गोपाल झापाली – आज सगरमाथा होचो भएको छ
यो होचो संसारालाई धिक्कार छ,
अनि आफ्नो उचाईको घमण्डले संसारलाई किचेको सरगमाथालाई पनि धिक्कार छ ।
सगरमाथा तँ त आज म भन्दा पनि होचो भएको छस्,
मेरो पैतालमा परेको तँ, तेरा टाउका माथि उभिएको छु म ।
८ हजार ८ सय ४८ मिटरको तेरो उचाई आज होचिएको छ,
तँ माथि उभिएको मेरो उचाई झण्डै तँ भन्दा २ मिटर माथि उचालिएको छ ।
सगरमाथा भएकै कारण केचनालाई आँखा तर्ने धमास मेरा पाईतालामा मुनि पुगेको छ,
किनकी म त्यहि केचनाको छोरो सगरमाथा आरोहि भएको छु,
त्यसैले संसार मात्र होईन सगरमाथासँगै यो प्रकृती धसिएको छ ।
यो उचाई सधैका लागि मेरो हुनेछ,
अर्थात सगरमाथा म भन्दा होचो र म सगरमाथा भन्दा अग्लो भईसकेको छु ।
महलका रेलिङ्मा लेटिएर सडकको रमिता हेरेझै,
म अब सधैं सगरमाथाको टुप्पाबाट संसारको रमिता हेर्ने छु ।
मेरो उचाईका अगाडी यो संसार होचो भई सकेको छ,
खाल्डो अर्थात खाल्डो भित्रको भ्यागुत्ता मेरो उचाईमा कहिल्यै आउने छैन ।
म अव भ्यागुत्ताहरुको संसारमा छैन र भ्यागुत्ताहरु पनि मेरो संसारमा छैनन् ।
होचाहरु सवै मेरा लागि भ्यागुत्ता हुन र म मात्र रुख चढ्न सक्ने सिरिसे सर्प भएको छु ।
किनकी म त्यहि केचनाको छोरो सगरमाथा आरोहि भएको छु,
त्यसैले संसार मात्र होईन सगरमाथासँगै यो प्रकृती धसिएको छ ।
सगरमाथाको टुप्पामा पुग्न साथ संसारलाई यसरि होचो देख्ने,
अनि सगरमाथा भन्दा अग्लो भएको भ्रम पालेर सगरमाथालाई गिज्याउने ,
संसारलाई आफु सवै भन्दा अग्लो भएको सपना बाँढेर दिवालिया हुनेहरुलाई
सादय थाह हुँदैन होला सगरमाथा माथिको उचाई क्षणिक मात्र हो ।
केहि घण्टाको आरोहण पछि आफू पनि त्यहि होचो संसारमा झरेर,
त्यहि होचो संसार जस्तै होचो हुनु पर्छ ।
सायद, त्यस बेला उ अरु जस्तै होचो भएको हुने छ
अनि संसारको सवै भन्दा अग्लो उचाईको पगरि सगरमाथालेनै गुथ्ने छ ।
उसको आरोहणको उचाईमा अर्को कोहि पुगेर यस्तै सपना पाल्न थालेको हुने छ ।
लखनपुर –४ झापा
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.
Number of Views for this Poem:278