Jagat Nabodit – Hami Bhari Bokirahechhaun

जगत नवोदित – हामी भारी बोकिरहेछौँ
(मधुपर्क २०६६ चैत)

समयको प्रत्येक पलसँग
विश्वासको हाम्रो बलियो धराहरा मक्किँदैछ
निर्धो बस्तीमा
सन्त्रासको आगो सल्किँदैछ
कसरी शान्त भएर बस्न सक्नु हामी
जब एकताको सगरमाथा भत्किँदैछ
गएका वर्षहरू हामीले
खेतबारीभरि अशान्ति रोप्यौँ

ढुकुटीभरि शोक भित्रायौँ
हाम्रो बगैँचामा
केवल आसुँका दानाहरू फले
फूलबारीमा पनि उसै गरी
आसुँका थुँगाहरू फुले
हामीले हाँस्न खोजेको निरीह हाँसो
हाँस्नै नपाई हराएर गयो
शक्तिको इलाका वाजी मार्न
सक्नेहरूले साधुगाईलाई घोडा बनाए
आफूजस्तै मान्छेको हत्या गरेर
आफूलाई विजयी ठहर्‍याए

केही अधर्मी हत्याराहरू
सज्जनताको छाला ओढेर बसेका छन् ।
उफ्,
खसीको टाउको राखेर
कुकुरको मासु बेच्नेहरू
व्यापार दुर्गन्धित बनिरहेछ
अगाडि निगुरमुन्टी झुकेर
पछाडि कोखमा छुरा रोप्नेहरू
मानवता दङदङती गनाइरहेछ
वियरको चुस्की धोकेर
पानी पिएको रिपोर्ट लेख्नेहरू
जताततै अनियमितता बगिरहेछ
खोला धमिल्याएर
माछा मार्न अवसर छोप्नेहरू
सडकमा राजनीति नाङ्गरिहेछ
भावीले लेखिदिएको
भाग्य सम्झेर हामी गधाहरू
पुस्तौँपुस्ता हिँड्यौँ
खाली खुट्टा यो बगर
रिनको भारी बोकेर हिँड्यौँ
पीरको भारी बाकेर हिँड्यौँ
दुःख गरे सुख मिल्छ भनेर हिँड्यौँ
तर,
निर्घात् समयले कुल्चिएर
हिँडिरहृयो हाम्रो सपना
पीडा ओढेर निदाएका हामीलाई
पीडा थपेर हिँडिरहृयो समय
हुँदा-हुँदा एक हरक सास फेर्ने
अधिकारमा समेत
हामीलाई हस्तक्षेप गर्‍यो यो समय
समयको रङ फेर्न
के मात्र गरेनौं यो माटोमा ?
कहिले कालो कोठामा
हत्कडीसँग सङ्घर्ष गर्‍यौँ
कहिले घरबार त्यागेर
निर्वासित जङ्गली भयौँ
बलिदानीको के कुरा गर्नु ?
जीवन समर्पण गरेर सहिद भयौँ
कहाँ गयो हाम्रो रगतको मूल्य ?
कहाँ हरायो हाम्रो पसिनाको मान्यता ?
के हिसाबकिताब छ हाम्रो जिन्दगीको ?

यो माटोमा
यसरी भारीसँगै जन्मेर भारीसँगै मर्नुछ
हामी गधाहरू
सतीले सरापेको यो देशमा
अब च्यातेर धुजा-धुजा गलत इतिहासका पानाहरू
लेख्ने अठोट छ नयाँ इतिहास
हामी सदिऔंदेखिका गधाहरू
यतिबेला भारीसँगै आन्दोलनमा छौँ ।

लफ्याङ-४, खोटाङ
हालः स्टाफोर्डसायर, बेलायत

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:4074

Jagat Nabodit – Sumnima

जगत नवोदित – सुम्निमा

सुम्निमा!
यहाँ आईपुगेर
तिमीलाई सम्झिए
भुल्न त कहिले नै पो सकेको थिए र?
तर
यो ठाउँमा आईपुगेपछि
तिमीलाई खुब सम्झिएँ

तिम्रो मायालु मुटु
कतै नदुखाई
कतै नसच्चाइ
तिम्रै मुटु जस्तो
एउटा गीत लेख्ने रहर पलाएर आएको छ
कि
दुनियाँको गलामा गुन्जियोस त्यो गीत

तिम्रो सफा मन
कतै नभाँची
कतै नसाटी
दुरुस्तै
कवितामा छिप्न जागर लागेको छ
कि
दुनियाँको भावनामा पग्लियोस त्यो कविता

हो,सुम्निमा!
तिम्रो आँखा सजिएको अनुहार
यो आकाशभरिको तारामा खोजिरहेछु
तिम्रो बिचार मिसिएको मस्तिष्क
यो धर्तिको माटोभरी सोधिरहेछु
पाईला पाईला
तिमीले छोड्दै हिंडेको त्यो-’जननी डोब’
सवलाई एक्साथ मिलाएर
तिम्रो तस्बिर कोर्ने अन्तिम इच्छा छ
कि दुनियाँको आँखाले
तिमीलाई हेर्न पाउन
हेरुन
र हेरिरहुन….

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:4074