Khagendra Pandhak Limbu – Pagalbad Bata

खगेन्द्र पन्धाक लिम्बू – पागलवादबाट

मोक्ष
जीवनको गवेषणमा
विपक्व इन्द्रिय,
बेसरम,
बेडर,
बेतुक,
बेफिक्री -
-धित मरुन्जेल हाँस्न
-धित पुगुन्जेल रुन
‘पागलवाद’-मा पुगेर
निरुद्वेगम् रमाउँछ ।
***

काला कर्तुतका
पहाड उक्लेर
विरूपक वेदनाको
सागर तर्दै
पातकत्वको ज्वालामुखी
छातिभरी पाल्दै
मनोगत छटपटीमा
सत्त्व-वासना बहुलाएर
आगो निल्दै
मान्छेत्व जप्दा
जिन्दगीको अर्थ
अवचेतन मस्तिष्कमा
ढक-मक्क फूलेको भेट्छ ।
यहि मानेमा -
सत्यको निम्ति
पागल मर्न डराउँदैन,
मृत्यू पागलसंग हार्छ ।
***

सद्दे हुन खोजेको -मन
बार्दलीको निन्यौरा-फूल
त्यसैले प्रिय लाग्दैनन् ।
*****

ढुङ्गोले किचिएका
दुबोका पहेंला टुसाहरु
घामतिर फर्किएर हाँस्दा
‘पागलवाद’ मुस्कुराउँछ ।
*****

सन्तापबाट
आत्म-हत्या नभोगी
परमसुखको रस्वदान
खुलम-खुल्ला चाख्ने
सफल जीवन-
नाङ्गो -आँखा
नाङ्गो-मन
नाङ्गो-चेतना
नाङ्गो-शरीर
पागलसंग मात्र छ ।
****

अटुट बग्ने नदीहरु..
हिम्मतिला पहाडहरु…
ओजस्वी आकाशहरु..
ठेत्टर पवनहरु…
अर्थात् -
मानिवीय संस्कारमा
केवल मान्छेको निम्ति
हांसी-हांसी मर्ने सहिदहरु
बहुलाहा हुन् ।
पागल हुन् ।
****

साक्षात् मङ्गल
पूर्वबाट झुल्किने लालिमा
भौतिक संसारमा
सत्यव्रत सिधै ठोक्किन्छ ।
प्रकाश छेक्न उभिएका
सचेत तन्नाहरु
किरणलाई पागल नै मान्छन ।
प्रकाश कैद नहुँदा
प्राकाम्य पागल हो ।
****

अभय क्रान्तिमा
फाल हान्दा जिन्दगीले
अग्रस्थानमा
युग सामुन्ने मुस्कुराउंछ
मान्छेको भिडमा
नत्थी गरिएको
बन्दि संस्कारबाट झट्कीएर
तन-मन फुकाउँदा
सद्देवाला रमिते दृष्टि
खुम्चिएर रमाइलो मान्दो हो,
यहिनिर
जीवन गुमाउनुको मानेमा
एउटा पागल जन्मी दिन्छ ।
******

उदेक..
अनौठो…
आश्चार्य…
सबै-सबै अप्ठयाराको
घान-भरेर
पौराणिक उकालोमा
भारी बोक्ने गधाहरु
तन्त्र निर्माता भन्दा
स्वतन्त्र छन
यहि मतलबमा
बुध भन्दा कुधि
खुशीका प्रवर्तक लाग्छन ।
*****

सेमिनारहरु..
सम्मेलनहरु…
आन्दोलनहरु…
बैठकहरु…
विज्ञप्तिहरु…
संबिधानहरु…
शास्त्रहरु…
अस्त्रहरु…
ग्रन्थहरु…
भनौं -
विशद सम्पूर्ण
नियमहरु
माकुरोका आत्मघाती
जाली त हुन् ।
आकाशले यसै भन्छ ।
प्रकाशले यस्तै कहन्छ ।
****

स्वन्त्र हुनुले
प्रकाश र आकाश
आखिर पागल नै हुन् ।
जो जिन्दगीले
सकी-नसकी
जीवनभर रुचाउँछ ।
जीवनभर माया गर्छ ।
***

मोक्ष
जीवनको गवेषणमा
विपक्व इन्द्रिय
बेसरम,
बेडर,
बेतुक,
बेफिक्री -
-धित मरुन्जेल हाँस्न
-धित पुगुन्जेल रुन
‘पागलवाद’-मा पुगेर
निरुद्वेगम् रमाउँछ ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3972

Khagendra Pandhak Limbu – Simma Ra Samjhana

खगेन्द्र पन्धाक लिम्बू – सिम्मा र सम्झना

धरोधर्म!
मैले तिम्रो रात सापटी लिएर…
खान्ग्रे भरी-भरीको तिम्रो माया
टेम्के डाँडाको उकालोमा…
हैरानले छिचोलेको थिएँ ,
ए सिम्मौ !
कसम होला…यो भीडमा पनि
तिम्रो मायाको सुगन्ध…
त्यै बूकिफूल र तितेपाती भएर
मगमगाई रहन्छ…
मेरो निस्वास भरी-भरी ।

तिम्रो चोलीको तूनाको कसम,
तिम्रो मुचुन्गाको धूनको कसम….
उधौली उँभौलीको पूजामा…छम-छम….
ढोल-झ्याम्टासंग एक शय पांच शिली
तिम्रो प्राकृतिक नृत्यको सलाम…
सत्ते-सत्ते,
यो सागरबीचमा पनि
किन होला -
दुधकोशी,अरुण र तमोरको पानी तिर्खाएको म?
त्यो भन्दा पनि-
तल बाँस झ्यांग फेदीबाट
तिमीले घैंलो कम्मरमा राखेर
ल्याएको पानी सम्झिएर
यो बिशाल मरुभूमि
अहिले नै पिउँ-पिउँ झैं लाग्छ !

