Jhamak Ghimire – Desh Ma Ra Akanksha

झमक घिमिरे – देश, म र आकाङ्क्षा

देश ! तिम्रो गर्भासयसँग विद्रोह गरेर
मलाई आफ्नै आकृति कोर्न मन छ
जुन आकृतिबाट कुनै सयममा
एउटा जीवनचक्र मेरो पनि थियो भन्ने
यही धरतीलाई थाहा होस्
प्रकृति र समयको जीवनवृत्तमा
मेरो पनि अस्तित्व थियो भन्ने थाहा होस्
मन सल्किएको बेला
मलाई सहीद हुन मन छ
मानवता खोसिएको भूमिबाट
एउटा अर्को बुद्ध जन्माउन मन लागेको छ
जो मेरो युगको प्रतीक बनेर उभियोस्
मृत्युपर्यन्त अलग परिभाषा बोकेर उभियोस्
देश ! तिमीलाई बलात्कार गरेर
एउटा परिवर्तनको युग जन्माउन मन छ
त्यो युगमा एउटा उत्साहको घाम लागोस्
जून पनि त्यो विशाल आकाशमा
आफ्नै स्वच्छन्दता बोकेर हाँसोस्
थुप्रै मनहरू रोएको बेला
मलाई अलग रुवाई रुन मन छ
जुन रुवाईपछि एउटा मीठो आभास होस्
जुन रुवाई मलाई तिम्रै काखमा बसेर रुन मन छ
जो मानवताको स्वरहरू लिएर
साख्ये तिम्रो कानमा गुञ्जियोस्
देश ! कोख प्रसव वेदनाले थलिएको बेला
तिम्रो आँखाबाट त्यसको बाढी उर्लिएको बेला
मलाई एउटा सत्य कुरो खोल्न मन छ
थुप्रै असत्यबाट एउटा सत्य ओकल्न मन छ
तिम्रो कोख अझै उजाड बनेको छैन
तिम्रो मातृत्वमा कुनै खोट छैन
तिम्रो कोखबाट सपुत मात्र होइन
कपूतहरू पनि जन्मिरहेछन्
जसले तिम्रो मातृत्वको अपमान गरिरहेछन्
तिम्रो ममतामाथि कुठाराघात गरिरहेछन्
तिम्रै गर्भमा बसेर
तिम्रै विरुद्ध धावा बोलिरहेछन्
यतिबेला मलाई प्रश्न गर्न मन लाग्छ
तिम्रो सन्तान कुन हो ?
के मेरो आँखाले परिवर्तनको सपना देख्नु पाप हो ?
मनले सुन्दर आगतको कल्पना गर्नु अपराध हो ?
ए, आमा ! तिम्रा ओंठहरू किन मौन ?
तिम्रो मन किन स्तब्ध ?
हो, आमा तिमीलाई यो प्रश्न छ
यो गल्ती हो भने फुटाईदेऊ मेरो आँखा
यो पाप हो भने तोडिदेऊ कल्पना
देश ! तिम्रो आत्मा मृत युगसँगै पोलिएको बेला
म समयको कसम खाएर भन्छु,
तिम्रो कोखबाट एउटा नयाँ बुद्ध जन्मिनुपर्छ
देश ! तिम्रो करणी गरेर
मलाई नवयुग जन्माउन मन लागेको छ ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3806
Tagged , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.



Leave a Reply