अशेष मल्ल – फर्काइदेऊ मेरो मनको एक जोडी परेवा
आज कतै गएर
एउटा चर्को आवाजले चिच्याउँ लागिरहेछ
मनका सबै लगाम फुकाएर
आज कतै दौडूँ लागिरहेछ
मन सधैँ पानी भएर बग्यो
उठेर कहिले-काहीँ त आगो भएर पनि बल्न पर्थ्यो
निर्मम चट्टानसँगको साउती र सम्झौतामा
चुपचाप बग्दोछ यो मन
कुनै मृत्यु-दण्डको सजाय पाए जस्तो
किन चोरेर लग्यौ एकाएक
मेरो मनको एक जोडी परेवा
पर्काइदेऊ
उडून् माथि कतै आकाशको गहिराइमा
चाहान्छन् यदि भने
आकाशदेखि पनि पर कतै अनन्तको आकाशमा
आज यो मनलाई लामो थकान मेट्न
कुनै चौतारीको ढुँगा चाहिएको छ
एक जोडी बर-पीपलको छाँया
र निर्मल, सुकिलो, चिसो बतास चाहिएको छ
कंकाल जस्तै यो मन
गहिराइ छामेर तल ओर्ले जस्तो
मध्यरात मन पनि मीठो निद्रा निदाउन नसकेर
छटपट-छटपट
यो मेरो मनको तलाउमा
एकाएक आज तरङ्ग उठिरहेछ
एक झरी निद्रा फर्काइदेऊ
एक जोडी परेवा फर्काइदेऊ मनको
किन चोर्यौ सुटुक्क यो मनको अज्ञात देशबाट
उड्न देऊ चुपचाप गहिराइमा
आकाशदेखि पर कतै अर्को आकाशमा ।
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.