Dil Sahani – Naya Nepal

दिल साहनी – नयाँ नेपाल

सामन्ती सत्ता विनाकै नेपाल हो नयाँ नेपाल
जन सत्तासितकै नेपाल हो नयाँ नेपाल
प्रतिगमन विनाको नेपाल नै हो नयाँ नेपाल
अग्रगमनसितकै नेपाल हो नयाँ नेपाल
राजाको छोरो राजा हुने नेपाल नयाँ नेपाल होइन
राजाकी छोरी राजा हुने नेपाल पनि नयाँ नेपाल होइन
राजाको बंशनाशपछि
खोजेर राजाकै कुनै उत्तराधिकारी फेरि
पाउमा दाम चढाउने नेपाल पनि नयाँ नेपाल होइन
काजीको छोरो काजी हुने नेपाल पनि नयाँ नेपाल होइन
आमाको गर्भबाट फुत्त निस्किनसाथ बाहिर
कर्नेल र जर्नेले हुने नेपाल पनि नयाँ नेपाल होइन
हली गोठाला कमैया र सुकुम्बासीहरुका छोरा छोरीहरु पनि
राष्ट् प्रमुख हुन सक्ने नेपाल नै हो नयाँ नेपाल हो
राजा र रैतीको साइनो बोकेको नेपाल कुनै नयाँ नेपाल होइन
लोकतन्त्र र गणतन्त्रको परिचय बोकेको नेपाल नै नयाँ नेपाल हो
श्री ५ की जय भन्ने नेपाल नयाँ नेपाल होइन
श्री ५ गंभीर प्रचण्ड प्रतापी भूपतिको नेपाल पनि नयाँ नेपाल होइन
राजा सवैका साजाको नेपाल पनि नयाँ नेपाल होइन
हाम्रो राजा हाम्रो देश
हाम्रो भाषा हाम्रो भेषको नेपाल पनि नयाँ नेपाल होइन
श्रीपेचसितको होइन
श्रीपेचविनाको नेपाल नै नयाँ नेपाल हो
दरबारविनाको नेपाल नै नयाँ नेपाल हो
तरबारविनाको नेपाल नै नयाँ नेपाल हो
विदेशी प्रभहरुको आशीवार्द थापेर चल्ने नेपाल नयाँ नेपाल होइन
विदेशको बजेटमा जोतिने नेपाल नयाँ नेपाल होइन
मजदूर किसानको रगत पसिनाले कोरिने नेपाल नयाँ नेपाल हो
श्रमजीवी जनताको हाड र छालामा कोरिने नेपाल नयाँ नेपाल हो
जंजीरमा जेलिएको नेपाल नयाँ नेपाल होइन
हत्कडीले बा“धिएको नेपाल नयाँ नेपाल होइन
नेल ठोकिएको नेपाल नयाँ नेपाल होइन
माथिको आदेश र हूकुमले चल्ने नेपाल पनि नयाँ नेपाल होइन
जनादेशले चल्ने नेपाल नै नयाँ नेपाल हो
हजारौं हजार शहीदहरुको बलिदानले ब्युँझेको नेपाल नै नया“ नेपाल हो
युगौं युगकदेखिको नर्ककुण्डबाट बाहिर निस्केर
सगरमाथातिर पखेटा चालिरहेको नेपाल नै नयाँ नेपाल हो
मुक्तिको बाटो पहिल्याउ“दै अघि लम्केको नेपाल नै नयाँ नेपाल हो
युगौं युगौंको दासताबाट
पुरै का“चुली फेरिरहेको नेपाल नै नयाँ नेपाल हो
लाहुर जाने नेपाल नयाँ नेपाल होइन
आफै लाहुर बन्ने नेपाल नै नयाँ नेपाल हो ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3672

