Bairagi Kainla – Aunla Haru Chumera

बैरागी काईंला – औंलाहरू चुमेर

औंलाहरू चुमेर औँलाभरि सलाम
मेरो हजुरलाई आँखाभरि सलाम,
के बिराएँ ? नजरले चुमेँ
ती फूल जो ओठमा फुले
के बिराएँ ? हत्केलामा थापेँ
ती केश जो लाजमा झुके
मानेँ, कि मेरो हजुरलाई
बाटोभरि साह्रै गरी लाज लाग्यो रे,

औँलाहरू चुमेर औँलाभरि सलाम
मेरो हजुरलाई आँखाभरि सलाम,

के बिराएँ ? सपनामा आएँ
सपना र विपना पगालेँ
के बिराएँ ? फूलमा गालेँ
सीमाना र साँध नै पगालेँ
मानेँ कि मेरो हजुरलाई सपनामा
रातभरि नीद लागेन रे ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:4373

Bairagi Kainla – Parbat

वैरागी काइँला – पर्वत

घरभित्र पनि सिरान ताला उक्लिँदा
डाँडा-डाँडा अग्लो डिल भरेङको प्रायजसो म उक्लिन्छु
आजकाल सपनामा सधैं म पर्वत चढिरहेको हुन्छु !

जो झुक्दैनन् जति डाँडाहरू, पहाडहरू
टेक्दै झुकाउँछु खुट्टाले प्रत्येक पाइलाको सँघारमाथि
मेरो सडकमाथि !

उफ ! भाँच्चिएर लडिदिन्छन्
हिमालयका ढाडहरू….
आहाल-आहाल रात छादेर मेरो सडकमाथि ।

आकाशका भित्ता-भित्ता ठाकिँदै बजारिन्छ
प्रतिध्वनिको वज्र-
दौडदै गरेको रेलको छप्परमाथि मूल सडकमाथि !
ऐनाको चोइटाले थापेका रगतका टुक्राभित्र
डिब्बा-डिब्बा किच्चिएका
जिन्दगीका क्षणहरू…
भाँच्चिएको रेलको लिकमाथि
दनदनाउँदो आगोको मुस्लोभित्रबाट
म बटुल्छु, म बोक्दछु…
गोजीभित्र अनि काँधमाथि !

धेरै नानीहरूलाई स्कुलसम्म पुर्याएर
धेरै छोराहरूलाई सीमान्तको मोर्चासम्म पुर्याएर
धेरै बाबुहरूलाई अड्डादेखि घरसम्म फर्काएर
अब त थाकिसकेका बाटाहरू
अब त दुर्घटनामा टुक्रिएका सडकहरू
हो, यी सब सडकहरू
मैले मेरो काँधमाथि बोकेको छु
मेरो कुम्भकर्णको काँधमाथि जिन्दगीको लास बोकेको छु !

मेरो काँधमाथिबाट
मेरो प्रेमको घनत्व र आस्थाको उत्तापले
पाकेको जिन्दगीको लास
चोइटा-चोइटा किरणहरूमा चोइटिइएर खस्दछ
मेरो प्रत्येक पाइलाभित्र : मेरो सडकमाथि !

आँखा खस्दछ : यौटा रात सकिन्छ
अर्को आँखा खस्दछ : फेरी अर्को रात सकिन्छ
पैताला खस्दछ : एक खुट्टा बाटो भरिन्छ
पन्जा खस्दछ : पृथ्वीदेखि आकाशसम्म पुल टाँगिन्छ
दुई हात अँगालो खस्दछ :
असीमित आयतनमा धरतीमाथि
अनि इतिकासमा फेरि यौटा अर्को फाटक उघ्रिन्छ !

फाटकको निधारभरि
मानिसको जानकारीका निम्ति
धुपीका सिन्के पातहरूका माझ-माझ
हाँगाको आँख्ला-आँख्लाका आँखाहरूका अक्षरमा
समयले दौडी आएर लेखिदिन्छ : सूचनाका केही पङ्क्तिहरू

स्वागत छ- पर्वतारोहीलाई,
कलिला-कलिला पैतलालाई,
प्रत्येक जिन्दगीलाई !

