बलदेव भट्टराई – वीर्यदान गर्न सक्दिन म
बिहानी मनोरम छटाको भूमिमा
पहेंलिदै गरेका रवि किरणहरु
पहेंलो समुद्रमा डुबुल्की मार्दा
उत्तरबाट ध्वंसको ध्वाँस र रगतको गन्ध बोकेर
क्षेप्यास्त्र गोता लगाउँछ
त्यहीं कतै युद्धभेदी लडाकु जहाजहरु
शान्तिका प्रवर्तकहरुको इशारामा
प्रतिरक्षाको अभ्यास गर्दैछन्
अबुझ म
चिसिएको शसंकित मन लिएर
सन्नाटा बाँच्छु
आँखीभौँ सल्बलाउँछन् !
हिमाली मनोरम छटाको भूमिमा
बिहानी भालेको डाक नहुँदैं
दूलो पसेका भ्यागुताहरु
ट्वार-ट्वार गर्दै कोकोहोलो गर्छन्
वर्षाको संकेत
खडेरीको मौसममा मेघको महत्व, कठै !
लाचार भएका कोदालाहरु
आकाश नियाल्छन्
जात-प्रजातका भ्यागुताहरुको जोहो गर्छन्
चलेको चलन
ईन्द्र खुशी पार्न, धुमधाम
बिहे गरिन्छ भ्यागुताको
चारै दिशाका पण्डितहरुको मन्त्रोच्चारणमा
खोइ, थोपा खस्दैन आकाशबाट
शीतलताले छुँदैन कतै !
मनमा, तनमा पसिना खल्खली
उफ !
मुस्काउँदै गरेको त्यो बालक
वनकुसुम !
मेरी प्रिय अर्धागिंनीको अंगालोमा खेलाउने रहर
त्यो अधैर्यता
माफ गर प्रिय !यसपाली पनि
वीर्यदान गर्न सक्दिन म
मेरो मनभरि,
आशंका,भ्रम,भय,आक्रोश र जलनको आगो छ
जुन मेरा सन्तानले बोक्न नपरोस
विज्ञान भन्छ, वंषानुगत गुण ।
जहाँ जे भए नि
आऊ, यो साँझ सब बिर्सेंर
समागम गरौं
अलिकति मनको नैरास्यता भगाऔं
प्राकृतिक-अप्राकृतिक
गर्भनिरोधको उपाय कायम राखौं ।
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.