Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 010 – Laun Laun Ra Khaun Khaun Baya Mai

‘यो टाढा परदेशबाट घरमा चाँडै तिमी जाउली
डोर्याईकन शान्ति कान्ति सुखले बा’लाइ देखाउली
पाहाडी चिडिया उडी रहरको पहाडमै जाउली’
भन्दैमा सखि ! गैसक्यौ, अब कहाँ के गर्न हे पाउली

साँचेको किन त्यत्ति मात्र रुपियाँ आफ्नै लुकाईकन
के के गर्न थियो, गयौ नि ! मनको धोको नफोईकन
चौतारी म बनाइदिन्छु त्यसले संसारको मार्गमा
फोई बन्धन गुप्त त्यो रहरको, जाऊ सखी ! स्वर्गमा

अर्काको नझुकी अगाडि घरको मर्का लुकायौ कति
तिम्रो धैर्य र मुस्कुराहट मिली गर्दै गएँ उन्नति
मेरो आज फल्यो कमाइ, तर हा ! तिम्रो ढल्यो देह यो
हे मेरी सखि ! दुःखको समयकी, छोडी गयौ खोप यो

लक्ष्मी भै धनधान्यपूर्ण घरमा बस्नै तिमी पाइनौ
हुर्काईकन लालबाल सुखले जानै तिमी पाइनौ
लाऊँ लाउँ र खाउँ खाउँ वयमै आफू कसोरी गयौ
बन्दैमा कति हाइ हाइ सबकी, सारा रुलाई गयौ

तिम्रो बाइस वर्षको रहर यो बोल्ने सखी बाँकि छन्
छातीको दश धार प्यार पिउने छोरी दुवै बाँकि छन्
यो तिम्रो म छु, चित्तभित्र प्रतिमा तिम्रो अझै बाँकि छ
छैनौ किन्तु तिमी ! यहाँ हृदयको तिम्रो सबै बाँकि छ

मान्छे जन्मिन आउलान् तर तिमी रानी कहाँ पाउँला
त्यो बान्की अनुहारको, नजरको पानी कहाँ पाउँला
मान्छेमा छलले छिपीकन तिमी छाया पनी पाउँला
त्यो बानी, दिल त्यो, त्यही किसिमको माया कहाँ पाउँला

सानो मानिसलाई भूमितलमा हुर्काइदिन्छौ किन
सानो त्यो दिलभित्र विश्वभरिको माया बसाल्छौ किन
लैजान्छौ नि ! उमेरमै रहर त्यो पुग्नै नपाई किन
लैजान्छौ वरदान फेरि भगवन ! भोग्नै नपाई किन

छातीलाई फुलाउने कुसुम यी फुस्की कहाँ झर्दछन्
टाढा टेक्न उचालिने चरण यी खुस्की कहाँ पर्दछन्
मान्छे हिँड्दछ सुख्ख खोज्न, कसरी त्यो दुखःमै पर्दछ

आत्मा आउँछ हाँस्नलाइ, कसरी रोएर त्यो मर्दछ

वैली यो मधुमास जान्छ, बिउँझी क्वैली जसै बोल्दछ
उड्छन् बादलमा भुवा, सिमलले कोया जसै खोल्दछ
ब्यूँझी जीवन, घाम जूनमनि यो केही फुकेको मन
फुस्काई कसले लग्यो कुन दिशा, मेरी कहाँ छौ ? भन

छोई भूतललाइ इन्द्रधनुले लाखौँ सिँगारे पनि
रातीका सपना बिहान बिउँझी साँचा बनाए पनि
मान्छेलाइ मिले पनी अजमरी खोजेर सञ्जिवनी
फर्कन्नौ यस लोकमा, जुन गयो यो गैगयो जीवनी

गैह्री खेत ! फलेर धान नझुला बाला सुनौला तल
टुप्पाबाट लदाबदी नफलिदे वैशाखको काफल
आउन्नन् वनभात खान वनकी रानी छहारीमनि
नाघी पर्वत स्वर्गमा गइसकिन् आनन्दकी इन्द्र्रिनी

बेहानीपख उठ्तिनन् अब उनी आई नबोला चरी !
टाढा देवलमा नबज्न शहना ! नाना बिलौना गरी
कल्ले हेर्छ र झुल्किएर चुचुरा पाखा सिँगार्छन् रवि
छन् खुल्ला अब रुप रङ्ग रमिता उल्लास छाया–छवि

डालाबाट नबोल कोइलि ! झुली, वैलिन्छ रे यो वन
काला केश नबाट है युवति हो ! फुस्कन्छ रे जीवन
यात्री आखिर जान्छ रे नगर है यो मार्गमा पीरती
देवी स्वर्ग गईसकिन् नगर है यो साँझमा आरती !

