Krishna Prasai – Pitirahanchha Timro Sahar

कृष्ण प्रसाईं – पिटिरहन्छ तिम्रो सहर

ए, काष्ठमन्डप !
सपना छोडेर विपनामै आजभोलि
किन निर्धात पिटिरहन्छ तिम्रो सहर मलाई
कहिले भीड, भाषण र दाम भएर पिट्छ ।
कहिले नारा, जुलुस र जाम भएर पिट्छ ।
कहिले वेनाम र वेकाम को बन्द भएर पिट्छ ।
पिट्ने अनेक बहाना मात्र खोजिरहन्छ तिम्रो सहर,
चाँहे त्यो पानी र पहाडले होस् ।
चाहे त्यो खोलो र खानीले होस् ।
वा
बिनासित्ति डस्ने उदन्ड बानीले होस् ।
वर्षौदेखि बज्रिरहेछ बज्रपात टाउकामा
गोदिरहेछ गारतका गोलीले झैं

डामिरहेछ तिम्रो सहरले बिना कुनै डर ।
तिम्रो मुटुको मझेरी मानिने
रानीपोखरीको डिलै छेउ उभिएको
त्यो जुँगे बुढाको कुटिल धरोहर
किन, रातभर घुरेर डिस्टर्व गरिरहन्छ मलाई
टुडिखेल भित्रका घोडसवार पूर्व श्री३ हरूको हंशसम्झेर
किन सासन गरिहेछ जङ्गे कानुन अझै,
एकैक्षण भएपनि विश्राम लिए हुन्थ्यो कि ?

तिम्रो सहरका मालीलाई पनि सुत्न दिए हुन्थ्यो कि ?
किन अटेर पहाड झै टस् न मस् भएर
सदियौं देखि तिम्रो घन्टाघर
वेपरवाह घुमाइरहेछ आफ्ना परचक्री पखेटाहरू

समयको लगन मुठ्ठीमा बाँधेर
प्रतिपल घटाइरहेछ हाम्रो आयु ।
एउटै गोलार्धमा फन्को मारिरहने
कामुक वेरोजगार वायुहरू झै
जिस्क्याउँदै रानीपोखरीको नितम्बलाई
किन बेतुक वहकिरहन्छ तिम्रो सहरको सास

पिटिरहन्छ निरन्तर निर्दोष खाल्डोलाई ।
विधिको सासन निषेधित तिम्रो सहरमा
सति समय छादेर
भीमसेन झैं अजङ्ग उभिएको
उन्मत्त धरहराले पनि
किन देखेको होला आफ्ना आँखाले
मात्रै सासकको रगत

किन मैले पनि पढेको होला
त्यै रगतलाई देशको इतिहास भनेर ।
किन मैले नधिक्कारेको होला त्यतिखेरै
त्यो कलंकित कालो कोतलाई

किन नसरापेको होला
ती सत्ता चलाउने सासकलाई,
रगतले लत्पतिएको खुनी सालिकलाई,

निरङ्कुश भारदारी हुकुमलाई ।
कसरी भनौं म
सदियौं पूर्वदेखिको
पीडाको पर्याय बनेको तिम्रो सहरको नियति गाथा

आफूले आफैलाई गरेका आफ्ना गुनासाहरू
अनि कसरी गाली गरौ म आफैलाई
तिम्रै माटोले दिएको ओत ओढेर बसेको म
कसरी सुनाउँ तिमीलाई यसो भनेर कि ,
मलाई यो सहरका —
फूलहरूले पिटिरहेछन् ।
पातहरूले पिटिरहेछ ।
र पिटिरहेछन् ,
बैजयन्ती बतासका
हुलहरूले ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1074

