Nira Sharma – Ama Haru Ho Buddha Janmau

आमाहरु हो जाग अब
आँशु बगाउन छोडेर आऊ
थाकिसकेका कोख रसाउंदै
फेरि एउटा बुद्ध जन्माउ
बम र बारुदको धुंवा भित्र
तिम्रै सन्तानहरु निसास्सिएका छन्
हिंसा, कोलाहल र चित्कार भित्र
कलिला मनहरु तर्सिएका छन्
वातावरण कहालिएको छ
हराएको छ घामको न्यानो अनि
छेकिएको छ जुनको उज्यालो पनि
खोसिएको छ शीतलता
मौलाएको छ उच्छृंखलता
पानी बग्ने खोलाहरुमा
रगत बग्न थालेको यो परिवेश भित्र
तिमी कसरी मौन छौ आमा ?
वन, पाखा र भन्ज्यांगहरुमा
बन्दुकहरुको बिस्कुन लागेको छ
माया खेल्ने आँखाहरुमा
रगतको आँशु बगेको छ
त्यसैले आमा,
आफ्नो गर्भमा शान्ति मगाऊ
फेरि एउटा बुद्ध जन्माऊ ।

पैंचो माग्नु परेको छ आफ्नोपन
वर, पर छिमेकहरुमा
शिला खोज्नु परेको छ आफ्नै मन
विध्वंश पछिका भग्नावशेषहरुमा
देबता भनेर पुजेका ढुंगाहरु
आफ्नै टाउकोमा बर्सिएका बेला
माकुराको चाल हुने भए
बरु कोखमा आगो लगाऊ
मार, काटको बाटो नहिड्ने
थुप्रै मनहरु जन्माऊ
सक्छौ भने आमाहरु हो
रावण होइन, राम जन्माऊ
हराएको शान्ति खोज्न
फेरि एउटा बुद्ध जन्माऊ
नेपालीहरुको आँशु पुछ्न
उही गौतम बुद्ध जन्माऊ ।

काठमाण्डौ, हाल: अमेरिका

Number of Views for this Poem:4000
Tagged , , , , , , , , , , , , , , , , . Bookmark the permalink.
Add Comment Register



Leave a Reply