Bimal Nibha – Hatyatantra

यो हत्या
एक्कासि भएको होइन
सबभन्दा पहिले
चिन्तन–मनन गरियो
एक हुल वेतनभोगी विचारकहरु
आआफ्नो आसनमा
कापालिक मुद्रामा समाधिस्थ भए
केही समयपश्चात्
उच्च डिग्रीधारी विशेषज्ञहरुद्वारा
सन्तुलित योजनाको रेखाङ्कन भयो
के गर्ने
र कसरी गर्ने
स्वदेशी र विदेशी सुपरम्यानहरु
गोप्य परामर्शको प्याकेट बोकेर
हतारहतार
काठमाडौंबाट न्यूयोर्क
न्यूयोर्कबाट नई दिल्ली
र नई दिल्लीबाट काठमाडौं उड्न थाले
यसबीच नेपथ्यमा आकर्षक शब्द
शिष्ट वाक्य
र जिम्मेदार भाषाको
भीषण आदान–प्रदान भयो
क्रमशः सभा, सेमिनार र गोष्ठी चले
न्याय, अधिकार र जनकल्याणको
उच्चारण गरियो
बहिराहरुले समेत सुन्नेगरी
क्यासेट टेपमा भरियो
र खुल्ला बजारमा वितरण गरियो
दिनरात कसैलाई फुर्सद भएन
भेटघाट, वार्ता र सम्झौता
सम्पन्न गरियो विधिपूर्वक
रहस्यमय सङ्केतहरु साटासाट भए
आयोगहरु बने
टेलिफोनका घण्टीहरु बजे
मोटरका पाङ्ग्राहरु गुड्न थाले
अभूतपूर्व दृश्य उपस्थित भयो
हेर्दाहेर्दै यत्र, तत्र, सर्वत्र
पर्चा, पोस्टर, पत्र प्रकाशनले
तीव्र गति समात्यो
केन्द्रीय भाट, विदूषक र चारणहरु
विभिन्न स्थलहरुमा खटिए
नारा, वक्तव्य र भाषणको
लहरमाथि लहर उठ्न थाले
भव्य जुलुस प्रदर्शन भयो
समयको नाजुकपनालाई ध्यानमा राखेर
अनुभवी ००७ हरु
आज्ञाकारी ब्ल्याकबेल्टहरु
र तालिमप्राप्त बुलडगहरु
तैनाथ गरिए चारै दिशामा
पूर्व, पश्चिम, उत्तर, दक्षिण
र सबैभन्दा आखिरीमा
हतियारको चयन गरियो
पुराना मोडलका बन्दुकहरु
रद्द गरिए एकमतले
यसको विकल्पमा
आयातित राइफलको प्रयोग गर्ने
साझा सहमति भयो
सबैले ठूलो सन्तोषको सास फेरे
कुनै बाधा–व्यवधान रहेन
यस प्रकार सम्पूर्ण तयारी भइसकेपछि
साहूकार, सुन्दरी र सेवकसहित
अर्थात् सदलबल
सद्भावना–यात्रामा निस्के
लोकतन्त्रका लोकप्रिय नायक
त्यसपछि गोली चल्यो
ड्याम–ड्याम
र हत्या भयो
जस्तो कि देखिने गरिन्छ
त्यति सरल छैन
हत्या गर्नु
(२०५०)

Related Poems

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1599

Bimal Nibha – Gulabiya

म तिम्रा बाख्रालाई खुवाउँछु
नरम–नरम घाँस
म तिम्रा आँखाबाट हटाउँछु
गम्छाले आँसु
म तिम्रा लागि मेलाबाट ल्याउँछु
रातो रंगको चुनरी
म तिम्रा बाटाका काँडाहरु पन्छाउँछु
विस्तारै खुर्पीले
म तिम्रो सुगालाई दिन्छु
हरियो–हरियो खुर्सानी
म तिम्रा बाबालाई ल्याउँछु
बजारबाट दमको औषधि
म तिम्रो कुवाबाट निकाल्छु
गर्मीमा शीतल जल
म तिम्रो आँगनको देउतालाई चढाउँछु
बेलपत्र र गेंदाको पूmल
म तिम्रो चुलोका लागि बन्छु
दनदनी बल्ने गुइँठा
म तिम्रा लागि टिप्छु गाछीबाट
पाकेको मालदह आँप
म तिम्रा सुन्दर नयनका लागि ल्याउँछु
परको सहरबाट सुरमा
म तिम्रो हँसुलीलाई छुटाउँछु
दुष्ट साहूकारकहाँबाट
म तिम्रो लागि जे पनि गर्छु
कसम खान्छु म
ओ मेरी चन्द्रमाझैं प्यारी–प्यारी गुलबिया !
म तिम्रो जोबनलाई सम्झन्छु आफ्नो जीवन
(२०५१)

Related Poems

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1599

Bimal Nibha – Khur Ko Taap

उद्दण्ड घाँसहरुले
घेरिएको छ
खेत
तर माटामा भएका
बालुवाका कणहरु
चम्किरहेका छन्
घाम तरल भएर
पग्लिरहेछ
पसिनासँगै
हलोमा जति फलाम छ
सबै प्रचण्ड गर्मीले
तातिएका छन्
हावा टक्क अडेको छ
गोरुको
तीखो
सिङमा
एकछिन सुस्ताउन बसेको
श्वास–प्रश्वाससँग
बात मार्न
उत्सुक छन्
धरतीभित्रका
उष्ण बीज
तिमीलाई के थाहा
ग्रामीण धुलोलाई थाहा छ
थकानले चूर भएर
फर्किरहेका पशुहरुका
खुरको ताप
(२०४६)