अब प्रत्येक मान्छेले सुरु गरुन्
आ-आफ्नो यात्रा फेरि यहाँबाट,
यस फाटकबाट !

सूर्यलाई भरीकन
तेस्रो आँखाको ठूलो घुम्ने बल्बभित्र
उत्तानो समुन्द्रलाई दुवै हातमा टेकिदिएर
उभ्भिएको फाटकको टाङमुनिबाट
सार्क र ह्वेलको मत्स्य-आक्रमणबाट
तारतारी समुद्रिक डाँकूहरूको लुटपिटबाट
धनमाल र बचाएर जहाजलाई
अनि औंलामा उचालेर गोवर्द्धन
आफै पनि यस फाटकबाट
आजकाल सपनामा सधैं म पर्वत चढिरहेको हुनछु !

अजकाल सपनामा सधैं
म पर्वत चढिरहेको हुन्छु !

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:4373

Bairagi Kainla – Mateko Manchheko Bhashan: Madhyarat Pachhiko Sadak Sita

बैरागी काईंला – मातेको मान्छेको भाषण: मध्यरातपछिको सडकसित

आधारातपछि
रक्सी दोकानबाट म के निस्किएको छु :
प्रत्येक खोंगी र खोरभित्रबाट
पखेटा फट्फटाउँदै विद्रोहको
कुखुराका भाले बासेर मेरो स्वागत गर्दछन्,
यहाँको बातावरणको निम्ति
यहाँको निर्जीवताको निम्ति
यहाँको व्यवस्थाको निम्ति
मेरो रक्सीको गन्धले भिजेको निश्वास पनि
आज, ठुलो आँधीसरह भइसकेको छ
सडकका दुवैतिर लाम लागेका यी आलिशान भवनहरू
आफ्नो जगसहित आफ्नो कमजोरि माटोमुनि गाडिदिनु
अब, अब, अब लड्नलाई तयार छ,

आज मेरो प्रत्येक पाइलामा यौटा-यौटा भूकम्प छ
आज मेरो प्रत्येक अनुभवमा यौटा-यौटा ज्वालामुखी पड्कन तैयार छ
कसरी बसेछु यो उमेरसम्म
यौटा पाइलासम्म पनि नअटाउने
ढल्न लागेका यी साँगुरा घरहरूमा ?
मलाई दुःख लाग्छ :
अझै सुत्छन् गनाउलाझै गुजुल्टिएर
आत्म-पराजित मानिसहरू
धरतीको अस्वस्थ्यकर घरहरूमा,
अनि यति अबेरसम्म ?
आज मेरो विशाल्ता पृथ्वीमाथि अटाउदैन
यो सडकभरिको देशमाथि सास थुन्छ
अनि मैले सडकभरि आँदाखाँद गरेर हिड्दा
मानिस भन्छन्- यो मातेको छ ।,
छेउ लागेर बाँयापट्ट हिंड्नु पर्छ
हो हामीले छेउ लागेर हिंडनु पर्छ
धेरैले सडकमाथि अटाएर हिंड्नु पर्छ,

गगनचुम्बी भवन र धरहराका
सिरान-सिरानका कोठाभित्र
रात-रातभरि बल्दछन्…….नीलो-नीलो गुलुप :
लाटकोकोसेराका आाखाहरू,
यहाँ रातभरि लाटकोसेराले आँखा देख्दछन,
यहाँ रातभरि लाटकोसेराले कसकसको बाटो ढुक्छ ?
टाउकोभरि अफिसको कागजपत्रका अक्षर,
छातिभरि अफिसको दिवाल घडीका काँटाहरू
फेरिनै आटेका पूर्जाजस्ता जिन्दगी
काँधमाथि टाउको लतारेर यो सडकमाथि हिंडदछन्,
यिनलाई घिसारेर हिंडदछन्
अनुहार नभएका मानिस, अँध्यारोका खुट्टाले टेकेर
रात-रातभरि यो सडकमाथि !
फलतः आजकाल सडक घटेको छ,

