Hemanta Pardeshi – Sagarmatha Uklindai

हेमन्त परदेशी – सगरमाथा उक्लिंदै

तिमी आऊ या नआऊ ,
मेरो साथ देऊ या नदेऊ ,
त्यो तिम्रो कुरा हो ।
तिमी भित्रको अन्तर्बोधी अवचेतनको ,
तिमी भित्रको स्वकीय दृष्टिबोधको ,
अनि ,
तिम्रो आत्मनिर्णयको अधिकारको ।

तर, यथार्थ यही हो-
कि, मैले – नाङ्गै खुट्टा सगरमाथा आरोहण गर्न सकिन्छ
-लाई-
आफ्नो जीवनदर्शन बनाउने हिम्मत गरिसकेकोछु ।
हो, मैले पनि बुझेकोछु,
बिल्कुल तिमीले बुझे जस्तै-
अर्थात ,
नाङ्गै खुट्टा सगरमाथा उक्लिने –
साहासिक एवम् प्रगल्भ अभियानको बिरुद्धमा ,
थुप्रै दृष्टिविक्षेप र उपहासका अमार्जित कैरनहरु कथिनेछन् ।

अनि ,
आधार शिविरभरि धोबी चरीको गीत बनेर-
द्वेषजनित कायरताका निरर्थक बखानहरु पनि गुन्जिनेछन् ।
किनभने ,
नाङ्गो खुट्टा हिउँ कुल्चनु –
प्राकृतिक बिशृङ्खलता र ,
निराकृतताको पराकाष्ठा मात्रै होइन ,
अग्राह्य मानव उद्वीपनको उपज पनि हो ।

त्यसैले त ,
आज सम्म जतिले सगरमाथाको चुचोरोमा पाइला राखे
अथवा राख्न खोजे,
तिनीहरुले कहिल्यै नाङ्ङो खुट्टा हिउँ कुल्चने हिम्मत गरेनन् ,
अर्थात नाङ्गो खुट्टा हिउँ कुल्चनुलाई –
प्राकृतिक उत्क्रमको सिद्धान्तले रोक्यो / छेक्यो ,
अनि,
परास्त गर्‍यो / अर्हतारहित बनायो ।
एसो भनिरहँदा-
तिमीलाई लाग्न पनि सक्छ,
कि, म – तेन्जिङ शेर्पा र एड्मण्ड हिलारीहरुको उपहास गरि रहेकोछु ,
जुन्को ताबेई र पासाङ् ल्हामुहरुको साहसको खिल्ली उडाइ रहेकोछु ।
तेसैले म तिमीलाई भन्दैछु –
तेन्जिङ र एड्मण्डको गौरबमयी गाथालाई मात्रै होइन-
आप्पा , आङरिता र सुन्दरेहरुको इतिहाँसलाई समेत जीवन्त राख्दै ,
अनि ,
पासाङ र जुन्कोका साहासहरुले आफुमा अनुप्राणिता भर्दै ,
बिल्कुल नाङ्गो खुट्टा ,
अनि ,
बिना अक्सिजन र बिना हिउँ निरोधक परिधान ,
म सगरमाथा आरोहणको यौटा नयाँ ,
एवं ,
प्रायोगिक यात्रामा निक्लिंदैछु ।
हो, म नाङ्गै खुट्टा सगरमाथा उक्लिंदैछु ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3025

Hemanta Pardeshi – Timro Abhagi Premi Ko Katha

हेमन्त परदेशी – तिम्रो अभागी प्रेमीको कथा

यता तिमी बैंशालु गुराँश बनेर
लेकाली पाखाभरि ढकमक्क फूलिरहँदा
उता रेगिस्तानको बन्जरभूमिमा ‘नोष्टाल्जिया’का हाँगाभरि
मरुभूमिको ‘क्याक्टस’ फूल्न विवश तिम्रो अभागी प्रेमी
कति फिक्का र निरस जीवन बाँचिरहेको होला l

हुन त पैतलामा काँडा बिझ्दा मष्तिष्क दुख्छ मान्छेको
त्यसैले, आफ्नो अभागी प्रेमीको पीडामय जीवनकथा सुनेर
तिम्रो छातीभित्र पनि अदृश्य घाऊको खिल पल्टिएको होला
अनि दिनरात आँशुको सागरमा डुबुल्की मार्दै
तिम्रो कोमल हृदय बेस्सरी तड्पिरहेको होला l

