Krishna Sen Ichchhuk – Euta Gaunle Ko Diary

कृष्ण सेन इच्छुक – एउटा गाउँलेको डायरी
(इतिहासको यस घडिमाबाट)

हिजो छिमेक पनि विरानो-विरानो लाग्थ्यो
आज संसारै आफ्नो लाग्छ
हाँस्नुपर्दो रहेछ खुसीले मन
मन हाँसे संसारै हाँस्दो रहेछ
मुटु अब पहिले जसरी दुख्दैन
छाती अब पहिले जस्तो पोल्दैन
गहभित्रै सुकेको पीडाको आँशु
पहिले जसरी अब भक्कानो फुट्दैन
लाग्नुपर्दो रहेछ मनभित्र घाम
संसारै उज्यालो देखिदो रहेछ
दुःखी र गरिबको सुखको दिन ल्याउन
गरिब र दुःखी नै एकजुट भएर लाग्दा
तिनै प्रियजनहरुको सम्झनामा
गाउँको नाम नै
शहीद गाउँ भएको छ ।
र, शहीदहरुको हार्दिक सम्मानमा
निर्माण भएका छन्
असंख्य गेट र स्मारकहरु
डाँडा, थुम्का, लेक र पहाडहरुका नाम
बस्ती, भञ्ज्याङ र चौतारीहरुका नाम
शहीदहरुका नाममा फेरिएका छन्
गाउँ फेरिएको छ
गाउँलेहरु फेरिएका छन्
र, आस्थाको शिखर मन
झन् अग्लो भएर चुलिएको छ ।
बौलाहा हात्तीझैं
धेरैचोटी बौलायो दुश्मन
र, धेरैचोटी गाउँमा आक्रमण गर्यो
कराइरहेको छ धुरीबाट
बैरीहरुको पाप बेसरी
शहीदहरुको रातो रगतले
पापीहरुको घिनलाग्दो चिहान खनेको छ
गाउँमा आउँछन् नयाँ साथीहरु
भेटघाट र कुराकानी गर्छन्
आफन्तले झै सुखदुःख बाँड्छन्
दुःखसुखमा साथ दिन्छन्
सहयोग दिन्छन्/सुरक्षा दिन्छन्
र, घर-घरमा र्सवप्रिय बनेका छन्
आधा दशक
धेरै हण्डर र ठक्कर खायो गाउँले
आधा दशक
धेरै आँधी हुरी र तुफानहरु झेल्यो गाउँले
टिन ठटाएर धपाइएको बाली मास्ने बाँदरहरु जस्तै
भागेर गएका छन्
दुश्मनहरु गाउँबाट अहिले
उठीबास लागेका गाउँलेहरु
फेरी गाउँमा फर्केका छन्
नयाँ दिनको नयाँ घाम उदाएको छ
र, नयाँ हावाको नयाँ लहर
चलिरहेको छ गाउँमा अहिले
महिलाहरु गाउँमा
चुलो चौकोमात्र गर्दैनन् अचेल
केटाकेटीहरु गाउँमा
डण्डीवियो मात्र खेल्दैनन् अचेल
बुढाबुढीहरु गाउँमा
काल पर्खेर मात्र बसिरहँदैनन् अचेल
काललाई समेत जितेर
नयाँ जीवन र नयाँ भविष्यको
सुन्दर अभ्यासमा लागिरहेका छन्
फूलिरहेको गाउँको आँखामा लालुपाते
छातीमा लालीगुराँस फक्रिएको छ
साहसको शस्त्रागारमा
फेरिएको छ संकल्प
विवेकको बारुदखाना सल्किएको छ
महान एकताको विशाल भावले
संकिर्णताको जिर्ण पर्खाल भत्किदै गएको छ
हिजो छिमेक पनि विरानो-विरानो लाग्यो
आज संसारै आफ्नो लाग्छ
हाँस्नु पर्दोरहेछ खुसीले मन
मन हाँसे संसारै हाँस्दोरहेछ
उदाउनु पर्दोरहेछ मनमा चेतनाको घाम
संसारै उज्यालो लाग्दोरहेछ