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:5798

Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 012 – Manchhe Ho Yinlaai Pyar Gara Hai

खेल्दै शान्ति र कान्ति खाटनजिकै आई बसेका थिए
हेरी यी अनजानलाइ उनका आँसू खसेका थिए
बिस्तारै शिरमा मुसारि यिनको, केही नबोली गइन्
हाली आशिक बिन्दु बिन्दु गहको आँसू खसाली गइन्

गाईलाइ लग्यो नि ! आज कसले बाच्छो छुटाईकन
पोथी पाश परी मरी नि ! गुँडका बच्चा नहुर्कीकन
के हेछ्र्यौ यतिको बिजोग, धरती माता ! तिमी फाट हे
आमा बालककी नमार भगवन् ! संसार भर्ने भए

हेर्छे शान्ति यताउती घरभरी आमा कतै देख्तिन
हेर्छे फेरि मलाइ खालि मुखमा केही पनी बोल्दिन
‘आमा ख्वै ?’ भनि वेगले हृदयमा टाँसेर रोऊँ कि म
अज्ञानी वय चारकी छ, टुहुरी पा¥यौ विधाता, किन !

आमालाइ रुँगेर कान्ति दिलको संसार जो घेर्दथी
आधा दूध चुसेर फेरि मुखमा हाँसेर जो हेर्दथी
सुत्छे आज रुँदारुँदै हृदयमै थाकेर औँलो चुसी
मेरो झस्किरहेछ हेर, मुटुको टुक्रा ! भुईँमा खसी

मेरा चञ्चल शान्ति कान्ति सुखले नाना र चाचा भनी
खेल्थे खलबल गर्दथे घरभरी रुन्थे फुलिन्थे अनि
यी हाँस्थे जब फुल झैँ नजरको आँसू नसुक्तै पनि
ती धुन्थिन् दुधले मुहार यिनको त्यै आँसु पुछ्दै अनि

पाक्यो भात भनेर शान्ति उनकै सन्देश ली आउँथी
अड्डाबाट म फर्किएँ कि उनकै जाली कुरा लाउँथी
खाई म्वइ नचाइ कान्ति सुखले भन्थिन् मलाई उनी
‘यस्तै सानु सधैँभरी रहिरहे कस्तो हुँदो हो !’ भनी

ती देखाउँदथिन् मलाइ, कतिकी राम्री छ सानी भनी
ती गर्थिन् मनभित्र गर्व, बहुतै बाठी छ ठूली भनी
ती भन्थिन् कहिले त्यसै हजुरकी छोरी छ छुच्ची भनी
ती रुन्थिन्, यिनलाइ व्यर्थ अरुले हेलाँ गरे रे भनी

त्यो श्रृङ्गार र त्यो सुसार त्यो आधार सारा गए
आमा भन्नु गइन्, गयो हृदयको शोभा अँध्यारा भए

धूलामाथि बसेर काख उनकै ढुक्छन् यहाँ केवल
कुदछन् त्यै ममता र प्यार, कहिल्यै मेटिन्न है तल्तल

यी रोए पनि दुःख लाग्छ– यिनले सम्झे कि आमा भनी
यी हाँसे पनि सुक्ख छैन– यिनले बिर्से नि आमा भनी
को हेर्ला अब हर्षसाथ– यिनले हुर्केर खेले पनि
फाटी मर्नु छ, पीर लाग्छ– यिनले फुर्की नखेले पनि

सानीलाइ फुल्याउँला कति यहाँ औँलो चुसाईकन
ठूलीलाइ भुलाउँला कति यहाँ आँसू लुकाईकन
आफैँ यो सब वज्रपात यिनले बुझ्लान् जसै आखिर
रोऔँला अनि एक रात सँगमा हेरेर तारातिर

