Gopi Krishna Prasain – Ye Taliban Shasak Haru

गोपी प्रसार्इ – ए तालिवान शासकहरु

ए तालिवान शासकहरु
तिम्रो त्यो रामापिथेकस खप्पर
प्राग ऐतिहासिक चिन्तन
लघुताभासको मन
साँच्चैनै तिमीहरु त ढङ्गेयूगका सिकारी पो रहेछौ !

बुद्धत्वको सभ्यता संसारकै ज्योति
यूगले अमरत्व पाइसकेको यो घडी
आकास गङ्गा हाँसेको छ
धर्तिले नक्षत्रसँग माया गाँसेको छ
यस्तो अप्रतिम दैवत्वको झलक !

तिम्रा ती राक्षसी हातहरु
छि: तिमीलाई जन्माएको घरती पश्चातापले गलेको होला
हजारौं वर्षको अफगानी सभ्यता र यो कालखण्ड
कस्तरी ढलेको होला
मेरो त अनुमान सम्म मात्र हो ।

शान्तिका धिमे मूच्र्छनाहरु मारेर
मानव सभ्यतालाई कैद गर्ने तिम्रो राज्य
संसारले नबुझेको कानून
सारा निष्पट्ट जङ्गलभन्दा पनि एकाकार पो रहेछ
दैवको लीला
बुद्धहरुको भेला
बुद्धहरुको छातीमा संगीन घोच्ने ब्वाँसाहरुलाई किन
त्रिपिटकले स्वीकार्छ
मोटार आक्रमणले प्रताडित
कठै ती जीवन्त मूर्तिहरु
कूख्यात घृणित तिम्रा हातहरुलाई
यो नेपाली मन बारम्बार धिक्कार्छ ।

(अफगानिस्तानको बामियानमा बुद्धका मूर्तिहरु ध्वस्त पार्न तल्लिन तालिवान शासकहरुप्रति शब्द बिरोध गरि लेखिएको )
- वेलायत

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1521

Gopi Krishna Prasain – Samaya Sanga Ko Sambaad

गोपीकृष्ण प्रसाईं – समयसँगको संवाद

यो शून्य समय
मैले छातीभरि सजाएको
मायागरि मुटुभरि अड्याएको
बाहिरका पालुवाहरुसंगै वयली खेल्छ
मलाई म्वाई खाएर झंकृत पार्छ
माया धेरै भएर
छायाँसंगै आए यो धरती संगका अनौंठा नाताहरु
समयसंग यसरी प्रान्जल भएर निक्ले यक्ष प्रश्नहरु
प्रश्नहरुसंगै आँखामा खुशीका खोलाहरु बगेजस्तो लाग्छ
र म एक तरहले समयको भइसकें
तर समय मेरो हुन सकेन
देखिराख्या छु, ंिहडिराख्या छु
घर बाहिर एक हुल चराहरु गाना गाइरहेछन्
प््रााणीहरु समयसँगै उडिरहन्छन्
समयसँगै दौडिइरहन्छन्
जीवनजगत समयको गतिमा चलेको छ
सम्पूर्ण दिनचर्या समयसंगै ढलेको छ
समयले एकदिन आएर मलाई सोध्यो
तँ को होस् ?
के गर्छस् ?
किन दुःखी छस् ?
खुशी हुनु पर्दैन ?
म निरुत्तर भएँ
म सुख खोज्न विदेशिएको छु
म सुख खोज्न परिवर्तित भएको छु
मेरा दुःखहरुसँग आँसु झरेर गीत बन्छन्
मेरा सुखहरु समयको प्रहार खपेर प्रीत बन्छन्
मेरा भावनाहरु जव वायूमण्डल छिचोलेर आकाशगँगातिर उडे
समयले भन्छ यो त कल्पना हो
धरतीमा अविच्छिन्न रुपमा जोतिइरहे पाईतालाहरु
समय भन्छ यो त शारिरीक व्यायाम हो
समय भन्छ,
जीन्दगीको आयाम खोज
जीवनमा परिवर्तनको बाटो रोज
परिवर्तित विश्वलाई हेर
परिवर्तनले दिएका कथा व्यथाहरुलाई हेर
ठूला ठूला युद्दहरुले व्यूँताएको विश्व
सुन्दरता र काम वासनामा लीन हुँदा मानिसहरु गुमाउदैछन् सर्वश्व
स्वार्थीपन र आत्माकेन्द्रित अहँले बढायो वर्चश्व
विपूल आणविक अस्तित्वमा रमाइरहेको दुनियाँ
खोलाहरु आफ्नो जस्तो लाग्दैन
यी बाटाहरुमा आफैंले टेके झैं लाग्दैन
वरपीपलको छाहारीमा बसेर पनि
शितलताको प्यास जाग्दैन
यी आँशुहरु आफै बगेजस्तो गर्दैनन्
यी कर्मन्द्रियहरु आफ्नो धरातलमा डेरा सर्दैनन्
परिवर्तन, परिवर्तन
मान्छे रोवट, मान्छे मेसिन
म विज्ञानमा रुपान्तरण भैसकें
मेरो प्राकृतिकपन औद्योगिकरण भैसक्यो
तिमीले गरेका भ्रुण र क्रोमोजमका कुराहरु
तिनीहरु त उहिल्यैदेखि परदेशी भैसके
एकै ठाउँमा बस्नै मान्दैनन्
आफ्नै थातथलोलाई आफ्नो ठान्दैनन्
वर्णशंकरको यो दुनियाँ
समयले संयन्त्र अनि परिवर्तनसंग नाता जोडेको छ
समयले पैसा र व्यापारमा आफ्नो मुख मोडेको छ
समयले प्रकृतिसंग धेरै नाताहरु तोडेको छ
समयले सत्यलाई धेरै धेरै छोडेको छ
यिनै कुराहरुसंग तिमी साक्षात्कार हुनु है
घामका पाइलाहरु संगै समय सरिरहेथ्यो
समय सँगको सवालमा आज आँखाबाट आँशु झरिरहेथ्यो
म त समयसँग चल्न सक्याथिन क्यार
धेरै टाढा टाढा गयो त्यो समय
गोधूलिमा भक्कानिएर रुन खोजें
मलाई पनि संगसंगै हिडाउन अनुनय विनय गरें
उस्ले मलाई हेरिरह्यो र भन्यो
म कहाँ प्राकृतिकपनमा मात्र अल्झेको छु र ?
म कहाँ आध्यात्मिक पक्षमा मात्र वल्झेको छु र ?
म कहाँ सत्यलाईमात्र अँगाल्छु र ?
म त अर्ध सत्य हुँ
म भित्र इमान्दारिता नखोज
मलाई संपूर्ण सत्य भनेर नरोज
परिवर्तित विश्वमा तिम्रो विलौना देखेर दुख लागेकोछ
परिवर्तन , समय तिमी,
हामी एक अर्कालाई अनुभूत गरिरहेछौं
हामी आफ्नै धरातलबाट कहाँ कहाँ झरिरहेछौं
कहाँ छ आकाशगंगा , कहाँ छ तारापुन्ज
मैले त सबैतिर पुग्नुछ, म समय हुँ
आज किन हामी धरतीको मात्र कुरा गरिरहेछौं
त्यसैले मलाई संधै नखोज्नु, मेरो बाटो संधै नहेर्नु
म संग धेरै आँशु नपोख्नु
किनकी म समय हुँ
धेरै व्यथाहरु पोखेको मलाई मन पर्दैन
तिमीलाई राम्रो सँग थाहा छ म समय हुँ ।

