गोपीकृष्ण प्रसाईं – किन यसरी बतास चल्छ
मनै चसक्क छुने गरि
मुटुनैं दुख्ने गरि
यो बतास चलिरहेछ
प्रकृतिको उपहार नैं होला
शान्त भएर बसुँ भन्छु
शुशेली हान्दै आउँछ हतासमा
कोठाको छेउमा
झोक्का दिएर आउँछ
त्रास दिनलाई छाउँछ
यो वतास,
कुनै स्वरुप विनाको
कनै आकार बिनाको
स्पष्ट आवाज पनि छैन
चैतन्यलाई पनि देखेको छैन
तर पनि अस्तित्वमा छ
यो त एउटा विज्ञानको सिद्धान्त हो
भूमण्डलीय चक्र
ठाउँ पिच्छेकै भिन्नताहरु
यसरी छिल्लिएर आज वतास आईरहेछ
मनको सन्नाटा
धेरै धरै तर्कनाहरु
राक्षसी रुपमा मलाई गिज्याईरहेछ
मेरो मन यसले मोडिदिन्छ
मलाई यस दुनियाँमा एक्लै एक्लै छोडिदिन्छ
म गम्भीर हुन्छु
बाहिर रुखका हाँगाहरु भाँचिन खोजेका छन्
वस्तीका सुन्दर फूलहरुको समेत छहारी खोजेका छन्
तर उन्मक्त साँढेजस्तो
यो एक तमाससीत छाडा भइरहेछ
बिभिषिकाले चपेटामा पारेर
ती पंक्षीहरु कति रुँदै होलान्
आफ्नो छहारी र बासस्थान अलपत्र हुँदा
प्राणीहरु कति आँशुले मन धुँदै होलान्
प्रकृतिको एउटा अपसकुन,
एउटा अनर्थले बतास चलिरहेछ
प्रकृति भित्रकै म मान्छे
बताससँगै यो मन गलिरहेछ
झरि पनि परेको छ
प्यास मेटाउन घरि घरि पानी पिउँछु
तरै पनि यो म जलिरहेछ
देशमा कोशी बाढीले मनहरु दुखेका छन्र्
दर्दनाक पीडाले बस्तीहरु छट्पटाएका छन्
यही परिवेशमा यो मन आज दुखिरहेथ्यो
मेरो जिजीविषा आज झुकिरहेथ्यो
तिनै आफन्तहरुको आँशुको
तिनै जीवनहरुको गुनासोमा
मैले यी हातहरु बढाउन नसकिरहेको बेला
मेरो ध्यान अनायासै मोडिन्छ
म झस्कन्छु, कोल्टो फेर्छु उपद्रया बतासले मेरो निन्द्रा भंग गर्छ
यसले मेरो नियमित चक्रलाई ऐठन गर्छ
मेरो विचलित मन
र अस्तव्यस्त जीवन देखेर
छिल्लिदै यो बतास दंग पर्छ
सुन्दर बर्खा बहारमा हुर्केका मुजुराहरुलाई लुटेर
आतकंको उसैको दुनियाँमा यसले नयाँ रँग भर्छ ।
त्यसैले यो छाडा बतास अनायासै जन्मिने पीडा रहेछ
मनभित्र उब्जिरहने एउटा चिडचिडा रहेछ
रातभरि यो आफ्नै जीवन छ
यो यसरी युक्तिवान, वीर्यवान भएर बलिरह्यो
एउटा अनिच्छा एउटा त्रास
मेरो मन नचाहेरै गलिरह्यो
यो बर्खाको बेला
भदौरे भरिको झमेला
जीवनहरु गाउँबस्ती भित्र घोटिएका छन्
अनाज फलाउन धर्तीमा
सबै सबै किसानहरु
खेतबारिमा परीक्षा चलेको छ
एकाग्र चित्तले जोतिएका छन्
एकातिर बारी पैह्रोको चपेटा
अर्कातिर अतिवृष्टि, अनावृष्टि अनि हुरी बतास
म सवै सवै सम्झिहाल्छु
आज नौटंकी गर्दै बतास चलेको छ
म लण्डनमा छु
मेरो देशबाट टाढा
पश्चिमी गोलार्धमा
तर मन आठर्राई हाङ्गपाङ्गमै डुलिरहेछ
तर मन ताप्लेजुङ्गमै दुखिरहेछ ।
किन किन यो बतास उग्र रुपमा प्रस्तुत भईदिन्छ
सुस्त सुस्त भएको भए मनै छुन्थ्यो होला
सरर बहेको भए मलहम पट्टी बन्थ्यो होला
तर उल्टो यसले आला घाउहरु बढाउने भयो
खाटा बसेका घाउहरु समेत यसले बल्झाई गयो
नयाँ गोरेटो खोजेर अघि वढ्दै थिए यी पाइलाहरु
यस मध्यरात्रीमा यसले मलाई काँडाघारी तिर अल्झाइरह्यो ।
यो वतास अविछिन्न रुपमा चलेको छ
बताससँग पानी पनि परेको छ
यो हाङ्गपाङ्गको बस्ती
यो बिजुली सहित आकाश गर्जेको समय
यो अत्यासलाग्दो कालो रात
सँगसँगै मुसलधारे बर्षा
बेरिएर, हान्निएर हुरी बतास चलिरहेछ
जसै भरेका किरणहरु पृथ्वीमा पर्छन्
स्थिति साम्य भईसकेको हुन्छ
हामी र हाम्रो परिवार
खेतवारीमा नजर डुलार्इर्र्हेका हुन्थ्यौं
गाई वस्तु अनि बाख्राहरु……..
आशा क्षितिज अनि प्रकृति
यिनै विवरणहरु सँगालेर हामी हाम्रो जिन्दगी जिउँथ्यौ ।
बतासले व्यास नजन्माओस
बतासले वस्तीमा नयाँ दुलही नअन्माओस
बतास भित्र हामी यथार्थलाई स्वागत गरौं
प्रकृति हो,
विध्न बाधाहरु सहन जानुपर्छ
हामी बाँचेको यो धरती अनि डार्विनको सिद्धान्त
प्रकृतिको अकाट्य सिद्धान्तलाई पनि मान्नुपर्छ ।
संझौता, जिन्दगी र फरक प्रकृतिहरु
जीवनलाई यसैविच खोज्नुपर्छ
हुरी वतासबाट जोगिएर
हिउँ अनि बर्षको नृत्य पनि रुझ्नुपर्छ
के यही जीवन हो त ?
घरभित्र आज म यस्तै यस्तै कल्पनामा छु
संझनामा छु
तमोर खोलाको तीरै तीरै मन डुलिरहन्छ
मेवा खोलाको दोभानतिर मन पौडिरहन्छ
ताप्लेजुङ्ग हरियालीमा यो मन झुलिरहन्छ
ठिकै छ, अव बतास सँगै मन पनि डुल्न जान्ने भो
बताससँगै मनले पनि बाँच्न जान्ने भो
आहा
प्रकृति कति सुन्दर छ
जीव, जंगल र चराचर
वताससँगै मनले पनि हाँस्न जान्ने भो ।
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.
Number of Views for this Poem:1521