Indra Narthunge – Chorna Najanne Haru Sanga Gunaso

इन्द्र नारथुङ्गे – चोर्न नजान्नेहरुसँग गुनासो

सुनेको थिएँ
चोरहरु टाठा हुन्छन्
चोरहरु बाठा हुन्छन्
कागको गुँडमा बच्चा कोरल्ने
कोईली जस्तै
चङ्ख हुन्छन् ।
परन्तु
होईन रहेछ
म भ्रममा रहेछु
वा
भ्रम ममा हरेछ
चोरहरु लाटा हुँदा रहेछन्
छोक्रा छोडेर बोक्रा मात्र लिने
चोरहरु बिब्ल्याँटा हुँदा रहेछन्

यी चोरहरु हुन्
जस्ले डिमोक्रेसी चोर्यो

स्वार्थको क्यानभाषमा सजायर
प्रजातन्त्रको नामले न्वारान गर्यो
उता कानुन नबने पनि चल्छ
यता बनेर पनि ढल्छ
टायरसँगै सडकमा जल्छ
पुत्लाहरुमा दिनदिनै बल्छ
चोर्न नजाने पछी
सोहोर्न नजाने पछी
सुन भए पनि
नुन भए पनि
के गर्नु हजुर
बाँदरको हातमा नरिवल ।

मिनी स्कर्टमा सजिएर
अर्धाङ्ग हल्लाउँदै
सडकमा निर्लज्ज हिडिरहेका मैंयाहरु
डिस्कोमा वियरले मात्तिएर
जवानी उफार्दै
साल्सा नाचिरहेका सानीहरु
वा
वेभसाईटका पानाभरी
स्विमङ कस्टममा देखिने नानीहरु
के स्वाङ पार्नु आधुनिकताको
किन भ्वाङ पार्नु मैलिकताको
चोर्न सक्छौ त चोर जुक्ती
चार्न सक्छौ त चोर मुक्ति
स्वस्थानी कथामा अल्झिरहेकी
तिम्री आमालाई हेर त
तिमी कहाँ छौ ?

नयाँ पेन्ट टाल्ने
लामो कपाल पाल्ने
कानमा मुन्द्रो हाल्ने
ए ! गोर्खाली छोराहरु
ए ! चोर मोराहरु
बोली चोर्योउ तिमीहरुले
गोली चोर्योउ तिमीहरुले
झोली चोर्योउ तिमीहरुले
गीत चोर्योउ तिमीहरुले
संगित चोर्योउ तिमीहरुले
प्रीत चोर्योउ तिमीहरुले
परन्तु
किन रित चोरेनौ ?
किन जीत चोरेनौ ?
किन अमृत चोरेनौ ?
केरो मुखमा हालेर
बोक्रो सडकमा हुत्याउने
तिम्रो संस्कारलाई हेर त
के तिमी
पश्चिमा जस्तै देखिन्छौ ?

चोर्नेहरुले
दृश्य चोरे दृष्टि चोरेनन्
धर्म चोरे कर्म चोरेनन्
बिचार चोरे ब्यवहार चोरेनन्
खाना चोरे, नाना चोरे
रस चोरे, रङ्ग चोरे
परन्तु
ढङ्ग चोरनन्
त्यसैले चोरहरु
जति चोरे पनि
सधैं दरिद्र
बिचारमा-ब्यवहारमा, कर्ममा-पर्ममा
दृष्टिमा-श्रृष्टिमा, बानीमा-पानीमा
सिर्फ
बेहिसाब जिन्दगी ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2589

Indra Narthunge – Kasle Sunayo Timilai Yo Jhuto Kura

इन्द्र नारथुङ्गे – कसले सुनायो तिमीलाई यो झुटो कुरा

(पूर्ण संघीयताको लागि कविता आन्दोलन)

