‘यो टाढा परदेशबाट घरमा चाँडै तिमी जाउली
डोर्याईकन शान्ति कान्ति सुखले बा’लाइ देखाउली
पाहाडी चिडिया उडी रहरको पहाडमै जाउली’
भन्दैमा सखि ! गैसक्यौ, अब कहाँ के गर्न हे पाउली
साँचेको किन त्यत्ति मात्र रुपियाँ आफ्नै लुकाईकन
के के गर्न थियो, गयौ नि ! मनको धोको नफोईकन
चौतारी म बनाइदिन्छु त्यसले संसारको मार्गमा
फोई बन्धन गुप्त त्यो रहरको, जाऊ सखी ! स्वर्गमा
अर्काको नझुकी अगाडि घरको मर्का लुकायौ कति
तिम्रो धैर्य र मुस्कुराहट मिली गर्दै गएँ उन्नति
मेरो आज फल्यो कमाइ, तर हा ! तिम्रो ढल्यो देह यो
हे मेरी सखि ! दुःखको समयकी, छोडी गयौ खोप यो
लक्ष्मी भै धनधान्यपूर्ण घरमा बस्नै तिमी पाइनौ
हुर्काईकन लालबाल सुखले जानै तिमी पाइनौ
लाऊँ लाउँ र खाउँ खाउँ वयमै आफू कसोरी गयौ
बन्दैमा कति हाइ हाइ सबकी, सारा रुलाई गयौ
तिम्रो बाइस वर्षको रहर यो बोल्ने सखी बाँकि छन्
छातीको दश धार प्यार पिउने छोरी दुवै बाँकि छन्
यो तिम्रो म छु, चित्तभित्र प्रतिमा तिम्रो अझै बाँकि छ
छैनौ किन्तु तिमी ! यहाँ हृदयको तिम्रो सबै बाँकि छ
मान्छे जन्मिन आउलान् तर तिमी रानी कहाँ पाउँला
त्यो बान्की अनुहारको, नजरको पानी कहाँ पाउँला
मान्छेमा छलले छिपीकन तिमी छाया पनी पाउँला
त्यो बानी, दिल त्यो, त्यही किसिमको माया कहाँ पाउँला
सानो मानिसलाई भूमितलमा हुर्काइदिन्छौ किन
सानो त्यो दिलभित्र विश्वभरिको माया बसाल्छौ किन
लैजान्छौ नि ! उमेरमै रहर त्यो पुग्नै नपाई किन
लैजान्छौ वरदान फेरि भगवन ! भोग्नै नपाई किन
छातीलाई फुलाउने कुसुम यी फुस्की कहाँ झर्दछन्
टाढा टेक्न उचालिने चरण यी खुस्की कहाँ पर्दछन्
मान्छे हिँड्दछ सुख्ख खोज्न, कसरी त्यो दुखःमै पर्दछ
आत्मा आउँछ हाँस्नलाइ, कसरी रोएर त्यो मर्दछ
वैली यो मधुमास जान्छ, बिउँझी क्वैली जसै बोल्दछ
उड्छन् बादलमा भुवा, सिमलले कोया जसै खोल्दछ
ब्यूँझी जीवन, घाम जूनमनि यो केही फुकेको मन
फुस्काई कसले लग्यो कुन दिशा, मेरी कहाँ छौ ? भन
छोई भूतललाइ इन्द्रधनुले लाखौँ सिँगारे पनि
रातीका सपना बिहान बिउँझी साँचा बनाए पनि
मान्छेलाइ मिले पनी अजमरी खोजेर सञ्जिवनी
फर्कन्नौ यस लोकमा, जुन गयो यो गैगयो जीवनी
गैह्री खेत ! फलेर धान नझुला बाला सुनौला तल
टुप्पाबाट लदाबदी नफलिदे वैशाखको काफल
आउन्नन् वनभात खान वनकी रानी छहारीमनि
नाघी पर्वत स्वर्गमा गइसकिन् आनन्दकी इन्द्र्रिनी
बेहानीपख उठ्तिनन् अब उनी आई नबोला चरी !
टाढा देवलमा नबज्न शहना ! नाना बिलौना गरी
कल्ले हेर्छ र झुल्किएर चुचुरा पाखा सिँगार्छन् रवि
छन् खुल्ला अब रुप रङ्ग रमिता उल्लास छाया–छवि
डालाबाट नबोल कोइलि ! झुली, वैलिन्छ रे यो वन
काला केश नबाट है युवति हो ! फुस्कन्छ रे जीवन
यात्री आखिर जान्छ रे नगर है यो मार्गमा पीरती
देवी स्वर्ग गईसकिन् नगर है यो साँझमा आरती !
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.