कसले चोर्दछ सडकका छेउकुनाहरू ?
किन घट्दछन यो सडक प्रत्येक रातको आगमनसित ?
यो सडकलाई उधारेर फेरि ठुलो पार …………
जब म भन्छु, छेउको मुर्ख पुलिस
मलाई पक्रन तयार छ किनकी म मातेको छु !
अनि रक्सीले छात्ति भरेपछि
मलाई पनि लाग्छ कि मभित्र यत्ति विशालता आइसक्यो,
कि यो सडकको संकीर्णतामा अब अब नअटाउने भइसकेको छु !
इन्जिनियरले सुनुन्
नेता, प्रध्यापक र कविहरूले सुनुन्
इतिहासको प्रत्येक आन्दोलनले सुनुन्
यसर्थ, पोष्ट अफिसको पेटीबाट
म वक्तव्य प्रसारित गर्दछु :
ए सडक हो !
यौटा मानिस तिमीमाथि हिंडदै छ,
म अटाइना तिम्रो फैलावटमा
थसर्थ, म हुकुम गर्दछु …..
अझै तिमीहरू-फट्टिदेऊ, च्यात्तिदेऊ, फैलिदेऊ……
तिम्रो फैलावटको सीमामाथि अतिक्रमण गर्ने
प्रतिक्षण इतिहास बनिरहेका क्षणसित
यी ठूलठूला बिल्डिङका पेटीहरू
मात्र कोतपर्वका विजेताका
मात्र शासन गर्ने परिवारका
प्रशस्ति र वंशावली लेखिएका इतिहासका इतिहास नाङ्गा पन्ना जस्ता
यी पेटीहरूलाई
मुटुदेखि मस्तिष्कसम्म चिरिने गरेर
तिमीले च्यात्तिदेऊ……..फाट्टिदेउ……
कोलम्बसको पैतालाले
यस सडकमाथि टेक्न पाउनु पर्छ ।
यौटा विद्रोहले यहाँ शिर उचालेर हिंड्न पाउनु पर्छ,

यसर्थ, म हुकुम गर्दछु :
ए सडक हो !
अझै च्यात्तिदेऊ…….अझै फाट्टिऊ….
जति खाडल बन्दछ त्यत्ति नै
रक्सीको तरलताले भिजाएर
म, मेरो सद्भावनाले रसाइदिन्छु
म मेरो विशाल्ताले ढाकिदिन्छु
नत्र ता म यहाँ अटाउनै सकिनँ,
नत्र ता बिहान नौ बजे स्कूलको बखत
सानो बालकलाई
उसको आमा र मैले कसरी स्कूल पुर्‍याउनु यहाँबाट
जहाँ अटाउदैन यौटा खुट्टाको पनि पैतालाको फैलावट !
सयौ बूटले प्रतिक्षण किच्चिएर
मोटरका चक्काले प्रतिक्षण पिल्सिएर
लम्पसार र उत्तानो परिसकेका ए जिन्दागी हो !
निष्क्रियताको हुस्सुले थुनिएर
साइनबोर्डका खम्बाले सीमित
घुम्तिघुम्तिले टुक्राटुक्रा खण्डित
चक्रवर्तीको चोइटिएका पराक्रमको सहस्र चोइटा……
ए सडक हो !
अश्वमेध यज्ञका घोडा खेदेर विश्वविजयमा बढेका
सगरका ए शापित सहस्रदश पुत्र हो !
आकाशबाट बोतलको स्वर्गङ्गाको जल
भगीरथको आस्थाले छर्किहेछु तिमीमाथि,
तिम्रो निधारमाथि, आँखामाथि, छात्तिमाथि !
यो जो बगाइरहेछु बोतलका बोतल….
रक्सी सडकमाथि,
थोपाथोपा पिएर
उठ, उठ बौरिएर ए मेरा पिताहरू हो !
ए सगरका शापित सहस्रदश पुत्र हो !
अनि एस पल्ट हिमालजत्रो मुठीले
क्षितिजका गहबाट कचेराको कुइरो पुछेर
मसित हेरिदेऊ…….प्रथमपल्ट :
आँखाले भ्याउञ्जेलसम्म
हामी हाम्रो चारैतिर
विजयका निम्ति युद्धभूमी र
जिन्दगीका निम्ति उज्यालै उज्यालोमात्र देख्दछौं !

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:4373