Dil Sahani – Ghaaite Briefcase

दिल साहनी – घाइते ब्रिफकेश

मल्लयुद्धमा परेको ब्रिफकेश
चक्रव्यूहमा परेको ब्रिफकेश
कुरुक्षेत्रमा परेको ब्रिफकेश
लुछालुछमा परेको ब्रिफकेश
तानातानमा परेको ब्रिफकेश
खोसाखोसमा परेको ब्रिफकेश
हानाहानमा परेको ब्रिफकेश
च्यातिएको ब्रिफकेश
टुक्रा टुक्रा भएको ब्रिफकेश
धुजा धुजा भएको ब्रिफकेश
चार्ल्सप्रथमको जस्तै
टाउको उडेको ब्रिफकेश
लुइस सोह्रौंको जस्तै
टाउको गिंडिएको ब्रिफकेश
मेरो देशको भूगोल जस्तो
चिथोरिएको ब्रिफकेश
मेरो देशको दुरुस्त विगत जस्तो ब्रिफकेश
मेरो देशको दुरुस्त बर्तमान जस्तो ब्रिफकेश
काटीकुटी
मेरो देशको दुरुस्त पहिचान जस्तो ब्रिफकेश
चर्चित ब्रिफकेश
हाम्रो सर्वस्व बनेको ब्रिफकेश
हाम्रो भविष्य बोकेको ब्रिफकेश
शालीन संसद भवनमा
भकुण्डो खेलिएको ब्रिफकेश
ऐतिहासिक ब्रिफकेश
हो, निकै सजाएर राख्नु पर्दछ संग्रहालयमा
निकै जतन गरेर राख्नु पर्दछ संग्रहालयमा
पुजेर राख्नु पर्दछ संग्रहालयमा
प्रदर्शनको लागि राख्नुपर्दछ
अवलोकनको लागि राख्नुपर्दछ
चिन्तन मननको लागि राख्नुपर्दछ
दर्शन दिर्ग्दर्शनको लागि राख्नुपर्दछ
ज्ञान बिज्ञानको लागि राख्नुपर्दछ
अध्ययन अनुसन्धानको लागि राख्नुपर्दछ
यस कारण पनि राख्नुपर्दछ
यसलाई एकपल्ट नजर गरेपछि
कुनै जंगबहादुरले
फेरि
फेरि
आफ्रनै हैसियत बिर्सेरे
आफ्नो भूमिका बिर्सेरे
आफ्नो काम कर्तव्य र अधिकार बिर्सेरे
आफ्नो सीमा र सांध बिर्सेर होक्का गर्दै
श्रीपेच बिनाका महाराजको
लालमोहर ठोकेको
ब्रिफकेश बोकेर
जबरजस्ती प्रस्तुत हुने हिक्मत नगरोस्
दुस्साहस नगरोस्
मेरो देशको संग्रहालयमा
निकै सजाएर राखेको ब्रिफकेश
निकै जतन गरेर राखेको ब्रिफकेश
हिरोसिमा र नागासाकीको पीडा भोगेको ब्रिफकेश
ऐतिहासिक ब्रिफकेश
मसान जस्तै मध्यरातमा
मुलुकको अस्मिता नै खल्बलाउने गरी
सल्बलाउनेहरुको निम्ति मात्र होइन
चोरबाटोमा चल्ने
यो सारा संसारको लागि समेत
एउटा राम्रो नजीर बनोस् ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3672