तर, आँशुले दु:ख धुन सकिँदैन -ले
मलाई चट्टान जस्तै दह्रिलो मन बनाएर भन्न मन लागेकोछ
कि, सबथोक गुमाएर पनि-
फाटेको मन टाल्ने एक टुक्रा आफ्नै माटो त छ नि तिमीसंग
अनि, आँखाका डीलबाट बगिरहेका आँशुलाई धोई पखाली गर्ने
आफ्नै हिमालको चिसो पानी पनि त छ तिमीसंग l

साँच्ची आफ्नो माटोको सुगन्ध कति मिठो हुन्छ है
कल्पना मात्रै गरेर त हेर एकपल्ट
तिमीले कोशेली स्वरुप पठाइदिएकी
गुन्द्रुक र अकबरे खुर्सानीमा
तिम्रो अभागी प्रेमीले कति मिठो सुगन्ध अनुभूत गर्दो हो
पराईभूमिमा पनि आफन्त र आफ्नो देशको माटोको l

यीनै पाखा, पखेरा र सौलुङ्गको दृश्यानुभूतले
कति बिक्षिप्त बन्दो हो उसको मन ?
कति बगाउदो हो तिम्रा यादहरुलाई आँशुका भेलहरुमा ?
तर बिडम्बना !
न आँशु पखाल्ने हिमालको चिसो पानी छ ऊसंग
न सिंचित हुने एक टुक्रा आफ्नै माटो नै ।

तर पनि ऊ निरास बनेको छैन रे !
धेरैपल्ट चिठ्ठीमा लेखेको छ उसले –‘जिन्दगी दिन र रात जस्तै हो l’
दिन पछि रात आए, रात पछि दिन पनि अवश्य आउछ
बस् खाँचो छ त केवल सकारात्मक सोच सहितको समयको सही उपयोगको
अनि, साथ, सहयोग र सद्भावपूर्ण सहयात्रामा
एक अर्का प्रतिको अपरिवर्तनीय बिश्वास र साझा समर्पणको l

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3025

Hemanta Pardeshi – Timrai Astha Ko Bijaya Hunechha

हेमन्त परदेशी – तिम्रै आस्थाको विजय हुनेछ

बम र बारुदले उडाउन सक्दैन ,
न त फलामे सांग्लाहरुले नै बाँध्न सक्छ ।
आगोको ज्वालाले जलाउन सक्दैन ,
न त हिटलरी शासनहरुले नै गलाउन सक्छ ।
मानवरुपी भौतिक शरीर मरेर जान्छ ,
तर आस्था सधै अमर रहन्छ ।
त्यसैले शहीद!
तिमीले रुनु पर्दैन ,
मृत्युको ग्लानिबोधले रत्तिभर छट्पटिनु पर्दैन ।
भौतिक शरीर बिलाएर गयो त के भयो ?

तिम्रो आस्था अझै मरेको छैन ,
र युगौ युग मर्ने पनि छैन ।
बस् फरक यति छ -
आज तिम्रो त्यही आस्था माथि स्वघोषित ठुलाबडाहरुले ,
मनपरि रत्यौली खेलिरहेकाछन् ,
मृत्यु पर्यन्त परलोकमा समेत् -
ब्रम्हलुट् मच्चाउने दिवासपनामा ,
तिम्रै आस्थाको पुच्छर् समातेर -
बैतरणी पार गर्न खोजिरहेकाछन् ।
तर ढुक्क बन शहीद!
तिम्रो आस्था अब एक्लै छैन ,
शदीयौ देखि मुकदर्शक बनेर -
इतिहासको गवाह बन्दै आइरहेको यो देस ,
अब त्यसै चुप लागेर बस्ने छैन ।
भन्नैपर्दा………….
अब सगरमाथाको शीखरमा पनि -
तिम्रै आस्थाको झन्डा फहराउनेछ ,
तिम्रो आस्थाको पुच्छर समातेर,
बैतरणी तर्न खोज्नेहरु -
बीच बाटोमा पुग्न नपाउदै ,
समुन्द्रमा अकल्पनीय सुनामी आउनेछ ।
र त्यो दिन………
सुषुप्त ज्वालामुखीको बिष्फोटसँगै ,
कहिल्यै हारमा अनुवाद नहुने -
तिम्रै आस्थाको विजय हुनेछ ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3025