अतुल पोखरेल – सर्वश्रेष्ठ बोक्सी
बुढीखोलाको किनारमा
बुढो पीपलको फेदमा
पुर्णिमाको आधा रातमा
जम्काभेट भयो -
दुइ बोक्सीको
एउटीले हाँस्तै भनी -
ए बोक्सी तँ मलाई चिन्छेस ?
म खुशी बोक्सी हुँ
मेरो ऐश्वर्यको राशी अपार छ,
मेरो भाग्यमा
मान्छेको छातीमाथि कुदने कारै कार छ l
मेरो बुद्धिको सदा प्रतिफल छ,
मान्छेको आँसुको सर्बत मलाई प्रतिपल छ l
मेरो कालो विद्याको दयारा त झनै बिशाल छ,
अकूत हाइड्रोपावरको इकोनोमिक्समा
लोडशेडिङ्-टेक्नोलोजी मिशाल छ l
मेरो मान-प्रतिष्ठा उच्च छ,
जसको अगाडि
हर घरको ज्वाईं तुच्छ छ l
स्वास्थ्य मेरो फलाम छ,
गोहीको जस्तो बज्र मेरो मुटुलाई
हर डाक्टरको सलाम छ l
रुप मेरो बेदाग छ,
भित्तिको जस्तो मेरो छालाको इन्ची इन्चिमा
रातो खोर्सनीको राग छ l
मेरो यौवन को के कुनै सीमा छ ?
के मेरो अगाडि कुनै सज्जन को धड्कन धीमा छ ?
सुनिस बोक्सी,
म खुशी बोक्सी हुँ,
त्यसैले म खास बोक्सी हुँ l l
बग्दो पानीको चन्द्रप्रकाशमा
अनुहारभरि पिपलपातको हरियो घोली
हतास अनुहारबाट विषाद आवाज निकाल्दै
अर्की बोक्सीले अब मुख खोली -
ए बोक्सी, तैंले त झन् मलाई चिनेकै छैनस् l
म त दुखी बोक्सी हुँ l
मेरो धन दौलत त झन् असीम छ,
तर धामीले झार्ला कि भनेर
मेरो निधार असीन-पसीन छ l
मेरो बुद्धिले मलाई भरपुर आसुँ, रगत र पसीना दिलाएको छ,
तर मान्छेले कुनै दिन रोक्ला कि भनेर
मेरो कन्पारो चिलाएको छ l
मेरो विद्या पनि कम कालो छैन,
तर मलाई थाहा छ -
मान्छेको बुद्धिमा पनि सँधै जालो छैन l
मेरो मान-प्रतिष्ठा त झन् दुर्योधन कै जस्तै भैगयो,
तर महाभारतमा ऊ पनि खस्तै गईगयो l
तेरो स्वास्थ्यलाई मात्र कहाँ डाक्टरको सलाम छ ?
तर के गर्नु -
अन्त्यमा यो शरीर पछिपछि एक लस्कर मलाम छ l
मेरो रुप अहिले गोमनको आँखा जस्तो चम्केको छ,
तर उमेर चाहीँ बुढी बघिनी हुनतिर सदा लम्केको छ l
मेरो यौवनको नाचगानमा त झन् कहाँ लगाम छ ?
तर रसिक पुरुषको महाफिलमा
थोते बोक्सीको कुनै काम छ ?
सुनिस ए बोक्सी?
बोक्सिका प्रमुख लक्षण मध्ये
म मा त्यो छ जे तँ मा छैन l
म मा चिन्ता छ जुन गुण कम हैन l l
मलाई डर छ आउने प्रत्येक पलको,
जसले मेरो अनुहारको चमकमा
चिन्ताको सुन्दर गाढा हरियो रंग थप्छ
र मान्छे, मेरो ज्याद्रो आहारा, को मनमा
अझ अझ चिन्ता थप्छ l
सुन् बोक्सी -
पीडित, थकित निर्धो मान्छेको रगतमा त्यो स्वाद छ
जुन खुशी मान्छेमा छैन l
सुन् ए बोक्सी-
मान्छेलाई सदा अझ दुख दिन चिन्ताग्रस्त
म त दुखी बोक्सी हुँ l
त्यसैले म
तँ भन्दा श्रेष्ठ बोक्सी हुँ l l
त्यो पुर्णिमाको आधारातमा
पिपलको टुप्पातिरको हाँगामा
अर्की एउटी बोक्सी
चुपचाप सुटुक्क सुन्दै थिई बोक्सीवार्ता l
उसले मनमनै भनी -
ए बोक्सी हो,
तिमीहरु दुवै खास बोक्सी होइनौ
किनकि तिमीहरुले आ-आफ्नो बारेमा
ईमान्दारीसाथ भन्यौ -
जे तिमीहरु हौ l
असली बोक्सी त म हुँ-
जसमा भरपुर बेईमानी छ
बोक्सी विद्याको पुरै कोइलाखानी छ l
म जे छु, त्यो भन्दिन l
म जे भन्छु त्यो गर्दिन l l
ईमान्दारी भन्दा बेईमानीको फल बेजोड छ,
त्यसैले -
मेरो आस्वासन-मन्त्रको मतपेटिकामा
दुनियाको भोट हाल्ने होड छ l
बुढीखोलामा जूनको टहक हेर्दै
बुढी बोक्सी रुखको टुप्पामा मुसुक्क मुस्कुराई,
र मनमनै उदघोष गरी -
म सर्वश्रेष्ठ बोक्सी हुँ l l
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.