ठाउँठावै खाल्डा खुल्डी
ठाउँठावै थुम्का थुम्की
कतै तिर्खाले ब्याकुल बालुवा
कतै पानीले जलथल जरुवा
समाहा राख्न पनि नमिल्ने
जमाहा फाल्न पनि नमिल्ने
अक्करे एउटा गह्रालाई
आली थपेर केही ठाउँमा
केही गह्राहरुमा विभाजन गर्न लाग्दा
लालपूर्जाबाटै नयाँ गह्राहरु अलग हुन्छन् भनेर
कसले सुनायो तिमीलाई यो झुटो कुरा ।

हलगोरु छिर्नै नसक्ने फोक्टाहरु
कुलोले भेट्दै नभेट्ने चोक्टाहरु
मैले बनाउँछु भनेर कहाँ भने
हो
अलिकती हेरेर होचोअर्घेलो
अलिकती खोजेर धुलो-चिम्ट्याईलो
माटो बराबर नभएपिन
बाटो बराबरीनै पुग्ने
यस्तै गह्राहरु छुट्याउन लाग्दा
छुट्टिएका गह्राहरुमािथ
छिमेकीले आँखा गाड्छन् भनेर
कसले सुनायो तिमीलाई यो झुटो कुरा ।

गह्राको वर्तमान संरचनालाई हेर त
के उस्तै छन् पूर्व र पश्चिम
के उस्तै छन् उत्तर र दक्षिण
केन्द्रबाट पूर्व लाग्दा भिरैभिर
केन्द्रबाट पश्चिम लाग्दा भिरैभिर
छुँदै नछोईने उत्तर
धुँदै नधोईने दक्षिण
हलगोरु साउन पनि नमिल्ने
पानी लाउन पनि नमिल्ने
यो अक्करे गह्रालाई
आली हालेर केही ठाउँमा
मात्र माटो विभाजन गर्न लाग्दा
मन टुकि्रन्छ भनेर
कसले सुनायो तिमीलाई यो झुटो कुरा ।

धेरै भयो माटोले अस्तित्व गुमाएको
पहिरोले पुरेर पुरानोलाई
इतिहास नामेट हुनै लागेको बेला
सहसा जागेर सपनाहरु
आफैलाई खोज्न थालेपिछ
तिमीले बाटो देखाउनु पर्नेमा
उल्टै अतालिन्दै छौ किन
माटोले मागेको त मात्र पहिचान हो
रातोलाई रातै भनिनु पर्छ
कालोलाई कालै भनिनु पर्छ ।

एउटा सिङ्गो गह्रा
केही गह्राहरुमा बिभाजन भएपिछ
गह्रा-गह्रा बीचमा
पानी बाराबार हुन्छ भन्ने
सायद तिमीले सुन्यौकी
त्यसैले त भन्न सक्यौ
साकेला र मारुनी एकै ठाउँमा अटाउँदैन
रोधी र भैलेनी एकै गाउँमा गाइन्दैन
गुम्बा मस्जिद र मन्दिर सँगसँगै धाइन्दैन
भन
कसले सुनायो तिमीलाई यो झुटो कुरा ।

ए ! मान्छे
हल्लाहरुको पछि लागेर
अब पनि परिवर्तनलाई कहिलेसम्म रोक्ने
यथास्थितीलाई कतिाजेलसम्म बोक्ने
कतै पानीले जलथल जरुवा
कतै तिर्खाले ब्याकुल बालुवा
समाहा राख्न पनि नमिल्ने
जमाहा फाल्न पनि नमिल्ने
यो अक्करे गह्रालाई
आली हालेर केही ठाउँमा
मात्र माटो विभाजन गर्न लाग्दा
मन टुकि्रन्छ भनेर
किन उल्टै मनहरु भाँची रहेका छौ