-लण्डन

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1521

Gopi Krishna Prasain – Kina Yesari Batas Chalchha

गोपीकृष्ण प्रसाईं – किन यसरी बतास चल्छ

मनै चसक्क छुने गरि
मुटुनैं दुख्ने गरि
यो बतास चलिरहेछ
प्रकृतिको उपहार नैं होला
शान्त भएर बसुँ भन्छु
शुशेली हान्दै आउँछ हतासमा

कोठाको छेउमा
झोक्का दिएर आउँछ
त्रास दिनलाई छाउँछ
यो वतास,
कुनै स्वरुप विनाको
कनै आकार बिनाको
स्पष्ट आवाज पनि छैन
चैतन्यलाई पनि देखेको छैन
तर पनि अस्तित्वमा छ
यो त एउटा विज्ञानको सिद्धान्त हो
भूमण्डलीय चक्र
ठाउँ पिच्छेकै भिन्नताहरु
यसरी छिल्लिएर आज वतास आईरहेछ
मनको सन्नाटा
धेरै धरै तर्कनाहरु
राक्षसी रुपमा मलाई गिज्याईरहेछ
मेरो मन यसले मोडिदिन्छ
मलाई यस दुनियाँमा एक्लै एक्लै छोडिदिन्छ
म गम्भीर हुन्छु
बाहिर रुखका हाँगाहरु भाँचिन खोजेका छन्
वस्तीका सुन्दर फूलहरुको समेत छहारी खोजेका छन्
तर उन्मक्त साँढेजस्तो
यो एक तमाससीत छाडा भइरहेछ
बिभिषिकाले चपेटामा पारेर
ती पंक्षीहरु कति रुँदै होलान्
आफ्नो छहारी र बासस्थान अलपत्र हुँदा
प्राणीहरु कति आँशुले मन धुँदै होलान्
प्रकृतिको एउटा अपसकुन,
एउटा अनर्थले बतास चलिरहेछ
प्रकृति भित्रकै म मान्छे
बताससँगै यो मन गलिरहेछ
झरि पनि परेको छ
प्यास मेटाउन घरि घरि पानी पिउँछु
तरै पनि यो म जलिरहेछ