ए सिम्मौ !
तिम्रो माया
तिम्रो संझना
पारूहांग-सुम्निमा भएर ..
गढ़नु सम्म गढेको छ छाती भरी ..
यत्रो बर्ष, यत्रो साल पनि
..आम्मै !,
म त अझै माटो नै गन्हाउँदो रहेछु ..
खै बुइंपाको हो कि..हलेशी तीरको..
सिम्पानीको हो कि कटुन्जे तीरको..
के भा’ हो कुन्नी !
यो महँगो पर्फ्यूममा पनि
छनुवाको सुन्गन्ध आ’छ !
आपुई!
म त तिम्रो डबका भरी-भरिको
उधारो माया पो सम्झेछु…
छपनिमा..छानी-छानी भरेको
तिम्रो एक सेर कटुवाको
सम्झना पो कल्पेछु !
कहिले कहीं,
तिमीले जिस्किएर हानेको
बाबरी फूलको चोट बल्झी रहन्छ एकान्तमा;
लूहौ !
तिम्रो ठट्यौले माया पो सम्झेछु

सिम्मौ!
मलाई त तिम्रो यादले
घाँसको भारी झैँ बाँधीछ्यौ
माथि देउरालीको पाती झैँ
अमर-अजर रंगिन मायाका ध्वजा-पत्ताले
भित्र-भित्र गजबले सिन्गारेछ्यौ
तिन तारा डाँडामा नबस्दै
तिम्रो नूनिलो आँशु ..कोशीमा मिसाएर
तिम्रो चन्चले आँखामा सावन रुझाएर..
मलाई तिम्रो पाप लाग्ला!
चिन्डोको निम्ठो भरी..भरी..
जतनले अझै तिम्रो माया
मेरो शिरानीमा सजाएको छु !
हो,
यत्ति भए यहीबाट..
मेरो टेम्के देखी रहन्छु
मेरो कोशी देखि रहन्छु ,
मेरो मायाको गाउँ देखि रहन्छु
मेरो परुहांग-सुम्निमा..
मेरो सिम्मालाई पाईरहन्छु ..

ए सिम्मौ !
तिम्रो कसम,
उधौली उँभौलीको कसम,
यो रिबुछे कान्छोलाई
तिम्रो साह्रै माया लागीरहन्छ
सत्ते-सत्ते,
…..तिमीलाई चण्डी नाच
मन परे भन्दा झुसी-झुसी….!!

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3972

Khagendra Pandhak Limbu – Agni Lalakar

खगेन्द्र पन्धाक लिम्बू – अग्नि ललकार

म युयुत्सु हुँ

मान्छेको बिरुद्ध
युद्ध नलड्ने भनेर
चुपचाप बसेकोछु
मेरो अखण्डता

सार्बभौम सत्ताको
घात गर्दै
अघि आयौ भने
एक्काइशौं शताब्दीको
अन्तिम युद्ध
तिमीसंगै लड्छु
लड्छु तिमीसंगै

कोलोनी बाँच्न सक्दिन

दुई दशमलब चार प्रतिसत
भूगोलको फोक्टीमा
धरतीका सारा
पन्ध्र प्रतिशत
मान्छे/अ/मान्छे बीच
डढेलो सल्काउन चाहन्न
मेरो शरीरभरि
झुल्ला थापेर
चकमक नपार
ममाथि तेल नथप

अहिले आगो भएकोछु
शैलाधिपबाट
तिमीले चोरेका माटो

बंग्याएको ईतिहांसमा
अब,
लाभा उमालेर छोड्छु

विस्तारवादी आतंककारी !
कुमनुच्छे !
तँलाई तुन्द्रुंगमा हाल्छु
हाल्छु तँलाई तुन्द्रुंगमा

क्लिव !
अज्यौली थापेर
जाफ्ता च्यात्न
म पनि जान्दछु
अचैतन्य !
लोहकिल मिच्दै
मसंग सेम थपेर बढ्दैछौ
भीरमा बसेर
सोघा झैं नतर्साऊ

तिम्रो कल्पान्त नजिकिएकोछ
मेरो राष्ट्रियतामा धावा नबोल

लोदर योपन सहन सक्दिन

म वाग्मीपुत्र हुँ
अग्निशर्मा हुँ
अग्रेठ भएकोछु

स्वतन्त्र भुतल/व्योमप्रेमी
हिमाली राज्यको
प्रगल्भ नेपाली हुँ
स्वाभिमानमा अपच
अतिक्रमण अक्षम्य छ

तिम्रो भौज्य होइन यो मेची-महाकाली

स्वाभिमान र स्वतन्त्रताको निमित्त
यो अझेटोमा
पुरै अढाई करोड भन्दा
बढी प्राणले
एकै चोटी
प्रतिरक्षात्मक रुपमा
अन्गुली खेल्दै
पृथ्वी रंग्याउन तयारछु

मेरो इरादा बुझेर घुंडा टेक

भाग यहाँबाट

रोटी पोलेर खाऊ
धोतीले इज्जत छोप्न सिक
त्यहिँ तिम्रो भलो छ

म योगक्षेममा छुच्चोछु

यो विपुलामा
मेरो पनि आफ्नै देश छ

कोलोनी बाँच्न सक्दिन

खबरदारीको यो अन्तिम पत्र हो -
अन्यथा,
म अन्तिम युद्ध तिमीसंगै लड्छु

अजस्त्र म नेपालभक्त हुँ

- २०१० अगष्ट ०७

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3972