महोदय
मैले थप्न लागेको आली
पनामा होईन युरेसिया होईन
रेड क्लिफ लाईन वा मेक मोहन लाईन पनि होईन
प्यारालल-३८ त झन् हुँदै होईन
मात्र गंगाले पछ्याएको बाटो
ब्रम्हापुत्र वा नाईलले छोएको माटो
कोशी गण्डकी र कर्णालीले बनाएको टाटो जस्तै
अलगअलग बहावको अलगअलग क्षेत्र मात्र हुनेछ
जहाँ
रोधीँ र हाक्पारे सँगसँगै गाउँने छौं हामी
होलीमा रङ्ग सँगसँगै लाउँने छौं हामी
मन्दिर मस्जिद गुम्बा र साकेलाथान
सँगसँगै धाउने छौं हामी

हो
मनहरु बराबर भएपिछ
कुलेसोले गह्राहरुलाई बराबर छोएपिछ
आलीहरु सीमा बन्दैनन् महासय !
यो गलत छ कसैले भन्दैनन् महासय !

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2589

Indra Narthunge – Aphim Aatanka

इन्द्र नारथुङ्गे – अफिम आतंङ्क

मनको करेसोमा
लस्करै उभिएका
फूलका निर्दोश बोटहरुलाई उखेलेर
मैले अफिम छरेको छु
हिजो मात्र

आज
भत्काउँदैछु
आस्थाका पर्खालहरु
विश्वासका चौकोसहरु
श्रद्धाकाधुरी-खाँमाहरु
मन्दिरहरु गुम्बाहरु
मस्जिदहरु चर्चहरु
सिङ्हदरबार र ह्वाईटहाउसहरु
केवल
अफिम उमार्नकै लागि ।

देखेनौ
मेरा लाखौं कोपिलाहरु
फुल्दै नफुली मुर्झाएको
कहिले आस्थाको सेपले
कहिले विश्वासको तापले
कहिले श्रद्धाको श्रापले
हिरोसिमामा नागासाकीमा
बालीमा बम्बईमा
पेन्टागनमा ईराक-अफगानिस्तानमा
नारायणहिटीमा रोल्पामा डोल्पामा ।

यी सबै पागलहरु हुन्
पागल-जो बोले पनि बोल्न जान्दैन
पागल-जो खाए पनि खान जान्दैन
पागल-जो िहंडे पनि िहंड्न जान्दैन

पागल-थाहा पाएर पनि थाहा पाउँदैन
नत्र हेर त
तिम्रा आस्थाका पुजारीलाई
विश्वासका विभिषणलाई
श्रद्धाका सुदामालाई
मन्दिरमा मस्जिदमा
गुम्बामा चर्चमा
सिंहदरबारमा ह्वाईटहाउसमा…॥
निशंकोच फत्फताई रहेछन्
निर्वाध हसुरिहेछन्
निर्बन्ध दगुरिहेछन्
थाहा पाएर पनि थाहा नभए जस्तै ।

खोतलेर सुँग्दा
घृणा ह्वास्स गन्हाउछ माटोमा
तातो होस् चिसो होस्
शङ्का ठ्वाँस्स गन्हाउन्छ आँटोमा

हिंड्दा पराईमात्र भेटिन्छ बाटोमा
धर्ममा कर्ममा
सत्तामा शक्तिमा
विचारमा ब्यवहारमा
मान्छे
टुक्राटुक्रा छरपष्ट अलमल्ल असरल्ल
आस्थाहरु विश्वासहरु श्रद्धाहरु…।

हो अब खाँचो छ
अफिम क्रान्तिको
अफिम आतंङ्कको
अफिम चेतनाको
अफिम-जो खान्छ र मात्छ
जो मात्छ-पागल बन्छ
जो पागल बन्छ-सबैलाई एक देख्छ
धर्ममा कर्ममा
सत्तामा शक्तिमा
विचारमा ब्यहारमा
रुपमा रङ्गमा
धनमा मनमा
एक संसार एक मान्छे
एक धर्म एक बर्ण
एक ब्यवहार एक बिचार
सबै उस्तै-उस्तै ।

हो
शक्ति धर्म र विचार बिरुद्ध
मैले सुरु गरें
अर्को नयाँ आतङ्क
अफिम आतङ्क ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2589