भरत बागलुङे – दाशका सपना
हिजो
जहाँ थियो
आज पनि
उहिं छ
हिजो
जस्तो थियो
आज पनि
उस्तै छ
मालिकको हुकुम विना
पृथ्वी घुम्न सक्दैन
या हावाले डुल्न सक्दैन
दाशले आज पनि
बोकेकै छ
एक जोडा स्थूल आँखामा
हिजो कै जस्ता बासी सपना !
कति हिमालहरु
पग्ले र बगे
घामको तापमा
तर दाश
पग्लेको छैन
कति जब्बर पहाडहरुले
घुँडा टेके र नुहे
खहरे खोला भनिएका
युग सचेत प्रवाहमा
तर दाश
नुहेको छैन
साँझको उल्लु जसरी
ध्यानमग्न मूद्रा धारण गरेर
मालिकको सामुन्ने
दाशले
स्वामी भक्तिको भाव प्रदर्शन गरिरहेको छ ।
जीवनका हार्दभावहरु
र सुनाखरी जस्ता सपनाहरु
लिलामीमा बाँकी के छ र अब ?
न संवेदना जीवित छ
न गरिमा बाँचेको छ
जल कुम्भी जस्तो भएको छ
एउटा थोत्रो जीवन
कहिले यता
र कहिले उता
बस् ! आदेशमा चल्नु छ
आदेशमा जिउनु छ
तिमी मान
या नमान
तिमी स्वीकार
या अस्वीकार गर
जीवनको परम् सत्य यहि भएको छ
म दाशलाई
वार–वार प्रश्न गरिरहन्छु
मेरो प्रिय मान्छे
तिमी किन आपैmलाई विश्वास गर्न असमर्थ छौ ?
फेरी पनि उ
मलाई अविश्वासले भरिएका
एकजोडा स्थूल आँखाले लखेटिरहन्छ ।
नारायणस्थान, बागलुङ
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.