राधेश्याम लेकाली – चन्द्रग्रहणको क्षण बाँसुरी बजाइरहेँछु
(मधुपर्क माघ, २०६७)
कस-कसको चालले हो
स्थिति अराजक बनेको छ
भयैभयमा बाँच्नु पर्ने
चन्द्रग्रहणको यो क्षण
भयमुक्त हुन
म बाँसुरी बजाइरहेँछु ।
त्रिवेणी मुठभेडको स्थितिले
देश जलिरहेछ
एकातिर रगत पोखिएको छ
अर्कोतिर हुकुम तामेलीमा
भीड जम्मा भएको छ
यही क्षण सत्ता घोडा चढेर
शक्ति प्रदर्शन गरिरहेछ
अवाक् चन्द्रग्रहणको यो क्षण
भययुक्त हुन
म बाँसुरी बजाइरहेँछु ।
तासमा तुरूपझैं अचुक ठानेर
ल्याउनेले अध्यादेश ल्याइरहेछ
यही अध्यादेश सडकमा जलिरहेछ
अर्कोले दुबैलाई गलत ठहराएर
आफ्नो आदेश फर्मान गरिरहेछ
देश जनताको हुनुपर्ने हो
विडम्बना
जनताको होइन जस्तो भएको छ
चन्द्रग्रहणको यो क्षण
भययुक्त हुन
म बाँसुरी बजाइरहेँछु ।
आपसमा लडेर
देशसँग गद्दारी गरिएको छ
लडाउनेको चाल थाहा पाएर पनि
किन लेण्डुपको बाटो रोजिदैछ
एकपटक सोचौँ
देश नरहे हाम्रो अस्तित्वले
पाइला राख्ने धरातल कहाँ रहन्छ ।
बाँसुरी बज्छ कतिन्जेल
बाँसुरी बज्न छोडेको क्षण
भयानक हुनेछ
जनताले हटाई छाड्नेछन् ग्रहण
देशले शान्तिको सास फेर्ने छ ।
विडम्बना !
चन्द्रग्रहणको यो क्षण
भययुक्त हुन
म बाँसुरी बजाइरहेँछु ।
- काठमाडौं
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.