देशमा कोशी बाढीले मनहरु दुखेका छन्र्
दर्दनाक पीडाले बस्तीहरु छट्पटाएका छन्
यही परिवेशमा यो मन आज दुखिरहेथ्यो
मेरो जिजीविषा आज झुकिरहेथ्यो
तिनै आफन्तहरुको आँशुको
तिनै जीवनहरुको गुनासोमा
मैले यी हातहरु बढाउन नसकिरहेको बेला
मेरो ध्यान अनायासै मोडिन्छ
म झस्कन्छु, कोल्टो फेर्छु उपद्रया बतासले मेरो निन्द्रा भंग गर्छ
यसले मेरो नियमित चक्रलाई ऐठन गर्छ
मेरो विचलित मन
र अस्तव्यस्त जीवन देखेर
छिल्लिदै यो बतास दंग पर्छ
सुन्दर बर्खा बहारमा हुर्केका मुजुराहरुलाई लुटेर
आतकंको उसैको दुनियाँमा यसले नयाँ रँग भर्छ ।
त्यसैले यो छाडा बतास अनायासै जन्मिने पीडा रहेछ
मनभित्र उब्जिरहने एउटा चिडचिडा रहेछ
रातभरि यो आफ्नै जीवन छ
यो यसरी युक्तिवान, वीर्यवान भएर बलिरह्यो
एउटा अनिच्छा एउटा त्रास
मेरो मन नचाहेरै गलिरह्यो
यो बर्खाको बेला
भदौरे भरिको झमेला
जीवनहरु गाउँबस्ती भित्र घोटिएका छन्
अनाज फलाउन धर्तीमा
सबै सबै किसानहरु
खेतबारिमा परीक्षा चलेको छ
एकाग्र चित्तले जोतिएका छन्
एकातिर बारी पैह्रोको चपेटा
अर्कातिर अतिवृष्टि, अनावृष्टि अनि हुरी बतास
म सवै सवै सम्झिहाल्छु
आज नौटंकी गर्दै बतास चलेको छ
म लण्डनमा छु
मेरो देशबाट टाढा
पश्चिमी गोलार्धमा
तर मन आठर्राई हाङ्गपाङ्गमै डुलिरहेछ
तर मन ताप्लेजुङ्गमै दुखिरहेछ ।

किन किन यो बतास उग्र रुपमा प्रस्तुत भईदिन्छ
सुस्त सुस्त भएको भए मनै छुन्थ्यो होला
सरर बहेको भए मलहम पट्टी बन्थ्यो होला
तर उल्टो यसले आला घाउहरु बढाउने भयो
खाटा बसेका घाउहरु समेत यसले बल्झाई गयो
नयाँ गोरेटो खोजेर अघि वढ्दै थिए यी पाइलाहरु
यस मध्यरात्रीमा यसले मलाई काँडाघारी तिर अल्झाइरह्यो ।

यो वतास अविछिन्न रुपमा चलेको छ
बताससँग पानी पनि परेको छ
यो हाङ्गपाङ्गको बस्ती
यो बिजुली सहित आकाश गर्जेको समय
यो अत्यासलाग्दो कालो रात
सँगसँगै मुसलधारे बर्षा
बेरिएर, हान्निएर हुरी बतास चलिरहेछ
जसै भरेका किरणहरु पृथ्वीमा पर्छन्
स्थिति साम्य भईसकेको हुन्छ
हामी र हाम्रो परिवार
खेतवारीमा नजर डुलार्इर्र्हेका हुन्थ्यौं
गाई वस्तु अनि बाख्राहरु……..
आशा क्षितिज अनि प्रकृति
यिनै विवरणहरु सँगालेर हामी हाम्रो जिन्दगी जिउँथ्यौ ।

बतासले व्यास नजन्माओस
बतासले वस्तीमा नयाँ दुलही नअन्माओस
बतास भित्र हामी यथार्थलाई स्वागत गरौं
प्रकृति हो,
विध्न बाधाहरु सहन जानुपर्छ
हामी बाँचेको यो धरती अनि डार्विनको सिद्धान्त
प्रकृतिको अकाट्य सिद्धान्तलाई पनि मान्नुपर्छ ।
संझौता, जिन्दगी र फरक प्रकृतिहरु
जीवनलाई यसैविच खोज्नुपर्छ
हुरी वतासबाट जोगिएर
हिउँ अनि बर्षको नृत्य पनि रुझ्नुपर्छ
के यही जीवन हो त ?
घरभित्र आज म यस्तै यस्तै कल्पनामा छु
संझनामा छु
तमोर खोलाको तीरै तीरै मन डुलिरहन्छ
मेवा खोलाको दोभानतिर मन पौडिरहन्छ
ताप्लेजुङ्ग हरियालीमा यो मन झुलिरहन्छ
ठिकै छ, अव बतास सँगै मन पनि डुल्न जान्ने भो
बताससँगै मनले पनि बाँच्न जान्ने भो
आहा
प्रकृति कति सुन्दर छ
जीव, जंगल र चराचर
वताससँगै मनले पनि हाँस्न जान्ने भो ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1521