कलानिधि दाहाल – नयाँ हर्ष खन्याउँछौं
(मधुपर्क बैशाख, २०६७)
कति वर्ष बिते यस्ता वर्षैवर्ष गनी गनी
उस्तै छन् दर्दका आँसु सहस्रौँ वर्षमा पनि ।
भोकोभोकै छ त्यो पेट आङ नाङ्गै छ यो पनि
कति वर्ष बिते खाली-पेट, आङ भरौँ भनी ।।
तर खै ? वर्षका फेरा नयाँ घेरा घुमीघुमी
ओर्लंदा पनि छन् उस्तै धराका दीनका जुनी ।
पैह्रो पहाडमा उस्तै तातो तराई हप्हप
जम्मै उपत्यका उस्तै आफैमा मात्र झप्झप ।।
नयाँ हृवैन पुरानैमा चोला मात्र अलिकति
फेर्हिए पनि पो तिम्रो हुन्थ्यो स्वागतको गति ।
हृयूँचुली पग्लिएजस्तै पग्लिए दिलका गति
तिम्रा स्वागतमा हुन्थे लाम लाग्ने कति कति ।।
काँटाजस्ता सधैँ नेता यता जन्मीरहे किन
तिम्रा स्वागतमा शब्द छानी लागूँ म खर्चन ?
धमिराले उठाएको रुखो माटो सरी दिल
सधैँ हुन्छ भने तिम्रो भिन्न हुन्छ र यो पल ??
गाउँमा रक्तका छर्रा चुहेका पाई छर्छर
आँसु तप्तपिने आङ उस्तै छन् घरका घर ।
सुत्केरो वेदनाभित्र चेली मर्छन् जताततै
भने स्वागतमा तिम्रो हुन्न लाभ कही कतै ।।
नयाँ वर्ष तिमी साँच्चै हर्ष छर्छौ भने यहाँ
खोँच, बेँसी हुँदै उक्ल पैह्रा पहाड छन् जहाँ
हरिया पिपिरा उम्र लहरा फैलिई झर
परिवर्तनका प्याला नेताका घरमा छर ।।
जहाँ जता जजल्ले जे बोले पनि लगाम यो
यिनकै हातमा हुन्छ परिवर्तन प्यारको
प्याला पोख यिनै भित्र हटाऊ दिलका विष
अनि स्वागतमा लाम निस्कन्छन् भई छास्मिस ।।
त्यहाँ काङ्ग्रेस क्वै हुन्न माले एमाले क्वै पनि
माओवादी हुँदैहुन्न-डङ्का फुक्ने कुनै ध्वनि ।
तर हुन्छन्, त्यहाँ जम्मै एउटै स्वरका मनि
‘हामी मानवता मान्छे घुक्घुकी एउटै भनी ।।
तिमी सर्लक्क जम्मैमा छोई जसरी र्झदछौ
पाखापर्वतका फाँट समग्र विश्व भर्दछौं
यौटै प्रणयको प्याला पोखी जसरी झुम्दछौ
त्यस्तै बनाऊ यी नेता अनि स्वागत चुम्दछौ ।।
उजेलो कलिलो घाम-घाममा जब छाउँछौ
विभेद नगरी यौटै तब पो धप्धपाउँछौ ।
त्यही रूप तिमी देऊ-नेतामा धप्धपाउने
स्वार्थलिप्सा सबै छाडी -अखण्ड दीपझैँ हुने ।।
नबोली तिमी ओर्लन्छौ विना स्वागतद्वारमा
नभनी तिमी चम्कन्छौ गलाका दिव्यहारमा ।
नबोली तिमीलेजस्तै अर्कैमा भई अर्पित
हुने हर्ष यहाँ नेता नेतृमा हौ समर्पित ।।
अनि जम्मै नयाँवर्ष यौटै हर्ष मनाउँछौँ ।
बाह्रैमास यहाँ तिम्रा गीतमै गुन्गुनाउँछौं ।।
प्रीतप्याला सबै उस्तै द्वारमा निस्की आउँछौं ।
अङ्गालो एकमा जम्मै नयाँवर्ष मनाउँछौं ।।
नयाँ हर्ष खन्याउँछौं ।
-ओखलढुङ्गा, विगुटार
-हालः वत्तीसपुतली, रातोपुल
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.