Dil Sahani – Chakra Bahadur

दिल साहनी – चक्रबहादुर

हाम्रा मित्र राष्ट्रहरुका मित्रहरु
चक्रबहादुरले तपाइंको मुलुकमा आक्रमण गर्दा
हामीले आक्रमण गरेको नठान्नु होला कृपया
चक्रबहादुरले तपाइंको मुलुकमा मान्छे मार्दा
हामीले मारेको नठान्नु होला कृपया
हामी त बुद्धका चेला हौं
हामी त शान्तिका पुजारी हौं
हामी कहिले हतियार उठाउँदैनौ
हामी कहिले युद्धको मैदानमा हाम्फाल्दैनौं
नेपालमा जन्मेर के हुन्छ
चक्रबहादुर नेपाली नागरिक होइन
चक्रबहादुरको नेपालसित
खासै कुनै सरोकार पनि छैन
देशभक्ति के हो- उसलाई के थाहा
राष्ट्रियता के हो – ऊ के बुझोस्
यी कुराको उसलाई बोध हुनु
आवश्यक पनि छैन
चक्रबहादुरको आफ्नो कुनै देश छैन
चक्रबहादुरको आफ्नो कुनै भेष छैन
चक्रबहादुरको कुनै पहिचान छैन
कुनै परिचय छैन
जुन सरकारको सिन्दूर पहिरिन्छ चक्रबहादुर
उसकै निम्ति आफ्नो जीवन होमिदिन्छ चक्रबहादुर
बाँच्छ चक्रबहादुर अरु कै निम्तिर्
मर्छ चक्रबहादुर अरु कै निम्ति
आफ्नै लागि बाँच्न र
आफ्नै लागि मर्न
चक्रबहादुरले कहिले जानेन
शायद कहिले जान्ने पनि छैन
हो नेपाल चक्रबहादुर जन्माउँदै आएको छ
र नेपाल चक्रबहादुर जन्माउँदै जाने छ
विश्वमा जहाँ जहाँ युद्ध हुन्छ
चक्रबहादुर पुग्नु पर्दछ त्यहाँ त्यहाँ
हाजिर हुन
बन्दुक बोक्न
खुकुरी नचाउन
आयो गोर्खालीको संदेश दिन
चक्रबहादुर नपुगी युद्ध हुन्छ कहाँ
चक्रबहादुर नपुगी युद्ध चर्किन्छ कहाँ
चक्रबहादुर नपुगी युद्ध थामिन्छ कहाँ
बर्मा मलायाका जंगलमा पुगेन कि चक्रबहादुर
फ्रान्स इटलीका शहरमा पुगेन कि चक्रबहादुर
फाकलैण्ड श्रीलंका कहाँ पुगेन चक्रबहादुर
हो हर युद्धमा चक्रबहादुर लडिदिनु पर्दछ
हो, हर युद्धमा चक्रबहादुर मरिदिनु पर्दछ
चक्रबहादुर नभई कुनै युद्ध हुँदैन
चक्रबहादुर छ र युद्ध छ
युद्ध छ र चक्रबहादुर छ
चक्रबहादुर बिनाको युद्ध हुँदैन
युद्ध बिनाको चक्रबहादुर हुँदैन
युद्ध नै चक्रबहादुर हो
चक्रबहादुर नै युद्ध हो
चक्रबहादुर जित्छ र
कुनै देशको जीत हुन्छ
चक्रबहादुर हार्छ र
कुनै देशको हार हुन्छ
चक्रबहादुरले नजिती
कुनै देशले युद्ध जितेन
चक्रबहादुरले नहारी
कुनै देशले युद्ध हारेन
मित्रहरु
राइफल र खुकुरी भिरेर
तपाइंको मुलुकतिर बढिरहेको चक्रबहादुर
हाम्रो मित्रताको बाटोमा तगारो नबनोस्
चक्रबहादुरका कारणले
हाम्रो सम्बन्धमा कुनै गाँठो नपरोस्
तपाइंको मुलुकमा
चक्रबहादुरको उपस्थिति बिल्कुलै नखलोस्
तपाइं आफै सोंच्नुहोस्
बेचेको गोरुसित
गोसाहाको साइनोको के अर्थ
तपाइं चाहनुहुन्छ भने
चक्रबहादुर तपाइंको पनि हुन सक्छ
जुन चक्रबहादुर आज
तपाइंको खुँखार शत्रु भएर लडिरहेको छ
त्यही चक्रबहादुर भोलि
तपाइंको सहयोद्धा भएर पनि लड्न सक्छ
तपाइंको कमरेड इन आर्मस भएर पनि लड्न सक्छ
हामीलाई चक्रबहादुर हुनु र नहुनुको
कुनै अर्थ नभए पनि
तपाइंलाई चक्रबहादुर हुनु र नहुनुको
ठूलो अर्थ हुन सक्दछ ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3672