अतुल पोखरेल – मानव सभ्यता
मेरो गाउँको
ग्रभेलको त्यो चौबाटोमा
बिजुलीको खाम्बामुनि
जम्मा थिए एकहुल मृतात्मा
आकाशतिर औल्याईरहेका
केही नयाँ आयाम पैल्याईरहेका
एक थरी भन्दै थिए -
सूर्य हो यो !
अनि अर्काथरी -
चन्द्रमा !!
तिनको दृष्टिभ्रमबाट चकित
आफ्नो आवाज भिंडमा चिच्याउदै थकित
एउटा अनपढ स्वर्गीय रिक्शावाला
भन्दै थियो -
ए साथी हो !
के तिम्रो टाउको माथि हुने जे जति
सूर्य चन्द्र मात्र सब थोक हो ?
त्यही पुरानो जोक दोहोर्याउने
यो कस्तो नयाँ जोक हो ?
आँखा मिचेर फेरी हेर त -
यो बिजुलीको बल्ब होइन ?
तर,
सिद्धान्तको कस्साइले गलित आत्माहरु
मुर्खताको कस्सिलो मुठ्ठी उज्याउदै
भनिरहे -
यो सूर्य हो !
जीवनभर नैतिकशिक्षा बोलेर बाँचेकाहरु
बंगाराहरुले स्वार्थ र लालचको किट्-किट् रगट्तै
कराईरहे -
यो चन्द्रमा हो !!
रिक्शावाला फेरी करायो -
ए साथी हो,
जीवनभर तिमीहरुले झूठ बोल्यौ
जीवनभर मैले पनि झूठलाई नै अघि बढाउनु पर्यो
बुढी औंला काटेर गुरु दक्षिणा माग्दाको
भावनाको त्यो ब्ल्याकमेललाई
एकलब्यको गुरुप्रेम भनी पढ्नु – पढाउनु पर्यो
तर आजको यो ढुंगे सडकको बत्ती मुनि
हामी मृतात्मा
त्यो जिउदो हुँदाको घमण्डले फुलेको
जीवित मानिसले भुलेको
यो मूर्तरूप अकाट्य सत्य बोल्न
किन अस्वीकार गरीरहेछौँ ?
त्यसैले,
म त जीवनभर डराएर बोलेको असत्य बिर्सेर
आज सत्य बोल्दै छु -
यो बिजुलीको बल्ब हो l
त्यो रिक्शावालाको छेउमा
कुनै झण्डाले सिंगै निधार बेरेको
आक्रोसका चाउरीहरुले अनुहार घेरेको
एउटा अर्को मृतात्माले
उसलाई कुमले बेस्मारी धकेल्दै
चिच्याएर करायो -
धेर बोल्छस ध्वाँसे ,
सुकिलाहरुको दर्शनशास्त्र
तँ जस्ताले बुझ्दैन
जीवनभरको गुमेको तेरो ज्ञान
मरेपछि पनि मगजमा घुस्तैन
हामी मृतात्माले त
त्यो जिउदो हुँदाको शिक्षाले आर्जन गरेको
धर्म र दर्शनशास्त्रहरुले उपार्जन गरेको
यो मूर्तरूप गरिमामय पाखण्डलाई
कदाचित किन भुल्ने चेस्टा गर्ने ?
त्यसैले
तैले पनि जीवनभर डराएर बोलेको असत्यलाई निरन्तरता दिंदै
आज असत्य नै बोल् र भन् -
यो सूर्य हो !
छेउको अर्को मृतात्मा झन् चिच्यायो -
हैन हैन, यो चन्द्रमा हो l
बिजुलीको त्यो खम्बामुनि
अदृश्य त्यो मृतात्माको हुलमाथि
जीवित मान्छेको आवतजावत पनि थियो l
चुपचाप चुपचाप,
कोही आफ्ना सिद्धान्त गम्दै
रिक्शामा बसिरहेका,
कोही आफ्ना बिश्वास छाम्दै
रिक्शा तानिरहेका l
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.