तिमी हराउनु र मैले खोज्नुमा
कस्तो तारतम्यता मिलेछ ?
तिमी युग छेकेर
हाँसेकी रहेछौ ।
मैले परिवेश कन्याँए
तिमी उफ्रियौ कुतकुतिएर ।
कस्तो पुलकित नयनहरू ?
अनि
स्खलित भए भावना गंगाहरू
तिमी भेटिएको अर्थ खोज्नँ ,
तिमी हुनुको फरकपन नियाल्नँ ।
शायद जंजीरको पर्दा च्यातियो
त्यतिखेर हावाले,
ध्वारर्र………
अनि
मैले देखें
तिम्रो लाजहरू,
इतिहास खाएका ध्वजा-पताकाहरू
यसरी नै हल्लिरहेछन् हारेर
मौनतामा
अतृप्त प्यास बोकेर
स्वयंभुको गुम्बाहरूमा,
मस्जिष्दको बलेंसीहरूमा,
मन्दिरको ढोका अघिल्तिर ।
मानौ,
फुट्नँ पाए ‘च्छो रोल्पा’ ताल भएर फुट्नेछन्
अनि बगाउँनेछन् लाजका किरणहरू
प्यासै प्यासले पखालेर
सानो लक्ष्मणरेखामा
चेपिएर
बाँचेका
पुर्ख्यौली मानव नासोहरू ।
उफ ! यो बादलको टुक्रा टुक्रा
हिमालको उचाइ छोएर
तिम्रो मायाको गहिराइ नाप्नँ खोज्छ
बिना संकोच
शायद
तिमी स्विकृतीमा हारेकी छौ ,
यसबेला
मेरै लागी भनेर
त्यसैले त
एक मुठी स्वासलाइ फुरूरूरू
नदिको विभाजन
धारहरूमा बहाइरहेछौ ।
मध्यरातले बैंस सुसेल्दैछ ,
खेतका गह्रा, झुपडी अनि चोटाहरूमा ।
सन्नाटाले जन्माएको
अर्को भाले मयुर
पोथीमयुरको भाका उरेल्छ
खैजँडी झैं बज्ने मनभित्रका सितारहरू,
ट्युनिङ नगरिएको
गिटार र हारमोनियम जस्तै
बेसुरा बजिरहेछ,
तर पनि
मधुहोस् छ वातावरण ।
अभिसिप्त मनहरू
अभिलाशको चारो खोज्न
जंगली बँदेलका हुल जस्तै
बग्रेल्ती निस्कँन्छन्
बिल्कुलै जंगली भएर ।
मनको खोर भत्काएर
स्वतन्त्रतामा बिलिन हुन चाहन्छन्
तर
छेउछाउ जासुस गर्छ
हावाका साँधहरू
अनि भर्छ
भरूवा बन्दुक
र
तेर्साउँछ निशाना
प्रेमालिङगनमा समर्पित
तिमी र म जस्ता
जोडीहरूलाइ ।
प्रेम सिध्दान्त
पल्टाउँदा
शहिद ?
उफ !
असोचनिय
किन जाग्दैन मान्छे ?
प्रेम,
पापानुभूतिको बिस्कुँन होइन भनेर
अनि
किन खोस्दैनँ बन्दुक ?
र
सिकाउँदैन
उपहारमा
मुस्कान र मात्र एक बचन
मिठो हेरिदेउ भनेर ।
सधै हारेको खेलाडी जस्तो
कसैले बेस्कनँ चुटेर
थाँङथिलो बनाएको शरीर जस्तो,
हिडींरहेछ यो सभ्यता
नाँङलोमा दुइ चार वटा बिक्री हुँन बाँकी रहेका
लाइटर र चुरोटको बट्टा बोकी
रत्नपार्कको
सब वे हरूमा लुरूलुरू ।
मानौ
धरहरा उभिएर घण्टाघर सितको
प्रेमाकर्षण दृष्यहरूको चाँङमा
रानीपोखरी नापिरहेछ
सुन्धाराबाट टुलुटुलु प्रत्येक रात ।
तपेश्वरी १, उदयपुर, हालः इजरायल
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.