Bhupin Byakul – Shabdakosh

भूपिन ब्याकुल – शब्दकोश

मृत्युले कला भरेको तुइनमा अल्झिएर
कर्णाली पारि पुगेपछि
सबैभन्दा गरिब महसुस गर्छ – शब्दकोशले

कर्णालीमा शब्दकोश
केहि पानाहरु खाली छोडेर
प्रकाशित कुनै वैरागी किताबजस्तो लाग्छ
जहाँ नछुट्नुपर्ने धेरै कुराहरुसंगै
छुटेको छ कर्णालीको नाम
अथवा कर्णाली
त्यही वियोगीकविजस्तो लाग्छ
जसले आफ्नै आँखाअगाडी
कविताले आत्महत्या गरेको देखेको छ
अथवा त्यो समयजस्तो लाग्छ
जसले देशलाई अश्लील गालि गरिरहेछ !

यो शब्दकोश
जसमा अर्थको चमक हराएका शब्दहरुमात्र छन्
यो शब्दकोश
जहाँ प्राण उडेका खालीखाली पृष्ठहरु छन्
कसरी थाह पाउँछ
कि कर्णाली
कति ज्यालामा भोकभोकै कालापहाडमा भारि बोक्छ ?
कसरी ज्यान दाउमा राखेर
विलासीहरुको लागि यार्सागुम्बा टिप्छ ?
कति लामो लाइन लाग्छ खाद्य डिपोमा
सात किलो चामल वा एक पोका नुनका लागि ?

कसरी दशैं मनाउँछ
रित्तारित्ता मदुसहरुबाट हावा झिकेर ?
यो शब्दकोश
जहौँ अर्थको टलक हटाएर शब्दहरुमात्र छन् !

निश्चित छ
शब्दकोशको कुटिल सम्पादक
उसलाई कर्णालीको गीत सुनेर कुनै खतरा छैन
अझैसम्म लागिरहेकै छ उसलाई
कर्णाली एउटा असफल गायक हो मुक्तियुद्धको
र उसको सफलता
केवल करुण रसका उदास गीतहरु गाउनुमा सीमित छ !

कर्णाली
के तिमी चाहन्नौ
कि तिमीले गाइरहेको दुक्खको गीत
पृथ्वीले सुन्ने अन्तिम शोक्गीत बनोस्
र अब त्यस्तो शब्दकोश लेखियोस
जहाँ तिमीले
जीवनका किनाराहरुमा
भोकका लहरहरु लेख्नुनपरोस
अभावका लहरहरु लेख्नुनपरोस

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2716

Bhupin Byakul – Samaya-Naasiya

भुपिन ब्याकुल – समय-नासिया

आधी जून मन पराउने अहुनार सम्झिन्छु
कर्कलाको पातबाट चिप्लिएको पानीको थोपाजस्तै
पुरै रात चिप्लिएर जान्छ
र नयाँ बिहान
गहिरो निद्राबाट ब्युँझन्छ
मा बिर्सन्छु समय !

पढिरहेको हुन्छु कुनै किताब
जीवनलाई छोएर बगेको, कुनै नदीजस्तो
या सुनिरहेको हुन्छु कुनै सङ्गीत
बलेंसीमा तप्किरहेको पानीको मिठो आवाजजस्तो
या आँफै संग लाज लागेर
अब कहिल्यै दुख्दिनँ भन्ने झुटा कसम खाइरेहेको हुन्छु
मलाई ख्याल हुदैन समयको …. !

गुम्बामा पर्खिबस्छु
कहिल्यै बत्ति बाल्न नआउने उसलाई
कसैले बालेर गएका बत्तिहरु निभ्छन्
कसैले अर्को बत्ति जलाएर जान्छ
गीत सकिएपछि
क्रमशः बिलाउँदै गएको सङ्गीतको धूनझैं
मेरो आफ्नै धून निभ्दै जान्छ मभित्र

आह !
सालिकझैं टक्क अडिएर समय
मेरो जीवनको चोकमा उभिन्छ

गुम्बामा बत्तिहरु जलिरहन्छन्
गुम्बामा बत्तिहरु निभिरहन्छन्
अँह कदापि जलाउन चाहन्नँ म
निभेको बत्तिजस्तो समय !

यो कस्तो चरम आनन्द ?
आफ्नै जीवनको साँघुरो आँगनमा
सहिद भएको समयको लास हेरिरहेको छु
मानौं मलाई जीवनभरी
समय-नासिया भएको छ
र मानौं मैले
समयलाई चिन्न अस्वीकार गरिदिएको छु
जसरि प्रत्येक जुनेली रातहरुमा
जूनले मलाई चिन्न अस्वीकार गर्छ !

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2716

Bhupin Byakul – Gaun Ko Saano Bhai

भूपिन ब्याकुल – गाउँको सानो भाइ

गाउँको बात मार्दै हिंडीरहंदा
बाटोमै मसँग
कापी र कलम माग्यो सानो भाइले !

मैले कसरी बुझाउने होला उसलाई
म उसलाई उसकै गाउँको कवितामात्र दिनसक्छु

कापी, कलम र पुस्तक दिने दायित्व
राज्यको हो, बिचरा उसलाई थाह छैन
र राज्य
कि त झगडा गरिरहेको छ
कि त मस्त निदाइरहेको छ !

मैले कसरी बुझाउने होला उसलाई
म उसलाई उसकै गाउँको गीतमात्र दिनसक्छु !

सम्भवत: थमाउला एकदिन राज्यले
उसका हातमा कापी, कलम र पुस्तकहरु
जब उसका हातहरुमा
बुढ्यौलीक कम्पनहरुमात्र बाँकी रहनेछन्

मैले कसरी बुझाउने होला उसलाई
म उसलाई उसकै देशको कथामात्र दिनसक्छु !