प्रकाश धमला – समय, शहीद अनि सन्तान
धेरै वर्ष अघि
टाटनामा भेडा बाख्रा कराउँदै गर्दा
तबेलामा घोडी बछेड़ी हिन्हिनाउँदै गर्दा
म माथिल्लो छिमेकीकोमा रातो तारा माग्दै थिएँ
पर क्षितिजमा परिवर्तन चियाउँदै गर्दा
मेरा सन्तान हन्बेर्नोझैँ परजीवीको हातबाट
शोषणको तेल पुस्न विवश थिएँ
भूमिसंग सुहागरात मनाउन
चट्टानहरु ब्यस्त थिए
बिचारी मेरी जननी रुँदै, कराउँदै, हिकहिकाउँदै
बलात्कार स्वीकार्न बाध्य थिइन्
त्यतिखेर
समय निश्चित परिधिभित्र कैद थियो
जञ्जिरमा, यातनामा, बलात्कारमा, गोला-बारुदमा
लठ्ठीमुंग्रीमा |
बीस वर्ष अघिसम्म मेरी भूमि
आँधी-तुफान जन्माउँछु भन्थिन्
सौर्य बीरबहादुर जन्माउँछु भन्थिन्
आस्थावान हर्कबहादुर जन्माउछु भन्थिन्
एकताको प्रतिमूर्ति दिलबहादुर जन्माउँछु भन्थिन्
ऐतिहासिक बहादुर जन्माउँछु भन्थिन्
जसले तराई, पहाड, हिमालमा
पुरिएका आफ्ना सन्तानहरु खोज्न सकुन्
तर समयको कोल्टे फेराइसंगै
पाषणहरुको घुमाउरो जालमा परेर
मेरी भूमिले हजारौं भ्रुण हत्या गर्नु प-यो
कहिले चिरांगको डम्फु गएर
कहिले उत्तरी चेमगांग गएर
कहिले मध्य-साम्ची गएर
कहिले दक्षिण गेलेफुग गएर |
अहिले
मेरी जननीको तस्विर बोकेर
मेरा भावी सन्तान संसारभर छरिएका छन्
अतीतको असह्य घाउ बोकेर
सुन्दर भविष्य सुरक्षार्थ निरन्तर हिँडिरहेछन्
“तिम्रो” ग्रोस नेसनल हेपिनेसको लालचा नगरी
तिम्रो कुकुर हाँस्ने सडक
तर मान्छे रुने घरहरुको स्थिति बोध गराउन
अनवरत प्रयास गरिरहेछन
यो समय परिधि बाहिर स्वतन्त्र छ
सत्यमा , आदर्शमा , भ्रातृत्वमा,एकतामा
सायद् तिमीले आतंककारी कल्पना गरेका
मेरा पुर्खा शहीद भएर अमर थिए
अमर छन्
अनि अमर रहने छन्
समयको ऐतिहासिक पृष्ठभूमिमा |
- Adelaide Australia
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.