Kumar Simkhada – Raati Uthne Gaun

कुमार सिंखडा – राति उठ्ने गाउँ

घाम डुब्छ क्षितिजपारि उठ्न थाल्छन् आत्माहरू
एकै रातलाई फेरि जीवन बोकी
अशान्तिमा कुञ्जिएका, सबका अघि सुलिएका
रहस्यमै लुकाइएर कालन्तरमा भुलिएका
बन्द ढोका झ्यालहरू खोली

गाउँछन् एकै स्वरमा धुरीधुरीबाट
बरिलैलैलै बरिलैलैलै बरिलै
आफ्नो आवाज पहिचान खोजी
बरिलैलैलै बरिलैलैलै बरिलै

मिरमिरेमा पानी भर्न आइमाईको लहर
त्यै हुलमा मिसिनलाई बांगिनीको रहर
आफ्नो पिंढी नपोतेको वर्षौं भएछ नि
कुरिरा’छन् बालबच्चा लोग्ने घरमा पानी
पँधेरीमै गाडिएका, संगीबाट छाडिएका
बाँच्ने रहर हुँदाहुँदै जीवनबाट टाढिएका
रुन्छन् सँगसँगै डाँको छोडी

गाउँछन् एकै स्वरमा धुरीधुरीबाट
बरिलैलैलै बरिलैलैलै बरिलै
आफ्नो आवाज पहिचान खोजी
बरिलैलैलै बरिलैलैलै बरिलै

झरी झरी साउनझरी पाँचभाइलाई पीर
सिम्ले खेतमा खोला पस्ला, बास खोलैतिर
जुगौंदेखि बाँचिआए यही खेतको भरमा
यो नभए एकै गेडी अन्न हुन्न घरमा
खोलाखोलै बगिएका, पहिरोभित्र पुरिएका
अरुलाई जोगाऊँ भन्दा आफूआफैं लुटिएका
आफ्नो जीवनको अर्थ खोजी

गाउँछन् एकै स्वरमा धुरीधुरीबाट
बरिलैलैलै बरिलैलैलै बरिलै
आफ्नो आवाज पहिचान खोजी
बरिलैलैलै बरिलैलैलै बरिलै

कोही भन्छन् किचकन्नी छन् कोही भन्छन् राँके
यो गाउँभरि भूतप्रेत बस्छन्
कोही गाउँछन् हावासँगै कोही एक्लै नाच्छन्
अन्धकारमै भए पनि केही प्रहर बाँच्छन्
आफ्ना रहर इच्छाहरू सम्झी

गाउँछन् एकै स्वरमा धुरीधुरीबाट
बरिलैलैलै बरिलैलैलै बरिलै
आफ्नो आवाज पहिचान खोजी
बरिलैलैलै बरिलैलैलै बरिलै

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2215

Kumar Simkhada – Kalle Bhanchha Sani Timro Khera Go Jawani

कुमार सिंखडा – कल्ले भन्छ सानी तिम्रो खेर गो जवानी

काँडा नहुँदा फूल ठुँग्न चुच्चेहरुको ताँती
चर्क्यो छाती छड्क्यो मुटु तरङ् नानाभाँती
पीडा होला आँसु होला यही हो जिन्दगानी
कल्ले भन्छ सानी तिम्रो खेर गो जवानी

आसा थियो रहर जोश माया बुन्नु थियो
इन्द्रधनुष संसार जोड्ने हात जोडी थियो
मायाको घर जगमै फुट्यो छातीभरि भाला
च्यातिएको मन सिउने पाइनौ झुम्रो टाला
काल फिरे साल फिरे मन फिर्ला सानी
कल्ले भन्छ सानी तिम्रो खेर गो जवानी

लुक्यो घाम हाँगा झुक्यो सुनसान वनपाखा
एकनास बजिरह्यो पिरतीको भाखा
रात रहे अग्रासै हो, फिर्ला अरु गीत
रोदीघरको दोहोरीमा गाए संगीसित
घाउ सुकी खाटा लाग्ला भुल्ने सबको बानी
कल्ले भन्छ सानी तिम्रो खेर गो जवानी

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2215

Kumar Simkhada – Teej Ki Badhu (Nepali Gajal)

कुमार सिंखडा – तीजकी बधु (गजल)

आफ्नै आँगन डिल पनि आफ्नो हैन अर्को लाग्यो
कौवा केही बोल्न खोज्यो, न्यास्रो हैन झर्को लाग्यो।

आवाजहरु आज नौलो मिरमिरेको पँधेरीमा
बधुसंगी कुर्दै थिएँ चेलीबेटीको लर्को लाग्यो।

भोको पेटमै मेला भर्दा नि, थाक्ने हैनन् मैयाँहरु
रातो सारी, रातो चोली, गाना बजाना झर्को लाग्यो।

घरमै बने व्यञ्जनहरु, भान्सा बस्यो अबेरसम्म
खान बसें दरको पुरा, नूनको मात्रा चर्को लाग्यो।

हिक्का छुट्यो बाडुलीको, लोटाउँदा मझेरीमै
मैयाँजीले दिइन् पानी पिउन खोज्दा सर्को लाग्यो।

सापट पनि तिर्नुथियो, मनको कुरा पोख्नु थियो
भेट्नुथियो चमेलीलाई, यसपालीलाई धर्को लाग्यो।