Aryabiman Chitrakar – Manai Ta Ho

आर्यबिमान चित्रकार – मनै त हो

मनै त हो के बुझोस् यसले
तिम्रा ऐतित्युदका बाघचालहरु
मनै त हो, सहेरै बसिदिन्छन्
तिम्रा करकापहरु
के बुझोस् यसले
तिम्रा स्वार्थका ब्यालेन्ससीतहरु
गाएरै बसिदिन्छन्
आफ्ना यूलोजीका गीतहरु

मनै त हो के बुझोस् यसले
तिम्रा षड्यन्त्रका भुइचालोहरु
मनै त हो नबोलेरै कुर्छन्
आफ्नो पालोहरु
के बुझोस् यसले
तिम्रा सिम्प्याथीका अद्जस्तमेंटहरु
सहजै बनिदिन्छन् साउने भेलका
रेंटल टेन्टहरु

मनै त हो के बुझोस् यसले
तिम्रा डाइमेन्सनका परिधिहरु
मनै त हो बाधेरै राख्छन्
आफ्ना बचाऊ बिधिहरु
के बुझोस् यसले
तिम्रा रंगमंचका नाटकहरु
स्वीकार्य ठान्छन् पार्श्वध्वनिका
कथित बादकहरु

मनै त हो के बुझोस् यसले
तिम्रा पाराडाइम सिफ्टहरु
मनै त हो हाँसेरै थाप्छन्
अनवान्टेड गिफ्टहरु
के बुझोस् यसले
तिम्रा कटुवचनका धारहरु
रेत्त्तिऐरै बस्छन् बरु
गर्दैन् छेकबार अरु

मनै त हो के बुझोस् यसले
तिम्रा दोषका निराधारहरु
मनै त हो कम्प्रोमाइज गर्छन्
धैर्यका आधारहरु
के बुझोस् यसले
तिम्रा मृगतृष्णाका प्रकारहरु
अझै फराकिलो पार्छन्
आफ्नै आकारहरु

मनै त हो केहि बुझ्दैन यसले
मनै त हो केहि जान्दैन यसले
मनै त हो!!
मनै त हो !!!!

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:624

Saru Binda – Aghoshit

सरु विन्द – अघोषित
(मधुपर्क बैशाख, २०६७)

अब उप्रान्त
तिमी र मबीचको पर्खाल ढल्नेछ
पहाडहरू फुट्नेछन्
जेलहरू तोडिनेछन्
आकाश खस्नेछ र
हामी दुवैलाई ढाक्नेछ ।
न बन्देज रहनेछ सिन्दूरको ।
न भरोसा रहनेछ चुराको
फजुल कुराहरू नगर
वकवासहरू बन्द गर
म युद्ध निम्त्याउँछु प्रणयको !
प्रेम हो यही यो-
सिन्दूर र चुराहरको बार नलगाउ
जायज र नाजायजको प्रश्न नउठाउ
प्रणय हो यही यो -
मेरा दृष्टिबाट ओझेल नपर
जायज र नाजायज छुट्याउन
म तिम्रा निम्ति संविधान लेख्छु
हो, अघोषित संविधान !
जहाँ सूर्य अस्ताउँछ एकछिन, उदाउनका लागि ।
जहाँ ढोकाहरू बन्द हुन्छन् लुटेराहरूका लागि ।
पैले जन्माउन नसकेको
वीर छोराहरू छन् तिम्रो गर्भभित्र !
गर्भहरू तुहिन सक्छन्
हे सूर्य ! त्यतिञ्जेल नउठाऊ
हे आकाश ! मेरो प्रणयलाई ढाक
पि्रय, म तिम्रो गर्भबाट
अर्को सूर्य जन्माउँछु ।
भो चाहिँदैन-
रगतले लतपतिएको सूर्य !
अँध्यारोबाट पराजित सूर्य !
लुटेराहरूले कैद गरेको सूर्य !
भो चाहिँदैन
युगयुग समयसँग हारेको सूर्य ।
तिम्रो सगरमाथाले हमेसा छेक्ने सूर्य !
यसैले अघोषित जस्तै छ तिम्रो गर्भभित्र
पृथ्वीलाई पुरुषार्थ दिने मेरो सूर्य !
मेरो पृथ्वीलाई कायरहरूले चुरा पहिर्या ए
मेरो पृथ्वीलाई लुटेराहरूले सिन्दूर लगाए
मेरो पृथ्वीलाई नपुङ्शकहरूले युगयुग भोगे
ए सूर्य ! तिमी अस्ताऊ-
म अब
पृथ्वीसँग अघोषित सम्झौता गर्छु ।
हो, अब उप्रान्त पृथ्वीका गर्भबाट जन्मनेछ-
मेरो ब्रहृमाण्डको अर्को जीवित सूर्य !

पोखरा

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:624

Bhupin Byakul – Ma Nadi Bagna Chahanchhu

भूपिन ब्याकुल – म नदी बग्न चाहन्छु

म चाहन्न
कि एउटा तलाउ बनुँ जिवनभरी
म चाहन्नँ
कि आदिन लेउ पालेर
पोखरी बनेर जमिरहूँ जीवनभरी
प्रदुषित बनुँ
दुर्गन्धित बनुँ
निश्चित सीमाभित्र जमिरहूँ
निश्चित आयतनभित्र रामिरहूँ

म चाहन्न
कि गतिहीन कुवा बनूँ
कुवाभित्रको स्थीर पानी बनूँ
उचालिऊँ घामका अदृश्य हातहरुबाट
बास्फिकृत होऊँ
र जीवन समाप्त गरूँ

म नदी बन्न चाहन्छु
र दिनहुँ जीवनका किनाराहरु फेरिरहन चाहन्छु
मा नदी बग्न चाहन्छु
र दिनहुँ जीवनका स्वरुपहरु बदलिरहन चाहन्छु
हिसो जहाँ थिएँ
र जहाँ छु आज
यहींबाट नूतन यात्रारम्भ चाहन्छु

जीवनभरि यात्रा चाहन्छु
यात्राभरी जीवन चाहन्छु
मलाई स्वीकार्य छैनन्
यी निश्चित बाँच्ने परम्पराहरु
बरु निश्चित नै सही
म नदी बन्न चाहन्छु
म नदी बग्न चाहन्छु !