Gyanu Pandey – Jindagi

डा.ज्ञानू पाण्डे -जिन्दगी

देखेदेखें जस्तो लाग्छ
हेर्न केही भ्याइदैन
प्रश्नैप्रश्न जताततै
उत्तर कतै पाइदैन
भीडहरूमा एक्लो–एक्लो
आफैलाई आफू नौलो
जीवन खोई यो कस्तो कस्तो ?
घरि केही हो कि जस्तो
घरि केही पनि यो होइन जस्तो ।

अन्त्यपछिको सुरु हो कि
सुरुबाटै अन्त्य हो यो
अनिच्छाको प्राप्ति हो कि
प्राप्तिको इच्छा हो यो
कहिले अन्धकार भीर जस्तो
कहिले ठाडो उकालो यो
जीवन खोई यो कस्तो कस्तो ?
घरि केही हो कि जस्तो
घरि केही पनि यो होइन जस्तो ।

हास्न खोज्दा आँसु झर्छ
पोछ्न खोज्दा रसाउँछ
तड्पाउँछ/विझाउँछ
भाग्न खोज्दा पच्छ्याउछ
कहिल्यै तृप्त नभइने
जीजिविषाको शूल जस्तो
जीवन खोई यो कस्तो कस्तो ?
घरि केही हो कि जस्तो
घरि केही पनि यो होइन जस्तो ।

अभिशाप हो स्वतन्त्रताको
कहाली आफ्नै चेतनाको
अरोजाईको रोजाई यो
जिम्मेवारीको कबुल जस्तो
न खा’को विष हो यो
न ला’को प्रित हो
नजन्माको सन्तानको
माया मोहको रित हो यो
जीवन खोई यो कस्तो कस्तो ?
घरि केही हो कि जस्तो
घरि केही पनि यो होइन जस्तो
केही पनि यो होइन जस्तो
केही पनि यो होइन जस्तो

विशालनगर, काठमाडौं
२०६५ चैत्र २४ गते

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2942

Gyanu Pandey – Hami Aabiskarak Haun Andhakar Yug Ko

डा.ज्ञानू पाण्डे – हामी आविष्कारक हौं अन्धकार युगको

‘फटाहाका गलामा माला सुहाउँदैन’
‘दुर्जनलाई सम्मान कहिल्यै गर्नु हुँदैन’
‘श्रोता बन्नु सधैं असल गुरुको’
‘खरावहरूको संगत गर्न हुँदैन’
पुर्खाले सिकाएका यी सत्वाणीहरू
सबै झूठो बनाइदिएकाछौं
विद्या बङ्गयाइदिएकाछौं
अर्थहरु सबै भत्काइदिएकाछौं
हामी सर्जक हौं नयाँ पाठको
गुरु हौं नयाँ अभ्यासको
बधाई दिन्छौं हामी आफैलाई
आविष्कारक हौं नयाँ नेपालको

उसै पनि क्षणभंगुर यो मानवचोला
झनै क्षणिक बनाइदिएका छौं
मर्नलाई काल पर्खनै पर्दैन कसैले
जताततै काल पल्काइदिएकाछौं
जनतालाई अकालमा मर्नबाट जोगाउन सकेनौं त के भो ?
मरिसकेपछि हरेकको नाममा गोहीको आँसु चुहाइदिएकैछौं
बचन पूरा गर्न सकेनौं त के भो ?
प्रतिबद्धता पटक पटक दोहो¥याइरहेकैछौं
डाडुपन्यौं आफ्नो हातमा परेको यो बेला
अलिकति मनपरी गर्यौं त के बिगार्यौं ?
सबैले जे गर्दै आ’थे त्यही न दोहोराइदिएका हौं
बधाई दिन्छौं हामी आफैलाई
राजनीतिको लाज बचाइदिएकाछौं
नीति विनाको राज गर्ने सूत्र नयाँ पहिल्याएकाछौ
जनतालाई नयाँ नेपालको
अनुहार राम्रो देखाइदिएकाछौं

परिवर्तन भनेको यही त हो
रुपान्तरण भनेको यही त हो
शान्तिसुरक्षा पूरा खलबल्याइदिएकैछौं
मन लागे जसले जहाँ जे गरे पनि हुने
बाटो सबै खोलिदिएकैछौं
जनताको अधिकार हनन भइरहेको छ त के भो ?
अधिकारका लागि लड्न सबैलाई सिकाइदिएकैछौं

समय त्यो पछाडि कहिल्यै फर्कदैन
बढिरहन्छ निरन्तर अघिअघि
प्रकृतिशास्त्रको यो निर्धारणलाई
भत्काउन सफल भएकाछौं
घुँडा टेक्न समयलाई बाध्य हामीले पारेकाछौं
बत्ति निभाइ दिएकाछौं
धारा सुकाइदिएकाछौं
ढुङ्गगेयुगको झझल्को दिने
दिनहरू जनतालाई देखाइदिएकाछौं
हामी सर्जक हौं नयाँ युगको
गुरु हौं नयाँ अभ्यासको
अन्धकार वर्तमानको
अन्धकार भविष्यको
अन्धकार
अन्धकार
बस् अन्धकार युगको
बधाई दिन्छौं हामी आफैलाई
आविष्कारक हौं हामी अन्धकार युगको ।

विशालनगर, काठमाडौं

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2942