Hangyug Agyat – Badhi

हांगयुग अज्ञात – बाढी

जब बाढी आउँछ
तब धेरै कुराहरू भत्किन्छन्
बाँध र पुलहरू भत्किन्छन्
खेत र बाटोहरू भत्किन्छन्
घर र सम्बन्धहरू भत्किन्छन्
जब बाढी आउँछ
तब धेरै धेरै कुराहरू भत्किन्छन्,

तर खै ! किन भत्किदैनन् -
सप्तकोसीको राष्ट्रघाती सन्धी
टनकपुरको आत्मर्समर्पणवादी सम्झौता
खै ! किन भत्किदैनन् -
शासकहरूको राष्ट्र बेच्ने हस्ताक्षर
खै ! किन भत्किदैनन् -
शासकहरूको सिंहदरबार !

जब बाढी आउँछ
तब धेरै कुराहरू भत्किन्छन्
विश्वास र आदर्शहरू भत्किन्छन्
मन र इच्छाहरू भत्किन्छन्
आशा र भरोसाहरू भत्किन्छन्
जब बाढी आउँछ
तब धेरै धेरै कुराहरू भत्किन्छन्,

बाढी नदीको होस् या आँसुको
बाढी राजनीतिको होस् या जीवनको
बाढी आखिर बाढी नै हुन्छ
त्यो आए पछि धेरै कुराहरू भत्किन्छन्
इनार र माछापोखरी
कुलो र पैनी सबैसबै भत्किन्छन्
पाठशाला र स्वास्थ चौकी
पसल र दुरसंचार सबैसबै भत्किन्छन्,

तर साथी हो
संसारमा एउटै मात्र यस्तो बाढी छ
जसले केही कुरा भत्काउँदैन
बरू जोड्छ भत्केका बाँध र पुलहरू
बरू गाँस्छ भत्केका मन र विश्वासहरू
बरू निको पार्छ बाढी र पैरोका घाऊहरू
बरू निको पार्छ भुँइचालो र महामारीका चोटहरू,

हो, साथी हो
यो यौटा यस्तो अद्भूत बाढी हो
जसको निम्ति हामीले सधैँ भेला हुनु पर्छ
र मान्छेहरूको डुबेका सपनाहरूलाई किनार दिनु पर्छ
र यो बाढीको नाम हो
सहयोगको बाढी
जसले सधैँ सङ्लो हृदयको लहरमा
हामीजस्तै मान्छेहरूको जीवनलाई
समाउने यौटा आधार दिनु पर्छ
हो, साथी हो
धमिलो पानीको बाढी विरूद्घमा
सहयोगको सङ्लो बाढी आउनु पर्छ
तरजब बाढी आउँछ
तब धेरै कुराहरू भत्किन्छन्
तब धेरै धेरै कुराहरू भत्किन्छन्
इमान र लाजहरू पनि भत्किन्छन्
लाज र इमानहरू पनि भत्किन्छन् ।

( यो सप्तकोसी बाढी पीडितहरूको सहयोगार्थ हङकङ नेपाली महासंघद्वारा आयोजित कार्यक्रममा वाचित कविता हो । )

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2515

Hangyug Agyat – Raja Ko Mrityu

हांगयुग अज्ञात – राजाको मृत्यु

कति प्रश्नहरूको जवाफ दिएर
कति जवाफहरूको प्रश्न भएर
कति इतिहासहरू उधारेर
कति रहस्यहरू बुनेर
सडकका भित्ताहरूमा वंशावली लेख्दालेख्दै
बिजुलीका मिटरबक्सहरूमा हुकुम कोर्दाकोर्दै
काउलुन पार्कको राज मरेछ,

उसको लासले
दर्जनौ तोपको सलामी पाएन
उसको लासले
लाखौ जनताको मलामी पाएन
उसको लासले
फूलहरूको चिता पाएन
उसको लासले
राष्ट्रिय झण्डाको कात्रो पाएन
उसको लासले
कुनै देशको राजाले पाउनुपर्ने
मृत्युपछिका राजकीय सुविधाहरू पाएन
यत्तिसम्म कि
उसको मृत्युलाई स्वर्गारोहण पनि भनिएन,

सिमेन्टको मेच आफ्नै गद्दीमा
सात बजेर उन्नाइस मिनेट जांदा
स्युयकसित
छिन्ताओ पिइरहेको अवस्थामा
बिना श्रीपेच, बिना राजदण्ड
बिना रानी, बिना राजकुमार
बिना राजपुरोहित, बिना सैनिक
बिना प्रजा, बिना सुसारे
बिना ढोके, बिना धुपौरे
पचहत्तर बर्षको उमेरमा
कुनै सन्की पुलिसको गोलीले होइन
कालगतिले
काउलुन पार्कको राजा मरेछ,

विद्युतीय चितामा राखेको
उसको लासलाई
कसैले दागबत्ती दिएन
बुढो सरकारी जल्लादले

केवल भित्ताको स्वीच दबायो
र मनमनै झक्र्यो
‘माफान तीउ….!!’

रेडियो र टेलिभिजनहरूमा
कुनै शोकधुन बजेन
अखवारहरूमा रङ्गीन कलेवरमै छापिए
सार्वजानिक विदा दिइएन
शोकसभाहरू भएनन्
कसैले श्रदान्जली अर्पण गरेन
ऊ त्यसै मर्‍यो
ऊ त्यत्तिकै मर्‍यो,

ऊ मरेका सात दिनपछि
मध्यान्ह १२ बजे
लगभग अढाइसय बर्ष पुरानो
बरको रूख पनि
कंक्रीटको सडक पल्टाएर
जरैसित ढल्यो
बिना टाइफून आफै ढल्यो,

काउलुन पार्कमा
ऊ एक्लैले चलाएको अघोषित राजतन्त्र
र त्यो पुरानो बरको रूख ढल्नु
सञ्जोग थिएन
सडकका भित्ताहरूमा वंशावली लेख्दालेख्दै
बिजुलीको मिटरबक्सहरूमा हुकुम कोर्दाकोर्दै
काउलुन पार्कको राजा मरेछ
धेरै प्रश्नहरूको जवाफ दिएर
काउलुन पार्कको राजा मरेछ ।

(प्रस्तुत कविता मूलबाटो डट्कमद्वारा आयोजित ‘मूलबाटो नाईट’ मा बाचन गरिएको कविता हो)

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2515

Hangyug Agyat – Yo Sahar

हांगयुग अज्ञात – यो सहर

यो सहर आफू मात्रै रमाई बाँचेको
धेरैधेरै गाँऊहरू रूवाई हाँसेको

बाटुलीले भुल्न थाली पँधेरीको जून
कस्ले सक्छ उस्ले जस्तो मनको पीर छुन
रानीवनको रानीचरी पिजँडामा आयो
सपनाले हो कि हजुर केले आँसु झा-यो

काइँला पनि शरणार्थी भई आएछ
गाँऊघरको सबै दु:ख बोकी ल्याएछ
आकाशको चरा हजुर पिजँडामा आयो
सपनाले हो कि हजुर केले आँसु झा-यो ।