Dibya Giri – Bartaman

दिव्य गिरी – वर्तमान
(Source: मधुपर्क माघ, २०६८)

पुरानो काम नलाग्ने
चौबाटोमा फ्याँकिँदा
टुक्राटुक्रा र छरपष्ट
फुटेको घ्याम्पोजस्तै विभत्स
यो वर्तमान !
टपरीभरि खरानीको कालो डल्लो
छरवालीको मुठो र काँचो हाँडी
रातो खुर्सानी र लसुनको पोटी
चिउराको भुस र आधा बलेका धूप-बत्तीहरू
चौबाटोमा मन्छिएकोे देखेर
भूत लाग्ला भनी
मान्छेहरू थु…थु… थुकेर हिँड्छन्
मान्छेहरू छेउ लागेर हिँड्छन्
हो दुरूस्त त्यस्तै
भूताहा चौबाटो भएको छ
यो वर्तमान !
न कसैको अधीनमा बसेको छ
न त कसैको आदेशमा चलेको छ
गुजुल्टिएको धागोको डल्लोझैँ
न छेउ भेटिन्छ
न त सँगाल्नै सकिन्छ
आफू भित्रभित्रै आफै अल्झिएको
अशान्ति, अन्याय, अभाव
र अन्यौलको भूमरीमा रूमल्लिएको
जर्जर अनि वर्वर
यो वर्तमान !
हत्या, हिंसा र आतङ्कको ओदानमाथि
महत्त्वाकाङ्क्षाको हाँडी बसाली
विपनाको आगो बालेर
बन्दुकका कप्टेराहरूले
मान्छेका सपनाहरू भुटिरहेछ
मानवताको खिल्लि उडाउँदै
आतङ्क ! आतङ्क !! आतङ्क !!!
मात्र आतङ्कको उपहार दिइरहेछ
यो वर्तमान !

टीकाथली-५, ललितपुर

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1980

Dibya Giri – Raksi Ra Mayalu Ko Maat Ustai Ustai (Nepali Gajal)

दिव्य गिरी – रक्सी र मायालुको मात उस्तैउस्तै
(मधुपर्क २०६६ जेठ)

रक्सी र मायालुको मात उस्तैउस्तै
मायालु र रक्सीको जात उस्तैउस्तै ।

आँखाभरि आँसु अनि छातीभरि चोट
दुखाई र वेदनाको खात उस्तैउस्तै ।

आˆनै घर आँगनमा युद्ध चर्केपछि
कालो दिन र अँधेरी रात उस्तैउस्तै ।

हाँगाहाँगाबाट भुईंमा जब खस्न थाल्छ
झरेको फूल र पहेँलो पात उस्तैउस्तै ।

कसको कुरा बनावटी कसको कुरा साँचो
बाइफाले र कुटुनीको बात उस्तैउस्तै ।

-टीकाथली-५, ललितपुर

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1980

Dibya Giri – Ma Arthat Hami

अर्थात
हामी
यतिबेला तपाईं सामु
यौटा निवेदन सहित उपस्थित छौं
सरकार!

अर्थात
हामी
तपाईंजस्तै यो देशका नागरिक
तपाईंकोजस्तो यो हाम्रो पनि जन्मभूमि
तपाईंलाई जस्तै प्यारो छ
स्वाधिनता
स्वतन्त्रता
र, सार्वभौमिकता
अनि सबभन्दा ठूलो कुरा

अर्थात
हामी
सबैलाई ज्यान प्यारो छ
तर यतिबेला
तपाईं शासकभन्दा बढी शोसक बन्नु भयो
तपाईं रक्षकभन्दा बढी भक्षक हुनु भयो
नाहकमा

अर्थात
हामी
अपहरित छौं
कुटिएका छौं
मारिएका छौं
न न्याय छ
न त कानुन छ
जताततै दण्डहीनता छ
अराजकता
अव्यवस्था
र अन्यौल मात्र छ हाम्रो वरिपरि।
हूलतन्त्र छ जहीं पनि
भीडतन्त्र छ कहीं पनि
र मनपरितन्त्र छ
त्यसैले बिन्ति छ
सरकार!
हाम्रो रक्षा गरिदिनुस्
ह्ाम्रो सुरक्षा गरिदिनुस्
हाम्रो याचना सुनिसकेपछि
सरकारले भन्यो–
नागरिक!
तिमीले भनेका सबै कुरा सत्य हुन्
तिमीले मागेका सबै कुरा जायज हुन्
तर यति हुँदाहुँदै पनि
म आँखा भएर पनि अन्धो छु
म कान भएर पनि बहिरो छु
म होस भएर पनि बेहोसी छु
किनकि

शक्ति हु,
सत्ता हुँ
र सरकार हुँ
मेरो ध्यान मेरो सत्ता टिकाउनमै व्यस्त हुन्छ
मेरो ख्याल मेरो कुर्सी बचाउनमै व्यस्त हुन्छ
यस्ता सानातिना गुनासो सुन्ने मलाई फुर्सद कहाँ?
यस्ता सानातिना घटना हेर्ने मलाई चासो कहाँ?