Krishna Prasai – Ma Ra Mero Hatiyar

सृष्टिकर्ताले शुरुवात्बाटै,
केही मिल्दो–
केही बिल्कुलै उल्टो बनोटमा–
म नारी,
र तिमीलाई पुरुषको प्रमाणपत्र दियो।
पुरुष हुनको दुर्भाग्य–
पुरुषार्थहरू कतिखेर नुहिन्छन्–
यो मलाई राम्ररी थाहा छ।
यसर्थ तिमी हुनुका कमजोरीहरू पनि मैले बुझेकी छु।
जसरी,
आदर्श हुनुको बहानामा–
सीता हुनुको नामबाट,
म रामायणकी युद्ध पनि भएँ।
पोथी नाथे भनेर के गर्छौ र?
पाञ्चाली हुनुको प्रतिशोधले–
महाभारतकी विजेता पनि बने।
मेरो इतिहासले त्यही भन्छ―
मेरा स्वार्थका लागि,
विषकन्या हुनुको दाँतहरूबाट–
कैयौं बादशाहहरू डसिएका छन् –
थुप्रै जोइटिङ्ग्रेकी स्वास्नी हेलेनहरूबाट–
धेरै कोतहरू पनि रचिएका छन् –
र निर्दोष मान्छेहरू मारिएर,
सिंगै राष्ट्रहरू रगतले भिजेका छन्।
अनर्थ किन सम्भि्कनु मैले–
क्लियोपेट्राजस्ता पनि मेरा पूर्वजहरू छन्।
कैकेयी जस्ता पनि मेरा अग्रजहरु छन्।
अनि मेरा समुदायमा –
स्वर्गबाट बारम्बार,
धर्तीको तपस्या बिच्क्याउँदै–
कामोत्सव मनाउन हिंड्ने,
कामाग्नि मेनकाहरू पनि छन्–
अथवा आवश्यक ठान्दा,
श्रापैसमेत कस्न सक्ने–
तिमीले वाइफाले भन्ने गरेका
सहस्र उर्वसीहरू पनि छन्
यसर्थ म सगर्व भन्न सक्छु–
मेरा हत्केलामा अहिले पनि सिंगै संसार नाच्न सक्छ।
तिमीले गिल्ला गरेर केही फरक पर्दैन मलाई–
मेरो एउटै ओठको मुस्कान मात्रै–
यथेष्ठ हुन्छ सम्मोहन गर्नमा अहिले पनि,
पर्याप्त बन्दछ जादू भर्नमा अहिले पनि–
अन्यथा मान्नुपर्ने केही छैन,
तिमी पुरुषभन्दा–
जन्मदै अस्त्रले सुसज्जित भएर,
म नारी अन्मनु भनेको–
वरदान हो, आविष्कार हो
मेरो आविस्कारले युद्ध जित्न सक्छ–
यस अर्थमा म,
संसार जित्ने योद्धा पनि हुँ–
म त फेरि पनि भन्छु–
ढाल म स्वयंमा रहेकाले,
तिम्रा सम्पूर्ण क्षेप्यास्त्रहरू ढल्नेछन् मेरो हतियाराका सामु।
यसैले याद राख!
आफ्ना प्रक्षेपणहरूबाट म धर्ती पनि टुक्र्याउन सक्छु।
सबै हतियारहरूभन्दा बलियो हतियार चलाएर,
संसार जुनसुकै बेला ध्वस्त पार्न सक्छु।
संसार जुनसुकै बेला नष्ट पार्न सक्छु।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1074

Krishna Prasai – Dashain

साउने झरीलाई भरखर सुकाएर,
शरद्को न्यानो जूनलाई निम्त्याउँदै-
वर्षदिनको थकाई र सुस्केराहरूलाई,
एकै क्षण भएपनि बाहिर ओकलेर
जमरा र दूबोका सगुनहरूसँगै,
विजया र्सवत्र खुलेकी छन् ।

मुटुभरि माया र आँखाभरि झझल्काहरू समेटेर
भएजति स्नेह जन्मथलोलाई खन्याउँदै,
आर्शिवादका सगरमाथा थाम्ने छाती बोकेर
बाहिर पढ्न निस्केका रामप्रसाद हिजै आएका छन् ।
जागिर भर्न गएका जगन्नाथ पनि भित्रिएका छन् ।
लाहुर लड्न पसेका वीरबहादुर पनि फर्केका छन् ।
पहाडको चौतारी हुनसक्छ
भित्री मधेश वा तर्राईको बिसाउनी हुनसक्छ
जताततै रमाइलोका कथा हालिंदैछन्
जतासुकै पिङ्का र्सकाहरु मच्चिंदैछन् ।

अस्तिसम्म भिर्ने गरेका-
डोको र ढाकरका खर्पनहरूलाई-
हिजैदेखि बाहिर बिसाएर
सन्ते र मसिने
धार्नी र बिसौलीका कुरा गर्छन् ।
झुत्रा-झाम्राको हिजोलाई बिर्सिएर,
नयाँ लुगाहरूमा चञ्चल देखिइँदै,
सुन्तली र सानी कान्छी
चिची र पापाका गफहरू हाल्छन् ।
मोहर र सुकाका रेज्कीहरू गन्छन् ।

घर-घरमा निधारहरू रंगाउँदै,
मोड-मोडमा भीडहरू ओसारेर-
मान्यवरका आर्शिरवादहरू खन्याउँदै,
पोहोरजस्तै खुसीहरू उमारेर
मेरो दशैं तिमी आएका छौ ।
प्रत्येक नेपालीका घर-घरमा,
मेरो पर्व तिमी छाएका छौ,
डेढ कोटिका दुःख-सुखमा ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1074