मन्जु कांचुली – बादलको कोषाणुमा सृष्टिको पुनरावृत्ति
फुलको रुप लिएर एक हुल बादल डाँडा माथि
हाँसोको खित्का र लालसाको रोदन बोक्दै
धरती माथि अविरल सङ्गीत बर्षामा
आफ्नै यात्राभित्र
जीवनगति प्रवाहित भइरहेको होला
जीवनकै पाटापाटामा –
नदीको तटमा, बगैंचाको किनारमा
क्षितिजको डीलमा
जीवनदर्शनको नौलो झङ्कार भएर
पुरानै बर्षा, रुमालले ढाकेको शिरमाथि
अविरल झरी परिरहेको होला
जीवनगतिको पुनरावृत्ति
जीवनचर्याको पुनरावृत्ति
पुनस्मिृतिका पुनरावृत्ति रगतको बोटको
म बसेको ठाउँहरुमा, रुखले छोपिएर, बलेँसीभित्र छोपिएर
मेरो सिर्जना
फेरि तटमा, किनारामा, डीलमा
ताराहरुले घेरिएर, इन्द्रेनीले बेरिएर
चाँदनीको रखवारीमा
जीवनदर्शनको मानसरोवरभित्र
गर्भधारण भइरहेको होला
फेरि बादलको मांसपिण्ड
आकाशको गर्भस्थलका
हाँसो र रोदनको साथ
शैर गर्दै होला, विचरण गर्दै होला
बादलका रेशारेशाको कोषाणु विभाजन भइरहेको होला
छुट्टै अस्तित्वका लागि सृष्टिले धमाधम पुनरावृत्ति गर्दै होला ।
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.