह्यो
मुठीभरि पार्न चाह्यो
किचिमिची पारेर पिस्न चाह्यो
त्यस मान्छेले त्यो बालकलाई
आफ्नो हातले समात्न चाह्यो
तर त्यो बालक त्यो बालक मात्र होइन
सडक पनि हो
शहर पनि हो
सम्पूर्ण क्षितिज र विशाल आकाश पनि हो
त्यो मान्छे शहरको सानो घरको एउटा सानो
ईंटालाई त मुठीभरि पार्न सक्दैन
के समात्न सक्छ त्यत्रो विशाल आयतनलाई ?
त्यसकै अगाडि त्यही क्षण
(जब त्यसले केटालाई माखी सम्झेर मिच्न खोजेथ्यो
त्यो केटो फुकेर, फैलेर अरु केटाहरु भयो
सडक भयो
शहर भयो
र आकाश भएर टाँगियो मान्छेहरुको शीरमाथि सगर्व
बहादुरहरु यसरी नै फैलन्छन्
र जुलुस यसरी नै अघि बढ्छ
नारा यसरी नै चर्कन्छ
र त्यो केटो र ऊ जस्तालाई माखा संझेर दबाउन चाहनेहरु
देख्दादेख्दै सबैको अगाडि सडकमा पछारिन्छन्
र माखो बन्छन्
सच्चा विद्यार्थीहरु त्यस्तो स्कूलको खोजीमा हुन्छन्
जहाँ जीवनलाई जीवन जस्तो गरी बाँच्न सिकाइन्छ
मान्छेलाई मान्छे जस्तो गरी बाँच्न सिकाइन्छ
मान्छे र स्वतन्त्रता
के यी दुई कुरा एक अर्काेबाट छुट्ट्याउन सकिन्छ ?
अँध्यारो, केवल अँध्यारोले मात्र मान्छेको
छाँयालाई लुकाउन सक्छ
तर बत्ती बलेपछि हिड्डुल गर्ने मान्छेहरुको
मात्र होइन
निश्चल उभिएका चिजबीजहरुको पनि छायाँ देखिन्छ
मान्छे र उसको छाँया जस्तै हो मान्छे र उसको स्वतन्त्रता
त्यो केटो
जो बाँच्यो मान्छेको हृदयमा
के त्यसलाई किचिमिची पार्न सकिन्छ ?
त्यो केटोलाई मारेर पनि
अब त्यो कुरा प्राप्त गर्न सकिंदैन
मान्छेलाई मार्न सकिन्छ, म मान्छु
तर मान्छेको हृदयलाई मार्न सकिंदैन
मरेर गएका
तर आफ्नो क्रियाकलापमा, कृतिहरुमा र आप्mना
जनताहरुको माझमा
बाँचिरहेकाहरुलाई हेर
जो अमर छ, त्यसलाई किचिमिची पार्न खोज्छ
तुच्छ, मरणशील
एउटा माखो !
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.
Number of Views for this Poem:1901