डा. विश्वदीप अधिकारी – ढुङ्गामा ठोक्किएको पानी
नर्तकीहरूको नाचमा
कोही छमछम नाच्छन्
कोही यताउति खुर्र दगुर्छन
सङ्गीतले कहिले
दोहोलो पारेर नचाउँछ
कहिले नाच्दा नाच्दै टक्क
अड्याइदिन्छ ।
पाखा पर्वतबाट ओरालो लाग्ने
पानी पनि त्यसैगरी
कहिले खुर्र दौडन्छ त
कहिले टक्क अडिएजस्तो भान पार्छ
कहिले कलकल गर्छ
कहिले सुसेली रहन्छ
कहिले ढुङ्गामा ठोक्किएर फर्कन्छ ।
ढुङ्गामा ठोक्किएको पानीको
तरङ्ग हेर्न लायक हुन्छ
यसले बनाउने
आफ्नो आकार
वास्तवमा वर्णन गरेर बुझिँदैन
त्यो त ढुङ्गामाथि बसेर
आँखैले हेर्नुपर्छ ।
ढुङ्गामा ठोक्किएर
अलिकति पछाडि फर्केर
फेरी अगाडि बढ्ने
पानीको दृष्य
कहिल्यै एकतमासको भएन
किनभने त्यो दृष्यमा
पानी सधै नयाँ हुन्छ ।
ढुङ्गाको अगाडि हान्निएर आउने
हरेक नयाँ पानीले
ढुङ्गामा ठोक्किन पाउँछन्
त्यहि द्वन्द्व
कहिले सौम्य भइदिन्छ
कहिले रौद्र भइदिन्छ
कहिले पानीले
ढुङ्गा ठेलिरहेको हुन्छ
कहिले ढुङ्गाले
पानी फर्काइरहेको हुन्छ ।
नाङ्गो आँखाले
देख्ला नदेख्ला
तर त्यो द्वन्दले पनि
परिणाम त ल्याइरहेछ
त्यो पराजय पनि हो र
त्यो आनन्द पनि हो
किनभने ढुङ्गामा
पानी ठोक्किएपछि मात्र यस्तो हुन्छ ।
नर्तकीहरूको नाचमा
कोही छमछम नाच्छन्
कोही यताउति खुर्र दगुर्छन ।
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.