०५७ कार्तिक १८ राजविराज कारागार
इच्छुक रचनावली (इतिहासको यस घडिमा) बाट

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:5990

Krishna Sen Ichchhuk – Pratibandha

कृष्ण सेन ‘इच्छुक’ – प्रतिबन्ध

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ- गाउन त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौँ ।

हाम्रा विचारमा प्रतिबन्ध लाउँदै
हाम्रा हातहरूमा हत्कडी पहि-याउँदै
तिमी भन्छौ- लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौँ ।

हाम्रा आस्थाहरूमा प्रतिबन्ध लाउँदै
हाम्रा खुट्टाहरूमा नेल भिराउँदै
तिमी भन्छौ- हिँड्न त हिँड
तर यो बाटो नहिँड
हामी भने त्यही बाटो हिँडिरहन्छौँ ।
ओ शासक-प्रशासकहरू !
अस्वीकार्य छ हामीलाई
तिम्रा निरङ्कुश आदेशहरू
तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर
तिमी जतिसुकै जुलुस र उत्पीडनहरू सुरु गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर, ओ तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौँ ।
उठाइरहन्छौँ हामी तिम्रा विरुद्ध सङ्र्घर्षका हातहरू
कसिरहन्छौँ हामी तिम्रा विरुद्ध विद्रोहका मुट्ठीहरू
ओ, अत्याचारका पहरेदारहरू ! अन्तिम जित हाम्रै हो
तिम्रो हारमाथि विजयको झन्डा गाड्दै
हामी भने अथक र अविचल
अन्तिम युद्ध लडिरहन्छौँ ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:5990

Krishna Sen Ichchhuk – Jail

कृष्ण सेन ईच्छुक – जेल

म पर्खालभित्र छु
तिमी पर्खालबाहिर छौ
म पहराभित्र छु, तिमी पहराबाहिर छौ
म यातना–गृहमा छु
तिमी खुल्ला शिविरमा छौ
सिकारीले बाँधेको छाँद होस्
अथवा त्यो उसको फाँद होस्
के फरक पर्‍यो र?
मित्र, अर्काको मुठ्ठीभित्र पराधीन जिन्दगी
जहाँ काटनु परे पनि त्यो जेल हुन्छ।

जहाँ जीवन बन्धनहरूभित्र कैद हुन्छ
जहाँ सुन्दर सपना सधैँ अवैध हुन्छ
जहाँ मुक्त आकाङ्क्षाहरू बन्देज हुन्छन्
जहाँ हार्दिक भावहरूमा ठेस लाग्छ
अनि जहाँ बासी हावा बहने दुर्गन्धमा पनि
निर्धक्क सास फेर्न प्रतिबन्ध हुन्छ
बन्दुकको पहरा होस्
अथवा त्यो कानुनको घेरा होस्
के फरक पर्‍यो र?
मित्र, भयभीत परिवेशमा त्रसित जिन्दगी
जहाँ बाँच्नु परे पनि त्यो जेल हुन्छ।

जहाँ बेला–कुबेला रमन घुमिरहन्छ
जहाँ कारण–अकारण साइरन बजिरहन्छ
सडकमाथि बेलगाम घोडाको टापजस्तै
जहाँ चर्को आवाज गरी मार्च–पास चलिरहन्छ
अनि जहाँ मौसम बेमौसम बारुदहरू गर्जेर
सधैँ रगतको झरी परिरहन्छ
पर्खालभित्र होस्
अथवा त्यो पर्खालबाहिर होस्
के फरक पर्‍यो र?
मित्र, सधैँ छातीमा चाँदमारी थापेको जिन्दगी
जहाँ गुजार्नु परे पनि त्यो जेल हुन्छ।

उही दिन सधैँ, उही रात सधैँ
उही बिहान र साँझ साथ छ
उही स्वप्नभङ्ग विवश जिन्दगी
उही गतिहीन समय साल छ
निकासबिनाको बन्द तालजस्तै
जहाँ गन्दा समाजसाथ अँधेरो बास छ
कुनै अनाम देश होस्
अथवा त्यो प्रिय स्वदेश होस्
के फरक पर्‍यो र?
मित्र, उत्पीडित समाजमा पददलित जिन्दगी
जहाँ बिताउनु परे पनि त्यो जेल हुन्छ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:5990