Mani Raj Singh – Chetana Ka Mutthi Haru

मणिराज सिंह – चेतनाका मुट्ठीहरू

निस्तब्ध अँध्यारो परिवेशभित्र
जूनको कलिलो आभा
सुसाइरहेकै थियो
तर आफ्नै परिधिभित्र
आगो सल्काएर
क्षितिजभरि नाङ्गो
आक्रोश छरेपछि
कतै केही चर्केजस्तो
कतै केही भत्केजस्तो
चीत्कारका स्वरहरू
पटक–पटक निस्सासिएर
चौतारीको पिपलमा
पदचापहरू उक्लेपछि
चेतनाका मुट्ठीहरू
हिमालसँग ठोक्किएपछि
निर्दयी मन पनि
चिरा–चिरा पर्दोरहेछ
अभिमानी पहाड पनि
गल्र्याम–गुर्लम ढल्दो रहेछ
निरङ्कुश पर्खाल पनि
अपराधीझैँ रुँदो रहेछ ।

बादल, झरी, बतास
अनिँदो रात अनि धिपधिपे तारासँग
घर, आँगन र फलैंचामा
चिउराझैँ छरिएको स्वाभिमान बोकेर
माथिमाथि आकाशिने चाहनासँग
चुच्चोमा कङ्कालमय वर्तमान च्यापेर
ढुकढुकीमा वासनामय ममता सँगालेर
कल्कलाउँदो, भर्भराउँदो जवानीका रङ्गले
पोटिला, रसिला विहानी सजाउन
चौतारीको पिपलमा
पदचापहरू उक्लेपछि
चेतनाका मुट्ठीहरू
हिमालसँग ठोक्किएपछि
निर्दयी मनपनि ………………।

पाखा, पखेरा र भिरमा पनि फस्टाउँने
पहराको काप कापमा जुर्मुराउँने
विषालु सिस्नुको झ्याङ् ताछेर
अवरुद्ध निकास सफा गर्दा
कुमारी युवतीको भर्भराउँदो जवानी
संक्रमित बस्तीमा फर्फराएको सूचना
उद्घोष गर्न
शान्ति र सद्भावसहित
चौतारीको पिपलमा
पदचापहरू उक्लेपछि
चेतनाका मुट्ठीहरू
हिमालसँग ठोक्किएपछि
निर्दयी मनपनि ……………।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:706

Mani Raj Singh – Das Gaja

मणिराज सिंह – दसगजा
(असोज मधुपर्क, २०६८)

मेरो खेतको आली मुन्तिर
मेरो स्वाभिमानको प्रतीक
शिर ठाडो पारी
निर्भिक उभिरहेको दसगजा
हिजो मात्रै
वर्षमा भिजेर हो कि
शत्रुले खोस्रेर हो
गल्र्याम्म गुर्लुम ढलेको
सपना देखेँ मैले ।
जसरी,
सूर्यको अनुहारमा
कालो दलेर राहुले
सम्पूर्ण बस्तीमा
अँध्यारो छायाँ फिँजाएर
निर्दोष मनहरूमा
सुनामी भित्र्याउने प्रयत्न गर्छ
त्यसरी नै,
हँसिलो भविष्य लेख्न
समयको क्यानभासमा
घामका कुचीहरूले
नयाँनयाँ रङ्गहरू छरेर
मलीन मुहारमा
खुसीका सपना कोर्दा कस्तो होला
बलियो जग हालेर
एउटा दसगजा थप्दा कस्तो होला !

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:706

Mani Raj Singh – Shahar

मणिराज सिंह – शहर

जताततै झिङ्गै झिङ्गा भन्किरहने
भित्रभित्रै धमिराले खाएर
आत्मग्लानीको ओढ्नेले मुख छोपेर
अग्निदहमा जलिरहेको
यो शहर
कंक्रिटको महलै महलको थुप्रोमा
कति समृद्ध
कति सुन्दर
र कति भव्य देखिन्छ ।

हृदयका भित्री सुन्दुकमा
उम्लिरहेको पानीझैँ
भँुवरी र सुनामीका भेलहरूमा
प्रवृत्ति र दृष्प्रवृत्तिले चिरा–चिरा परेर
एक मुठी हावा
र एक घुट्को पानी नपाएर
काकाकूलझैँ भौतारिदै
आत्मग्लानीले छट्पटाइरहेछ
भतभत पोलिरहेछ
इटाभट्टीको रापमा
अधकल्चा सपनाहरू काखी च्याप्दै
लथालिङ्ग जिजीविषा गाउँदै
छल कपटको बिकृतिले रङबङ्गिएर ।

पटक पटक भाँसिरहेछ
बेथितिहरूको अन्धकारमा
लाटोकोसेरोझैँ पखेटा फटफटाएर
लोडसेडिङ्को मारमा पिल्सिएर
फोहोर पानीमा डुबुल्की मार्दै
छताछुल्ल पोखिरहन्छ
शोकमा डुबिरहन्छ
भोकमा हराइरहन्छ ।

यो शहर
बनावटी लालसा छर्दै
इन्द्रेणीझैँ मुस्कुराइरहन्छ
रित्याएर आफैँलाई
प्रत्येक क्षण अग्लिरहन्छ
अभावैअभावले भत्किएर
लड्छ र उठ्छ पटक–पटक
मातेर वेस्सरी
आँधिवेरीको मुस्लोमा
रिस, राग र ईष्र्या देखाउँदै
विसङ्गति र व्यभिचारको पसल थापेर
आँगन, चोक र गल्लीहरूमा
निस्फिीक्री निदाइरहन्छ
फुस्रोधुस्रो अनुहार टाँसेर
रगतको छालमा नुहाइरहन्छ
निरासा, आक्रोस र असन्तुष्टीको
पर्खाल ठड्याएर
हड्ताल र जुलुशहरू जन्माइरहन्छ ।