यो लाम्चो भरिलो मुहार, उनकै बान्की छ यो कान्तिमा
चाँडै नै रिस उठ्छ मर्छ, उनकै बानी छ यो शान्तिमा
छन् छोरीहरू गैसके पनि उनी, छाया यहाँ हेर्दछु
यी दोस्रा अवतार हुन् र उनको माया यहीँ गर्दछु

धोको क्यै यिनको पु¥याउँन भनी हिँड्दा कहीँ जोशमा
मैले भूल गरेँ भने भुवनका भाई ! गरे है क्षमा
केही गर्न नपाउँदै मरिगएँ आफैँ भने आखिर
खोजी यी टुहुरा, दयालु दुनियाँ, केही गरे है भर !

बेहानै यिनलाइ एक चिडिया आएर बोलाउँछिन्
बारीमा यिनलाइ एक पुतली आएर खेलाउँछिन्
छाया एक सँगै रहेर यिनको रक्षा सधैँ गर्दछिन्
मान्छे हो ! यिनलाइ प्यार गर है तारा कुनै हेर्दछिन्

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:5798

Madhav Prasad Ghimire – Gauri Khanda Kavya – 002 – Hey Narayan Ke Bhayo

पानी सिमसिम बर्सिएर सकियो आषाढको रातमा
निस्के झिम्झिम ज्योतिमा जुनकिरी ओस्याइला फाँटमा
फारी बादल शैलको शिखरमा तारा उदाइन् अब
आई विष्णुमती–पवित्र तटमा मेरी निदाइन् अब

कस्तो शान्ति छ – रातको पहरा रातै घुसको सरि
रोकि श्वास मसानमा छ शिवको छाया बसेको सरि
गङ्गा खालि सुसाउँछिन् बगरमा नाना बिलौना गरी
टाढा रोइरहेछ एक बटुवा साथी छुटेको सरि

मान्छे हो, अहिल्यै अमङ्गल अहो ! भन्छौ मलाई किन
यै कालो निशिमा छिपाइ मुख यो देओ मलाई रुन
हे नारायण के भयो ! जुन कुरा भन्थेँ नहोस्, त्यै भयो
छैनौ हे सँगिनी ! तिमी कि अहिले संसार नै छैन यो !

बेहानीपख जो उठेर बटुवा चल्छन्, तिमी चल्दिनौ
यत्रो खल्बलपूर्ण भूमितलमा खाली तिमी बोल्दिनौ
धारामा जल जो भरेर युवती हाँस्छन् तिमी हाँस्तिनौ
तिम्रै मात्र भयो र के ? सब जना बाँच्छन् तिमी बाँच्दिनौ

हे गौरी ! अब हेर्दिनौ हकि तिमी ब्यूँझी उज्यालो दिन
मैले देख्नुपर्यो नि आज भुइँमा मेरी नभा’को दिन
बाँचेरै यतिसम्म, एक छिनमै के जिन्दगी सिद्धियो
मेला आज उठ्यो विशाल उनका लेखा जगत् सिद्धियो

तिम्रो अन्तिमको शिँगार सँगिनी ! कात्रो कसोरी भनूँ
तिम्रो निम्ति दिइन्छ पात्र जुन त्यो ‘टीलो’ कसोरी भनूँ
गाली होइन, किन्तु भन्नु कसरी यो अन्न बुर्की भनी
मुर्दानीर्, कसरी भनूँ, जुन तिमी मेरी थियौ जीवनी

यत्रो लोक कहाँ गयो, जब तिमी एक्लै गयौ घाटमा
चिम्ल्यौ लोचन अन्धकारबिचमा आषाढको रातमा
के भो लोक चिनेर, फेरि ममता मेरो लिएरै पनि
हा अज्ञान, अभाव, भूलहरुमा तिम्रो गयो जीवनी !

अउन्नन् अब हे नहेर, चुचुरा ! गौरी पखेरामनि
गाउन्नन् अब गाउँका युवति हो ! गौरी छहारीमनि
बर्सी जा र पहाडमा खबर यो लैजा रुँदै बादल
घर्पेटी ! अब शान्तिलाई भनिद्यौ– आमा गइन् मावल !

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:5798